'कांग्रेस र एमाले आफ्ना इगोहरूलाई बिर्सेर देशको परिवर्तनको लागि एक भएका हुन्'

'कांग्रेस र एमाले आफ्ना इगोहरूलाई बिर्सेर देशको परिवर्तनको लागि एक भएका हुन्'

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले, ठूला दुई दल राजनीतिक स्वार्थको लागि नभएर देशलाई अप्ठ्यारो परिस्थितिबाट बाहिर निकाल्न एक भएको बताएका छन्। 

बुधबार नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ का अवसरमा आयोजित ‘संविधान र संस्कृति’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले देशलाई अप्ठ्यारो परिस्थितिबाट बाहिर निकाल्न ठूला दुई दल एक भएको भन्दै यसलाई राजनीतिक स्वार्थको रुपमा नलिन आग्रह गरे।  

उनले भने, ‘नेकपा एमाले र कांग्रेस एक ठाउँमा आएका छन्। यो दुई वटा पार्टी एक ठाउँमा आउने कुरालाई केवल हामीले राजनीतिक अर्थमा, अरू साना दलहरुलाई खुम्च्याउने, ठूला दुई दलको सिन्डिकेट कायम गर्ने फेरि राजनीतिलाई कतैतिर केन्द्रित गर्ने अर्थमा मात्रै हामीले बुझ्यौं भने संस्कृतिको सम्मान गरेको भन्ने बुझिँदैन। दुई ठूला दल एक ठाउँमा आउनुको कारण देश अप्ठ्यारोमा छ। हामी आफ्ना इगोहरुलाई, प्रतिस्पर्धालाई विराम गरेर देशको परिवर्तनको लागि एक भएका हो।’ 

उनले संस्कार र संस्कृतिका विषयहरूलाई जारी संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानभित्र प्रतिबिम्बित गरेको बताए। 

संविधानमा व्यवस्था गरेका कुराहरू कार्यान्वयन गराउने सन्दर्भमा बनाउनुपर्ने कानून अझै पनि बनाउन नसकेको उनको गुनासो छ। संविधानले बोकेको संस्कृति अनुसार सुशासन र समृद्धिको बाटोमा अगाडि बढ्नु पर्ने पनि उनको भनाई छ। 

‘संस्कार र संस्कृतिका विषयहरू हामीले जारी गरेको संविधान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा हामीले त्यहाँ भित्र प्रतिविम्वित गरेका छौं। त्यही कारणले नै हामीले समावेशितालाई उत्कृष्ट ढंगले प्रवेश गराएका छौं’ उनले भने।  

असोज १, २०८१ बुधबार २१:३९:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।