घट्दो जन्मदर रोक्न नागरिकलाई पुटिनको आग्रह, भने- ‘कामको ब्रेकमा शारीरिक सम्बन्ध राख्नुस्’

घट्दो जन्मदर रोक्न नागरिकलाई पुटिनको आग्रह, भने- ‘कामको ब्रेकमा शारीरिक सम्बन्ध राख्नुस्’

एजेन्सी : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना नागरिकलाई कार्यालयमा काम गर्दा ब्रेकमा शारीरिक सम्बन्ध राख्न अपिल गरेका छन्।

देशमा घट्दो जन्मदरलाई रोक्नका लागि यस्तो पुटिनले यस्तो अपिल गरेको बेलायती अखबार मेट्रोको रिपोर्टमा उल्लेख छ।

पुटिनले भने, ‘रुसी नागरिकको सुरक्षा हाम्रो प्राथमिकता हो। रुसीहरूको भविष्य अब तिनीहरूको संख्यामा निर्भर गर्दछ। जनसंख्याका लागि भए पनि कामको बीचमा शारीरिक सम्बन्ध राख्नुस्।’

रुसका स्वास्थ्य मन्त्री डा. येभगेनी शेस्टोपालोभले कामको दबाब, सन्तान नहुनुको बहाना हुन नसक्ने भन्दै कामको बीचमा ब्रेक लिएर पनि शारीरिक सम्बन्ध राख्न सकिने बताएका छन्।

रूसमा जन्म दर प्रति महिला १.५ बच्चा छ। देशको जनसङ्ख्या स्थिर राख्नका लागि प्रति महिला २.१ बच्चाको जन्मदर आवश्यक छ।

युक्रेन विरुद्धको युद्ध सुरु भएदेखि रुसका १० लाख नागरिकले देश छोडिसकेका छन्। यसमा अधिकांश युवा समूहका व्यक्तिहरू पनि समावेश छन्।

पुटिनले भनेका थिए- महिलाले आठ बच्चा जन्माउनुपर्छ
पुटिनले देशको घट्दो जन्मदरबारे चिन्ता व्यक्त गरेको यो पहिलो पटक होइन। यसअघि गत वर्षको डिसेम्बरमा पुटिनले रुसी महिलालाई कम्तीमा ८ बच्चा जन्माउन आग्रह गरेका थिए।

ठूला परिवारहरूको परम्परा रूसी घरहरूमा पेश गर्न आवश्यक रहेको उनको भनाइ थियो।

पुटिनले भनेका थिए, ‘धेरै समुदायमा अझै पनि धेरै सन्तान जन्माएर परिवार बढाउने र परम्परालाई कायम राख्ने चलन छ। हामीले याद गर्न जरुरी छ कि हाम्रा हजुरआमा र हजुरआमाको पालामा घरमा ७/८ जना बालबालिका थिए।’

जन्मदर २५ वर्षकै न्यून
रुसी सरकारी तथ्याङ्कअनुसार रुसमा जन्मदर सन् १९९९ यताकै न्यून स्तरमा छ। जनसंख्याको हिसाबले विश्वका शीर्ष १० देशको सूचीमा रहेको रुसमा यस वर्षको जुन महिनामा १ लाखभन्दा कम बालबालिकाको जन्म भएको छ।

सन् २०२४ को पहिलो आधा समयमा करिब ६ लाख बालबालिकाको जन्म भएको छ। यो गत वर्षको तुलनामा १६ हजार कम हो।

रुसमा यस वर्षको जनवरीदेखि जुनसम्म ३ लाख २५ हजारभन्दा बढीको मृत्यु भएको छ। जसका कारण देशको जनसङ्ख्या निरन्तर घटिरहेको छ।

रुसको उत्तर-पूर्वी क्षेत्र कारेलियाका अधिकारीहरूले कलेज विद्यार्थीहरूका लागि नयाँ योजनाहरू जारी गरेका छन्। यसअन्तर्गत स्थानीय कलेज तथा विश्वविद्यालयमा स्वस्थ सन्तान जन्माउने २५ वर्ष मुनिका छात्रालाई करिब एक लाख रुबेल दिइँदै आइएको छ।

पुटिनले भनेका थिए- १० सन्तान जन्माउने महिलालाई सम्मान गर्छौँ
यसअघि सन् २०२२ मा पुटिनले १० सन्तान जन्माउने महिलालाई ‘मदर हिरोइन’ नामको अवार्ड दिने घोषणा गरेका थिए।

यो पुरस्कार दोस्रो विश्वयुद्धका बेला पनि महिलालाई दिइएको थियो। त्यतिबेला पनि रुसको जनसङ्ख्या तीव्र गतिमा घटिरहेको थियो। सन् १९९१ मा सोभियत संघ टुटेपछि रुसले यो अवार्ड दिन बन्द गरेको थियो।

असोज १, २०८१ बुधबार १४:१८:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।