‌ओमानसँग एक विकेटले पराजित भयो नेपाल

‌ओमानसँग एक विकेटले पराजित भयो नेपाल

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग २ को क्यानडामा जारी त्रिकोणात्मक सिरिजमा नेपाल ओमानसँग पराजित भएको छ।

क्यानडाको किङ्ग सिटीमा आज बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले एक विकेटको जित हात पारेको हो।

नेपालले दिएको २ सय २१ रनको लक्ष्य ओमानले एक बल बाँकी रहँदा नौ विकेट पूरा गरेर भेट्टायो।

उसका लागि ओपनर जतिन्दर सिंहले ४९ बलमा सर्वाधिक ४१ रन बनाउँदा कश्यप प्रजापतिले ५२ बलमा ३६ रन जोडे। सिंहलाई सन्दीप लामिछानेले आउट गर्दा प्रजातिलाई आरिफले पेभेलियन फर्काएका थिए।

त्यस्तै कप्तान अकिब इल्यमसले ३३ बलमा २९ रन बनाउँदै आउट भए। प्रतिक अथाभाले र सोयब खानले समान २६ तथा खलिद कैलले १७ रन जोडे।

बलिङतर्फ नेपालका लागि गुलसन झाले पाँच विकेट लिए भने करण केसीले दुई तथा आरिफ शेख र सन्दीप लामिछानेले समान एक-एक विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले रोहित पौडेल र गुलसन झाको अर्धशतकमा ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रनको योगफल तयार पारेको थियो।

नेपालका लागि कप्तान रोहितले ७२ बलमा २ चौका र ४ छक्काको सहयोगमा ६० रन जोडे। कप्तान पौडेलले ६४ बलमा आफ्नो दशौं अर्धशतक पूरा गरेका थिए। रोहित महत्वपुर्ण पारी खेलेर ओमानका कप्तान अकिब इल्यासको बलमा आउट भए।

झाले ३५ बलमा ३ चौका र ५ छक्काको सहयोगमा ५३ रनको अर्धशतकीय पारी खेले। उनी फैयज बटको बलमा आयान खानबाट क्याचआउट भए।

एक समय ३१ बनाउदा तीन विकेट गुमाएर संकटमा परेको नेपालका लागि कप्तान रोहित र आरिफ शेख मिलेर चौथो विकेटका लागि ८३ रनको महत्वपूर्ण साझेदारी गरे।

आरिफले ८८ बलमा ३५ रन बनाउँदै सकिल अहमदको बलमा आउट भए। सोमपाल कामी ८ बलमा २० रनमा आउट हुँदा सन्दीप लामिछाने ११ रनमा नट आउट रहे

त्यसअघि ओपनर अर्जुन साउद चौथो ओभरको पहिलो बलमा आउट भएका थिए। करिब १५ महिना पछि नेपाली टिममा फर्किएका अर्जुन साउद १२ बलमा ५ रन बनाउँदै आउट भएका हुन्

अर्का ओपनर आसिफ शोयब खानको बलमा ११औ ओभरको तेस्रो बलमा ११ रन बनाउँदै आउट भए। तेस्रो विकेटका रुपमा भीम फैयज बटको बलमा ११ रन बनाउँदै आउट भएका हुन्।

ओमानका लागि फैयज बट, अकिब इल्यास र कलिमुल्लाहले समान २ तथा सोयब खान र सकिल अहमदले समान १ विकेट लिए।

जित पछि ओमान पाँच खेलमा पाँच अंकका साथ छैटौं स्थानमा छ। नेपालको ६ खेलमा २ अंकका साथ सातौं स्थानमा छ। यस त्रिकोणात्मक सिरिजमा नेपाल र ओमानको साथै क्यानडाको पनि सहभागिता छ। त्रिकोणात्मक ओडिआई सिरिज असोज १० गते सम्म हुनेछ।

सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो। नेपालले त्रिकोणात्मक ओडिआई सिरिजमा तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध खेल्नेछ।

असोज २, २०८१ बिहीबार ०६:२५:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।