पहाड चढ्दै विषालु सर्प : डसाइकै कारण वार्षिक तीन हजार जनाको मृत्यु, कुखुराको मलद्वार टाँसेर उपचार!

पहाड चढ्दै विषालु सर्प : डसाइकै कारण वार्षिक तीन हजार जनाको मृत्यु, कुखुराको मलद्वार टाँसेर उपचार!

बुटवल : घर नजिकैको बारीमा घाँस काट्न गएका दाङ तुल्सीपुर उपमहानगरपालिका-१९ का ५५ वर्षीया पारु चौधरीलाई गत असार १२ गते सर्पले डस्यो। घाइते उनी अस्पताल नगएर झारफुक तिर लागिन्।

झारफुकले सम्भव नभएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगियो। तर शरीरभरी विष फैलिइसकेकाले उनलाई बचाउन सम्भव भएन। अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरे।

गत असार २१ गते खेतमा काम गर्ने क्रममा कपिलवस्तुको शिवराज नगरपालिका-१० शिललापुरकी सुरपाती पासीलाई गोमन सर्पले डस्यो। सर्पले डस्ने बित्तिकै ६५ वर्षीया पासीको उपचारमा लापरबाही गरियो। तत्काल अस्पताल लगिएन। ढिलो गरी अस्पतालमा लग्दा उनको ज्यान बचेन।

०००

दुवैको मृत्यु सर्पले डसेर घाइते हुँदा गरेको लापरबाहीका कारण भयो। सर्पले डसेको उपचार धामी झाँक्री कहाँ गर्नुपर्छ भन्ने अन्धविश्वास हुँदा अझै कयौँ मानिसले अकालमा ज्यान गुमाइरहेका छन्।

कपिलबस्तु सर्पदंश उपचार केन्द्र गोरुसिंगेका व्यवस्थापक नविन भण्डारी सर्पले टोक्न साथ समयमै उपचार नगराउँदा, विषालु र सामान्य सर्प चिन्न नसक्दा पनि मृत्यु हुने संख्या बढेको बताउँछन्।

सर्पले डसेपछि झारफुक गर्ने, जडीबुटीको भर पर्ने, विष झर्न डसेको ठाउँमा कुखुराको मल द्वार टाँस्ने रुढीवादी सोच ग्रामीण भेगमा अझै छ। यस्ता सोचहरू कम भए पनि ठ्याक्कै बन्द हुन नसकेको उनको भनाइ छ।

‘अहिले पहिले जस्तो रुढिवादी सोच कम भएको छ। चेतनाको विकास भएको छ। तर, जति समुदाय स्तरमा पुग्नुपर्ने हो, पुग्न सकिएको छैन’, उनले भने।

नेपाली सेनाबाट सञ्चालित कपिलबस्तु सर्पदंश उपचार केन्द्रमा १५ शय्या भए पनि आईसीयू छैन। व्यवस्थापक भण्डारीका अनुसार आईसीयू र एन्टी भेनम नभएकै कारण करेतको टोकाइबाट उपचारमा आएका मध्ये ६० प्रतिशतलाई रिफर गर्नुपर्ने बाध्यता छ।

उक्त केन्द्रमा अघिल्लो आर्थिक वर्षमा मात्र ७४५ जनाको उपचार भएको र उपचारलाई ल्याउने क्रममा चार जनाको मृत्यु भएको थियो। उपचारकै क्रममा एक जनाको मृत्यु भएको केन्द्रले जनाएको छ।

त्यति मात्र होइन, सर्पदंशको उपचार गर्ने स्थानकै अभावका कारण पनि कतिपयले ज्यान गुमाउने गरेको सर्प विज्ञ कमल देवकोटाले बताए।

‘सकेसम्म सर्पले टोकेका बिरामीहरू हेर्न नपरोस्, रिफर गरे आनन्द हुन्छ भन्ने परिपाटी छ। यसले समयमै उपचार पाउँदैनन् र बिरामीको मृत्यु हुन्छ’, उनले भने।

नेपालमा सर्पदंश सम्बन्धी १२ देखि १५ जना मात्र विज्ञ चिकित्सक रहेकाले देशभर सर्पदंशको उपचारमा समस्या हुने गरेको उनको भनाइ छ।

प्रदेश प्रहरी कार्यालय दाङका सूचना अधिकारी एसएसपी माधव प्रसाद सापकोटाका अनुसार सर्पदंशको टोकाइबाट लुम्बिनीमा गत आर्थिक वर्षमा १७ जनाको मृत्यु भएको छ भने तीन सय २३ जना घाइते भएका छन्।

उनका अनुसार साउन यता मात्र चार जनाको मृत्यु सर्पदंशबाट भएको छ। लुम्बिनी प्रदेशमै सबैभन्दा बढी सर्पदंश दाङमा देखिन्छ।

गत आर्थिक वर्षमा दाङमा मात्रै आठ जना पुरुष र तीन महिना गरी ११ जनाको मृत्यु भयो। त्यस्तै नवलपरासीमा १, कपिलवस्तु ५, नवलपरासीमा ३, र बर्दिया १ जनाको मृत्यु भएको उनले बताए।

प्यूठान जिल्लामा भने सर्पदंशको टोकाइबाट बिरामी परेकाको रेकर्ड नभएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ।

पहाडी जिल्लामा विषालु सर्पको विगविगी
नेपालको करिव २६ वटा जिल्लाहरू सर्पदंशबाट अति नै प्रभावित भएको मानिन्छ।

हालैको एक अध्ययन अनुसार नेपालमा प्रत्येक वर्ष धेरै मानिसहरू सर्पदंशबाट प्रभावित भएका छन्। जस मध्ये केही मानिसहरूले सर्पदंशको कारणले ज्यान गुमाउने गरेका छन्।

हिउँद याममा अक्सर दुलोभित्र बस्ने सर्प बर्खायाममा बाहिर निसक्छन् अनि त्यहि समय सर्पले डस्ने र मृत्यु हुने गर्दछ।

कालीगण्डकी सामुदायिक अस्पताल कावासोतीका सर्पदंश विशेषज्ञ डा. छविलाल थापा पहाडी क्षेत्रमा पनि अहिले तराईमा जस्तै विषालु सर्पको विगविगी भएको बताउँछन्।

सर्पदंश विशेषज्ञ डा. छबिलाल थापा

‘पहिले तराईका जिल्लामा बढी विषालु सर्प भए पनि जलवायु परिर्वतनका कारण विषालु सर्प पहाडमा पनि देखिन थालेका छन्’, उनले भने।

सर्पको संरक्षण र सर्पदंशका बिरामीको उपचारमा लागेका उनले पहाडी क्षेत्रको चार हजार मिटर उचाइमा समेत विषालु सर्प पाइने गरेको बताए।

नेपालमा हालसम्म पाइएका ८९ प्रजातिका सर्पमध्ये २१ प्रजातिका विषालु छन्। यसमा गोमन, करेत, रसेल भाइपर, गनगुवाली रहेको विज्ञ देवकोटाले बताए। नेपालमा सबैभन्दा बढी गोमन र करेतले डस्ने गरेको उनको भनाइ छ।

सबै सर्प विषालु हुँदैनन्
सर्पले डस्ने बित्तिकै त्यो विषालु नै हो भन्ने हुँदैन। सर्पविज्ञ देवकोटाका अनुसार आफ्नो प्रतिरक्षाका लागि आक्रमण गर्दा सर्पले डस्ने गर्दछ।

‘सर्पले मानिसलाई टोक्ने उसको आहाराका लागि होइन। सर्पले स-साना जीवहरू, मुसा, भ्यागुता आदि खान्छ। तर त्यहि क्रममा व्यक्ति नजिक भए आफ्नो प्रतिरक्षामा उत्रन्छ र मानिसलाई डस्छ’, सर्प विज्ञ देवकोटाले भने।

यस्तै, विषालु सर्पले डस्दा समेत कहिलेकहीँ विष छोडेका हुँदैनन्। विषालु सर्पले डसेको ठाउँमा सुन्निने वा दुई ठूला दाँतको दाग देखिन्छ भने विष नभएको सर्पले डसेको ठाउँमा दाँतका थुप्रै दाग देखिने गरेको उनले बताए।

तर, दागको प्रकृति विश्लेषणमा लाग्नुभन्दा बिरामीलाई तत्काल एन्टी-भेनम भएको स्वास्थ्य केन्द्रमा लगेर उपचार गर्नुपर्ने उनको भनाइ छ।

‘विषालु सर्पले डसेपछि स्नायु र श्वासप्रश्वास प्रणालीमा क्षति हुन्छ। रगत फाट्ने हुन्छ। अनि रक्तसञ्चारको गति घटेर मानिसको मृत्यु हुने हुँदा समयमै उपचार भए मृत्युसम्म पुग्न पर्दैन’, उनले भने।

उनका अनुसार सबैभन्दा बढी विष वमन गोमन सर्पले डस्दा गर्छ। गोमनले एक पटक डस्दा १५० मिलिग्रामसम्म विष वमन गर्ने गर्दछ। जबकी, एक जना वयस्क व्यक्तिको शरीरमा गोमनको २० मिलिग्राम मात्र विष प्रवेश गरेमा पनि मृत्यु हुन्छ।

राज गोमन सर्प लोप हुने खतरा
राज गोमन सर्प गुँड बनाएर बस्ने एक मात्र सर्प हो। औषधीय गुण भएको यो सर्पलाई बचाउनतर्फ सरोकारवालाको ध्यान नपुगको देवकोटा बताउँछन्।

‘राज गोमन सर्प विषालु सर्प भए पनि यसले नेपालमा धेरै मानिसको मृत्यु गराएको तथ्यांक छैन। काठमाडौंमा सर्प उद्दारकर्ताको नै मृत्यु हुनु बाहेक यसको टोकाइबाट अहिलेसम्म अरु व्यक्तिको मृत्यु भएको छैन’, उनले भने।

सर्पदंशको औषधि बनाउन सर्पकै विष चाहिने भएकाले पनि सर्पलाई बचाउनुको विकल्प नभएको उनले बताए।

‘यदि सर्पलाई नचिनेरै देख्नासाथ मार्ने हो भने राज गोमन सर्प लोप हुने खतरा छ। त्यसैले लोपोन्मुख हुन लागेको राज गोमन सर्पलाई बचाउन तर्फ नागरिक स्तरमा सचेतना बढाउन जरुरी छ’, उनले भने।

सर्प उद्दारकर्ता कमल देवकोटा

राज गोमन सर्प दुई महिनासम्म गुँड बनाएर एकै ठाउँ बस्ने गर्दछ।

अर्का उद्दारकर्ता खिमलाल पाण्डे पनि सर्पलाई बचाउन सरोकारवालाको ध्यान नपुगेको आरोप लगाउँछन्।

‘सर्प देखियो भने त्यसलाई कसरी हुन्छ मार्नतर्फ मानिसको ध्यान गएको छ। त्यसलाई नचलाएर सर्प उद्दारकर्तालाई बोलाउनु पर्छ भन्नेमा अझै नागरिक स्तरमा चेतना पुगेको छैन। स्थानीय तह जस्ता सरोकार राख्नेहरूले पनि सर्पका बारेमा खासै कार्यक्रम गरेको देखिँदैन’, उनले थपे।

अन्य वन्यजन्तुको तुलनामा सर्पदंशबाट हुने मानवीय क्षति बढी भएपनि यसको रोकथामका लागि सम्बन्धित सरकारी निकायले पर्याप्त चासो दिनुपर्ने र लगानी गर्नुपर्ने उनको भनाइ छ।

बढ्दो छ सर्पले डस्ने संख्या
सर्प सम्बन्धी अध्ययन गर्ने एक संस्थाले सन् १९८७ मा गरेको एक अध्यायन अनुसार नेपालमा प्रत्येक वर्ष २० हजार जनालाई सर्पले डस्ने गर्दथ्यो। त्यस्तै एक हजार जनाको मृत्यु भएको थियो।

सन् २०२२ सम्म आइपुग्दा सर्पदंशको संख्या बढेको देखिन्छ। धरानस्थित वीपी क्यान्सर अस्पतालले सन् २०२२ मा गरेको अध्ययन अनुसार नेपालमा प्रति वर्ष ३० हजार जनालाई सर्पले डस्ने गरेको र तीन हजार जनाको मृत्यु हुने गरेको छ।

डा. थापाका अनुसार यसरी मृत्यु हुने मानिसको संख्या अस्पतालको रेकर्डमा भएको तथ्यांक हो। सरकारी रेकर्डमा नआएको तथ्यांक लाई हेर्ने हो भने बर्षमा अहिले करिब ३७ हजार जनालाई सर्पले डस्ने र ३ हजार ५ सय बढीको मृत्यु हुन सक्ने आंकलन गरिएको उनले बताए।

असोज १, २०८१ बुधबार १२:१२:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।