सहकारी प्रकरणमा देउवाले भने 'मैले पत्याएकै थिइँन, गगन थापाले धेरै अध्ययन गरेर भन्नुभएको रहेछ'

सहकारी प्रकरणमा देउवाले भने 'मैले पत्याएकै थिइँन, गगन थापाले धेरै अध्ययन गरेर भन्नुभएको रहेछ'

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी ठगी प्रकरणमा महामन्त्री गगन थापालाई धन्यवाद दिएका छन्। 

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा एक महिने विशेष अभियानको शुभारम्भ गर्दै देउवाले सहकारीको रकम अपचलन सम्बन्धमा बनेको संसदीय छानबिन समितिले प्रतिवेदन सार्वजनिक गरेपछि कांग्रेसले संसद्‌मा उठाएका प्रश्नहरू अहिले प्रमाणित भएकोमा भन्दै महामन्त्री थापालाई धन्यवाद दिए।

'सहकारीसम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ। उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले वास्तवमा पत्याएकै थिइँन, यस्तो छ भनेर, उनले भने।   

देउवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको बताए।

'रवि लामिछानेजी त कस्तो मान्छे हुनुहुँदो रहेछ भने चलाख मान्छे। म त छक्कै परेँ कुरा सुनेर,' उनले भने।

संसदीय छानबिन विशेष समिति गठन गर्ने क्रममा लामिछानेले सहकारी रकम ठगी गरेको भन्नेबारे आफूलाई विश्वास नलागे पनि अहिले प्रमाणित भएको उनको भनाइ छ।

संसदीय छानबिन समितिले सहकारीबाट रकम निकाल्ने क्रममा लामिछानेको संलग्नता देखिएको भन्दै उनीसहित गितेन्द्रबाबु (जीबी) राई, छबिलाल जोशीलगायतलाई कारबाहीको सिफारिस गरेको छ।  

असोज १, २०८१ बुधबार १८:०३:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।