अर्थमन्त्रीको प्रश्न : तीन हजार अंकभन्दा माथि पुगेको नेप्से अहिले किन खुम्चिएको छ?

अर्थमन्त्रीको प्रश्न : तीन हजार अंकभन्दा माथि पुगेको नेप्से अहिले किन खुम्चिएको छ?

काठमाडौं : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीबजार अस्थिर भइरहेकोप्रति चिन्ता व्यक्त गरेका छन्। 

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को भद्रकालीस्थित कार्यालयमा निरीक्षणका लागि पुगेका अर्थमन्त्री पौडेलले पुँजीबजारको वर्तमान अवस्थाका बारेमा जानकारी लिँदै कारोबार रकम र नेप्से परिसूचकमा देखिएको अस्थिरताबारे चासो व्यक्त गरे। 

'केही समयअघि मात्र नेप्से परिसूचक तीन हजार अङ्कभन्दा माथि र कारोबार रकम ३० अर्ब रूपैयाँ हाराहारी पुगेकोमा अहिले परिसूचक दुई हजार पाँच सय ७० हाराहारी र कारोबार रकम पाँच/छ अर्बमा खुम्चिएको छ?, अर्थमन्त्री पौडेलले भने, 'किन यस्तो भइरहेको छ भन्नेबारे शीघ्र र स्पष्ट जवाफ खोजौँ।'

वर्तमान सरकार गठन भएपछि राजनीतिक स्थिरताको सन्देशसँगै पुँजी बजारमा पनि सुधार देखिएको भए पनि अहिले फेरि बजार घट्दै जानुको कारणबारे अर्थमन्त्री पौडेलले चासो राखे। 

'स्थिर र बलियो सरकार छ। बैंक वित्तीय संस्थामा ब्याजदर घटेको छ। तर, तीन हजारको बिन्दुसम्म पुगेको बजार टिक्न सकेन। यस्तो किन भइरहेको छ भन्ने जवाफ चाहन्छु, उनले भने। 

अर्थमन्त्री पौडेलले पुँजी बजारलाई दिगो, विश्वसनीय र प्रविधिमैत्री बनाउन सुधारका थप क्रियाकलाप अघि बढाउन पनि निर्देशन दिए। 

असोज १, २०८१ बुधबार १८:४४:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।