दुई सय हात्ती मारेर मासु बाँड्न जिम्बाब्वे सरकारको अनुमति

दुई सय हात्ती मारेर मासु बाँड्न जिम्बाब्वे सरकारको अनुमति

एजेन्सी : जिम्बावेको सरकारले भोकमरी विरुद्ध लड्न हात्ती मार्ने आदेश दिएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार जिम्बाब्वेका ४ जिल्लामा २०० हात्ती मारेर तिनको मासु विभिन्न समुदायमा बाँडिनेछ। जिम्बाब्वे पार्क र वन्यजन्तु प्राधिकरणले पनि यसको पुष्टि गरेको छ।

पछिल्लो चार दशकमा सबैभन्दा ठूलो खडेरीको सामना गरिरहेको जिम्बाब्वेको झण्डै आधा जनसङ्ख्या खाद्य संकटको सामना गरिरहेको छ। खडेरीका कारण देशको सम्पूर्ण बाली नष्ट भएको छ।

यस्तो अवस्थामा जिम्बाब्वेका ६ करोड ८० लाखभन्दा बढी मानिस खाद्यान्न अभावबाट ग्रसित छन्।

निकुञ्ज तथा वन्यजन्तु प्राधिकरणका प्रवक्ता फाराभोले हात्ती मार्नुको दोस्रो कारण हात्तीको संख्या घटाउनु पनि रहेको बताए। जिम्बाब्वेको निकुञ्जमा करिब ५५ हजार हात्ती मात्रै हात्ती राख्ने ठाउँ भए पनि यहाँ एक लाख हात्ती छन्।

यससँगै खडेरीका कारण देशका नागरिक र हात्तीबीच सन्तुलन कायम गर्न कठिनाइ बढ्ने सम्भावना छ। गत वर्ष जिम्बावेमा हात्तीको आक्रमणमा ५० जनाको मृत्यु भएको थियो।

यसअघि सन् १९८८ मा जिम्बाब्वेमा पनि हात्ती मारेर मासु बिक्री गरिएको थियो। गत महिना अफ्रिकी देश नामिबियामा पनि संकटबाट जुध्न ८३ वटा हात्ती मारेर त्यसको मासु वितरण गरिएको थियो।

हात्ती संरक्षणका लागि प्रसिद्ध जिम्बाब्वेले लामो समयदेखि लोपोन्मुख प्रजातिहरूमा अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी संयुक्त राष्ट्र महासन्धि (CITES)बाट हात्ती र तिनका दाँत बेच्न अनुमति माग्दै आएको छ।

यो मागमा जिम्बाब्वे बाहेक बोत्सवाना र नामिबिया पनि परेका छन्। वास्तवमा, संसारमा हात्तीहरूको सबैभन्दा ठूलो जनसंख्या बोत्सवानामा बस्छ। त्यसपछि जिम्बाब्वे छ।

हात्तीको संख्या बढ्दै गएपछि यहाँको जनजीवन जोखिममा परेको छ। तिनीहरूले बाली र साना बच्चाहरूलाई कुल्चने गरेका छन्।

जिम्बाब्वेमा पाँच हजार करोडको हात्तीको दाँत छ। तर, यसको व्यापारमा प्रतिबन्ध लगाइएको छ। यस्तो अवस्थामा हात्तीको दाँत बेच्ने अनुमति पाएपछि यहाँका नागरिकले आम्दानीको अर्को माध्यम पाउन सक्छन्।

असोज २, २०८१ बिहीबार ०९:५५:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।