एसइईको नतिजा ७० प्रतिशतसम्म पुर्याउन पहल सुरू भइसकेको छ : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्याउन नीतिगत पहल सुरू भइसकेको बताएका छन्।
राष्ट्रिय शिक्षा दिवस, २०८१ मूल समारोह समितिको कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हाल कायम रहेको शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको जनाउँदै अनलाइन कक्षाबाट विद्यार्थीलाई मुख्य विषयहरू पढाएर एसइईको नतिजामा उल्लेख्य सुधार गर्न थालिएको बताए।
हाल एसइईमा ५० प्रतिशतको हाराहारीमा विद्यार्थी उत्तीर्ण हुँदै आएका छन्।
‘एसइईको नतिजामा उल्लेख्य सुधार गर्नुपर्छ भनेर उत्तीर्ण प्रतिशत बढाउन नीतिगत पहल सुरु भइसकेको छ’ प्रधानमन्त्री ओलीले भने, ‘सात सालको प्रजातन्त्रको स्थापनासँगै नेपालमा गाउँ गाउँमा स्वतःस्फुर्तरुपमा शिक्षा विकासको लहर चलेको थियो तर, हामी जति अगाडि बढ्नुपर्ने थियो, त्यति अघि बढ्न सकेका छैनौँ। राणा र राजाहरूले आफ्नो ऐस आराम र शासनमा मात्रै बढी रमाएका थिए। अहिले गणतन्त्र आइसकेको छ। यस व्यवस्थाको शिक्षालाई पछाडि पर्न नदिनु हामी सबैको दायित्व हो।’
उनले विश्वमा प्रतिर्स्पर्धा गर्न सक्ने सक्षम नागरिक उत्पादन गर्न शिक्षाकर्मीलाई आग्रह गरे।
प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ जारी भएको दिनलाई आधारमा मानेर पछिल्ला वर्षमा असोज २ लाई शिक्षा दिवस मनाउन थालिएको हो।
असोज २, २०८१ बुधबार १४:३२:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।