फेसबुक-इन्स्टाग्राममा रूसी सञ्चारमाध्यमलाई प्रतिबन्ध लगाइयो, विदेशी हस्तक्षेप बढाएको आरोप

फेसबुक-इन्स्टाग्राममा रूसी सञ्चारमाध्यमलाई प्रतिबन्ध लगाइयो, विदेशी हस्तक्षेप बढाएको आरोप

एजेन्सी : टेक जायन्ट कम्पनी मेटाले विदेशी हस्तक्षेप गतिविधि बढाएको कारण आफ्नो फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्सलगायतका सामाजिक सञ्जालबाट रूसी सरकार समर्थित सञ्चारमाध्यमलाई विश्वव्यापी रुपमा प्रतिबन्ध लगाएको छ। 

संयुक्त राज्य अमेरिकाले रुस समर्थित सञ्चारमाध्यम आरटीको कर्मचारी र यसका प्रधान सम्पादकलाई अमेरिकी चुनावलाई प्रभाव पार्ने आरोपमा प्रतिबन्ध लगाएको केही समयपछि मेटाले यस्तो घोषणा गरेको हो। 

यूएस स्टेट डिपार्टमेन्टले आरटीलाई युरोप, अफ्रिका र उत्तर र दक्षिण अमेरिकाका देशहरूमा ‘सूचना सञ्चालन, गुप्त प्रभाव र सैन्य खरिद’ मा संलग्न भएको आरोप लगाएको छ।

'सावधानीपूर्वक विचार गरेपछि, हामीले रूसको राष्ट्रिय सञ्चारमाध्यम विरुद्ध हाम्रो चलिरहेको प्रवर्तन विस्तार गरेका हौँ', मेटाले भनेको छ, 'रोसिया सेगोडन्या, आरटी र अन्य सम्बन्धित संस्थाहरूलाई अब विदेशी हस्तक्षेप गतिविधिको लागि विश्वव्यापी रूपमा हाम्रा सञ्जालहरुबाट प्रतिबन्ध लगाइएको छ।'

सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेपछि आरटीलाई गैरकानुनी रुपमा सञ्चालित रहेको आरोपमा बेलायत, क्यानडा, युरोपेली सङ्घ र संयुक्त राज्य अमेरिकामा औपचारिक रुपमा प्रतिबन्ध लगाइएको थियो।  

आरटीमाथि अमेरिका विरुद्ध भ्रामक सूचना फैलाउने गोप्य परियोजनाको रुपमा अनलाइन सामग्री निर्माण कम्पनी ‘टेनेसी’लाई वित्तपोषण गरेको अभियोग लगाइएको हो। 

सन् २०२३ सुरू भएदेखि रुसले समर्थन गरेको अमेरिकी अनलाइन सामग्री निर्माण कम्पनीले अमेरिका विरुद्ध लगभग २ हजार भिडियो पोस्ट गरेको छ। भिडियोहरू युट्युबमा मात्रै १ करोड ६० लाखभन्दा बढी पटक हेरिएको अभियोगमा उल्लेख गरिएको छ। 
 
मेटाले यसअघि रूसी इन्टरनेट अनुसन्धान विभागको विदेशी हस्तक्षेप गतिविधिलाई विफल पार्न रसियाको संघीय समाचार समितिलाई प्रतिबन्ध लगाएको थियो।  

असोज १, २०८१ बुधबार १५:०५:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।