विदेशी विद्यार्थीलाई प्रभावित पार्ने गरी क्यानडाका प्रधानमन्त्रीको महत्वपूर्ण घोषणा

विदेशी विद्यार्थीलाई प्रभावित पार्ने गरी क्यानडाका प्रधानमन्त्रीको महत्वपूर्ण घोषणा

काठमाडौं : क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले त्यहाँ पढ्न जाने विद्यार्थीहरू प्रत्यक्ष प्रभावित हुने एउटा महत्त्वपूर्ण घोषणा गरेका छन्।

एक्समा एक पोस्ट गर्दै प्रधानमन्त्री ट्रुडोले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई दिइने अनुमति अर्को वर्षसम्ममा अझै घटाउने घोषणा गरेका हुन्।

उनले पोस्टमा लेखेका छन्, ‘हामीले यसै वर्षदेखि अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई ३५ प्रतिशत कम अनुमति दिइरहेका छौँ। अर्को वर्ष यो थप १० प्रतिशतले घटाइनेछ।’

क्यानडाका प्रधानमन्त्रीले प्रवासीहरूका कारण देशको अर्थतन्त्रलाई फाइदा भए पनि केही खराब व्यक्तिहरूले प्रणालीलाई नै दुरुपयोग गर्न खोजेकाले कारबाही गरिएको बताए।

हरेक वर्ष ठूलो संख्यामा भारत, नेपाल लगायत दक्षिण एसियाली देशबाट विद्यार्थीहरू अध्ययनका लागि क्यानडा जान्छन्। यस्तो अवस्थामा क्यानडा सरकारको यो निर्णयले ती विद्यार्थीका लागि थप समस्या खडा गर्न सक्ने देखिएको छ।

हरेक वर्ष हजारौं नेपाली विद्यार्थी अध्ययन अनुमति लिएर क्यानडा जाने गरेका छन्। क्यानडा सरकारको आधिकारिक तथ्यांक अनुसार सन् २०२२ को तुलनामा २०२३ मा सक्रिय विद्यार्थी भिसाको संख्या करिब २९ प्रतिशतले बढेर १० लाख ४० हजार पुगेको छ।

अन्तर्राष्ट्रिय विद्यार्थीहरूले औसत क्यानाडाली विद्यार्थीभन्दा तीन गुणा बढी शुल्क तिर्नुपर्छ। क्यानाडा सरकारको २०२२ को प्रतिवेदन अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूले यहाँको अर्थतन्त्रमा २२ अर्ब क्यानेडियन डलर योगदान गरेका छन्। यस बाहेक करिब २.२ लाख नयाँ रोजगारी सृजना भएको छ।

असोज २, २०८१ बिहीबार ११:०५:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।