राप्रपामा सेलिब्रेटी : रेडियो नेपालको जागिर त्याग्ने कोमलदेखि रेखा थापाहुँदै मिस नेपाल आस्मासम्म

राप्रपामा सेलिब्रेटी : रेडियो नेपालको जागिर त्याग्ने कोमलदेखि रेखा थापाहुँदै मिस नेपाल आस्मासम्म

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले यस वर्षकी मिस नेपाल आस्मा कुमारी केसीलाई सिधै केन्द्रीय सदस्य बनायो। 

राप्रपाले ‘नविन राप्रपा’ कार्ययोजना अन्तर्गत ४० वर्षमुनिका २० जनालाई सोझै केन्द्रीय सदस्य बनाउने आकर्षक ‘प्याकेज’मा उनी केन्द्रीय सदस्य मनोनीत भएकी हुन्। 

त्यसो त सेलिब्रेटी राजनीतिमा होमिनु खासै नौलो पनि हैन। त्यसमा पनि राप्रपाले निकै चलेका अनुहारहरूलाई आफ्नो पार्टीमा प्रवेश गराएको पनि छ। 

त्यसैक्रममा मिस नेपाल बनेपछि भविष्यमा राजनीतिज्ञ बन्ने चाहना भन्दै अन्तवार्ताहरू दिएकी आसमा राप्रपाको सिधै केन्द्रीय सदस्य बनिन्।  त्योसँगै राष्ट्रिय दलको केन्द्रीय तहमा पुग्ने उनी पहिलो मिस नेपाल हुन्। 

रेडियो नेपालको जागिर छोडेर राप्रपा होमिएकी कोमल 
०७३ मा लोकगायिका तथा सञ्चारकर्मी कोमल ओलीली राप्रपामा प्रवेश भएसँगै निकै चर्चा भएको थियो। राप्रपा नेपाल र राप्रपाको पार्टी एकता घोषणा कार्यक्रममा कोमललाई तत्कालीन अध्यक्ष कमल थापाले फूलमाला लगाइदिएर पार्टीमा स्वागत गरेका थिए। तर, उनको पार्टी प्रवेश विवादरहीत पनि हुन सकेन। 

कोमलले त्यसबेला रेडियो नेपालको जागिर गरिरहेको बेला राप्रपा प्रवेश गरेको भन्दै आलोचना भयो। त्यसपछि कोमलले रेडियो नेपालको जागिरबाट राजीनामा दिएर राजनीतिमा होमिइन्। 

पार्टी एकीकरणपछिको राप्रपाको पहिलो एकीकरण महाधिवेशन काठमाडौंमा भयो। त्यसबेला कोमलले केन्द्रीय सदस्यमा उम्मेदवारी दिइन्। नभन्दै उनले चुनाव जितिन् पनि। 

त्यसपछि उनी स्थानीय तहको निर्वाचनमा राप्रपाका लागि विभिन्न स्थानमा भोट माग्नसमेत सक्रिय भइन्। 

तर, उनको राप्रपाको यात्रा लामो भने रहेन। राप्रपाको विभाजन र स्थानीय तहको निर्वाचनमा पार्टीले सन्तोषजनक जनमत नपाएपछि कोमल ०७४ मा एमाले प्रवेश गरिन्।

त्यसपछि उनलाई एमालेले राष्ट्रिय सभा सदस्य बनायो। केही समय एमालेमै काम गरेकी उनले गएको संसदीय निर्वाचनमा एमालेबाट टिकट त पाइन् तर, चुनाव भने जितिनन्।

अहिले उनी एमालेमा उस्तोधेरै सक्रिय देखिदिनन्। 

माओवादीबाट राप्रपामा आएकी रेखा
ओली सँगसँगै नायिका रेखा थापा पनि राप्रपा गरेकी हुन्। पार्टी प्रवेशलगत्तै केन्द्रीय सदस्यमा मनोनीत भएकी रेखा पार्टी एकीकरणपछिको राप्रपाको पहिलो एकीकरण महाधिवेशनमा चुनाव लडिन्। केन्द्रीय सदस्यमा निर्वाचित भइन् पनि। 

रेखाले पनि पार्टीको लागि स्थानीय चुनावमा सक्रिय भएर भोट माग्ने काम गरिन्। 

पछि राप्रपाको गएको एकता महाधिवेशनमा राजेन्द्र लिङ्देन समूहबाट महासचिव उठेकी रेखा कुन्ती शाहीसँग पराजित भइन्। तर, त्यसपछि पनि उनलाई अध्यक्ष लिङदेनले केन्द्रीय सदस्य मनोनीत गरेका छन्। 

रेखाले राप्रपाको तर्फबाट गएको संसदीय निर्वाचनमा मोरङ ३ बाट टिकट पाएकी थिइन्। तर, चुनाव जित्न भने सकिनन्। 

त्यसपछि अहिले उनी पार्टीका गतिविधिमा खासै सक्रिय छैनन्। फिल्म निर्माणमै व्यस्त उनी राजनीतिक गतिविधिमा सहभागी हुनसमेत मन गर्दिनन्। 

असोज १, २०८१ बुधबार १६:५२:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।