एउटै मञ्चबाट सहकारी प्रकरणमा देउवाले गगनलाई धन्यवाद दिनु र गगनले ‘दुई वर्षपछि देउवा प्रधानमन्त्री’ भन्नुको अन्तर्य के?

एउटै मञ्चबाट सहकारी प्रकरणमा देउवाले गगनलाई धन्यवाद दिनु र गगनले ‘दुई वर्षपछि देउवा प्रधानमन्त्री’ भन्नुको अन्तर्य के?

काठमाडौं : बुधबार नेपाली कांग्रेसले सानेपास्थित पार्टी मुख्यालयमा आयोजित एक महिने विशेष अभियानको शुभारम्भ कार्यक्रममा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा एउटै मञ्चमा उभिए। त्यसक्रममा सभापति देउवा र महामन्त्री थापाले सहकारी ठगी प्रकरणको विषय उठान गरे।

त्यसो त कार्यक्रममा सभापति देउवाले एक महिने विशेष अभियानका बारेमा बोल्दै जिल्लामा राम्रो संगठन विस्तार गर्न र झगडा नगरी मिलाउनेतिर लाग्न कार्यकर्तालाई आग्रह गरे। महामन्त्री थापाले पार्टी उपसभापति धनराज गुरुङमाथि पनि सहकारी ठगीको आक्षेप लागेको र त्यसको तथ्य पत्ता लगाउनका लागि आफूहरूले सरकारलाई भनेको बताए।

तर, कार्यक्रममा सहकारी ठगी प्रकरणमा महामन्त्री थापालाई सभापति देउवाले दिएको धन्यवाद र गगनले देउवालाई दुई वर्षपछि प्रधानमन्त्री बन्ने विषय स्वीकार गरेको सन्दर्भ अलि बढी चर्चामा रहे।

गगनले देउवालाई दुई वर्षपछि प्रधानमन्त्री बन्छन् भन्नुको अन्तर्य 
नेपाली कांग्रेसभित्र अहिले ‘एक्जिट पोलिसी (बहिर्गमन नीति)’को बारेमा गहन छलफल भइरहेको छ। महामन्त्री शर्माले गएको महासमितिमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा १, २, ३, ४ भनेर एक्जिट पोलिसीबारे चर्चा गरिएको छ।

महामन्त्री शर्माले आफ्नो प्रतिवेदनमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदको कार्यकाल तोक्ने प्रस्ताव गरेका छन्। राष्ट्रपति एक कार्यकाल, प्रधानमन्त्री दुई, मन्त्री तीन र सांसद चारपटक भन्दा हुन नपाउने उनको प्रस्ताव छ। तर, केन्द्रीय समितिमा रहेका ८४ प्रतिशत देउवा पक्षका सदस्यहरूको समर्थन नहुँदा शर्मालाई यो प्रस्ताव निल्नु न ओकेल्नु भएको छ।

त्यसमा पनि अर्का महामन्त्री थापाको खुलेर समर्थन नहुँदा शर्मालाई अप्ठ्यारो परेको बुझिन्छ। गएको साउन २३ देखि बसेको केन्द्रीय समिति बैठकमा संस्थापन पक्षका केन्द्रीय सदस्य राजीव ढुङ्गानाले महामन्त्री गगन थापालाई रोक्न प्रस्ताव ल्याएको भनेका थिए।

थापा चार पटक सांसद भइरहेको भन्दै उनले भनेका थिए, ‘गगनजी फेरि उठ्न पाउने कि नपाउने? ताली खानका लागि मात्रै प्रस्ताव ल्याउन भएन।’

त्यसपछि गगन यो प्रस्तावबारे खुलेर बोलेका छैनन्। जबकी विश्वप्रकाशले गगनका धेरैजसो कदमहरूमा साथ दिएका छन्। जस्तो की, गगन दलको नेता उठ्दा पनि विश्वप्रकाशको प्रमुख साथ रह्यो। त्यसयता पनि आगामी चुनावमा कांग्रेस एकलाई लड्नुपर्ने गगनको प्रस्तावमा पहिला खुलेर नबोलेका विश्वप्रकाशले पछि समर्थन गरेका थिए।

पछिल्लो केन्द्रीय समिति बैठकमा त सभापति देउवाले विश्वप्रकाशको यो प्रस्ताव अलोकतान्त्रिक भएको भन्दै आफू जसरी पनि अबको दुई वर्षपछि एमालेको समर्थनमा प्रधानमन्त्री बन्ने बताएका थिए। त्यसअघि त्यही बैठकमा विश्वप्रकाशले देउवालाई अब प्रधानमन्त्री नबन्नु भन्ने सल्लाह दिएका थिए।

तर, आजको कार्यक्रममा महामन्त्री थापाले दुई वर्ष सरकारको नेतृत्व एमाले अध्यक्ष केपी ओलीले गरेपछि देउवा प्रधानमन्त्री बन्ने स्वीकार गरे। जबकी उनकै समूहमा रहेका नेता शेखर कोइरालाले यही दुई वर्षको अवधिमा दलको नेता बदल्नुपर्ने बताउँदै आएका छन्।

‘एमाले र नेपाली कांग्रेसबीच भएको सात बुँदे सहमतिको आधारमा सरकार गठन भएको छ। सम्माननीय केपी शर्मा ओलीको नेतृत्वमा यो सरकार छ। दुई वर्ष सरकार चलिसकेपछि पार्टी सभापति आदरणीय माननीय शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्छ। यो समझदारीमा हामी शतप्रतिशत कमिटेड छौँ’, आजको कार्यक्रममा गगनले भने।

त्यसो त गगन आफैँ पनि आगामी १५औं महाधिवेशनमा सभापतिको तयारी गरिरहेका छन्। त्यसैले पनि उनका पछिल्ला अभिव्यक्तिहरू हेर्दा उनी सभापति देउवालाई चिढ्याउने पक्षमा देखिँदैनन्। देउवा पक्षका ८४ प्रतिशत सदस्यलाई खुसी पार्दै अर्कोपटक सभापतिमा निर्वाचित हुने उनको दाउ छ।

देउवाले गरेको गगनको तारिफ 
सभापतिले देउवाले सार्वजनिक रूपमा आफ्ना बिरलै कार्यकर्ताहरूको प्रशंसा गर्छन्। तर, आजको कार्यक्रममा भने महामन्त्री गगनलाई हाँसेरै धन्यवाद दिए।

सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने पनि दोषी रहेको भन्दै संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेपछि कांग्रेसले उठाएको मुद्दा स्थापित भएको र त्यसको धन्यवादको पात्र गगन भएको देउवाको बुझाइ छ।

गगनलाई लामिछानेको विषय उठान गरेर समिति बनाउन दबाब दिएकोप्रति धन्यवाद दिँदै देउवाले भने, ‘सहकारीसम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ। उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले वास्तवमा पत्याएकै थिइनँ, यस्तो छ भनेर।’

पछिल्लो समय कोशी प्रदेशमा आफ्नो समूहको तर्फबाट एक जना पनि मन्त्री नबन्दासमेत गगनले त्यसको विरोध गरेका छैनन्। राजदूत लगायतका नियुक्तिहरूमा आफ्नो समूहको भाग माग्न पहिला जति उग्र हुन्थे गगन, पछिल्लो समय नरम हुन थालेका छन्। यसले पनि उनी देउवासँग नजिक हुन चाहेको बुझिन्छ।

त्यसै पनि आगामी महाधिवेशनमा देउवा समूहबाट सभापति बन्ने उम्मेदवारको खडेरी नै छ। यदाकदा देउवाले शशाङ्क कोइरालालाई सभापतिमा समर्थन गर्ने चर्चा भएपनि त्यो त्यति सजिलो भने छैन। यही सत्यलाई बुझेका गगनले देउवालाई रिझाउन कोसिस गरिरहेका छन्।

त्यसको पछिल्लो उदाहरण हो, गगनले आगामी चुनावमा एक्लै लड्ने भनेर राखेको प्रस्ताव देउवाले समर्थन गर्नु।

असोज १, २०८१ बुधबार २०:०६:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।