रामधुनीका मेयर चौधरीका छोरा देवेन्द्रले नक्कली शैक्षिक प्रमाणपत्र बनाएर जागिर खाएको अख्तियारको दाबी

रामधुनीका मेयर चौधरीका छोरा देवेन्द्रले नक्कली शैक्षिक प्रमाणपत्र बनाएर जागिर खाएको अख्तियारको दाबी

काठमाडौं : सुनसरीको रामधुनी नगरपालिकाका मेयर शंकरलाल चौधरीका छोरा देवेन्द्र नारायण चौधरीको शैक्षिक प्रमाण-पत्र नक्कली भएको दाबी गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोग बिषेश अदालतमा आरोपपत्र दायर गरेको छ।

चौधरीले जागिर खानका लागि भारतबाट नक्कली शैक्षिक प्रमाण-पत्र बनाएको पाइएको भन्दै आयोगले सोमबार बिषेश अदालतमा आरोपपत्र दायर गरेको हो।

‘..आफूलाई फाइदा र नेपाल सरकारलाई हानी नोक्सानी पुर्याउने गरि निज (देवेन्द्र)ले केन्द्रीय माध्यमिक शिक्षा बोर्ड, दिल्ली भारतबाट प्राप्त गरिएको भनिएको शैक्षिक योग्यताको प्रमाण-पत्र झुट्टा भएको प्रमाणित हुन आएको हुँदा निजलाई प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित गरेको कसुरमा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ (१) बमोजिम सजाय हुन माग दावी लिई आज बिषेश अदालत काठमाण्डौंमा आरोप-पत्र दायर गरिएको छ,’ अख्तियारले भनेको छ। 

अख्तियारको आरोप अनुसार भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ (१) बमोजिम देवेन्द्रमाथि ६ महिनादेखि १ बर्षसम्म कैद र १० हजारदेखि २० हजार रूपैयाँसम्म जरिवाना लाग्ने छ।

उनले आर्थिक बर्ष २०७३/०७४ देखि २०७९/०८० सम्म रामधुनी नगरपालिकामा इन्जिनियरको रुपमा जागिर खाएका थिए। नगरपालिकाबाट राजीनामा दिएर हाल उनी जनता माध्यमिक विद्यालय सिंगीयामा शिक्षकको रुपमा कार्यरत छन्।

असोज १, २०८१ बुधबार १५:४९:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।