इटहरीमा सुरू भयो बिजुली बस सेवा, भाडा २० रुपैयाँ
धरान : नगरवासीको सुविधालाई दृष्टिगत गरी इटहरी उपमहानगरपालिकाले आजदेखि चारवटा विद्युतीय बसबाट सेवा सुरू गरेको छ।
इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलका अनुसार इटहरीका चारवटै क्षेत्रलाई समेटेर बस सञ्चालनको ‘रुट’ तयार गरी सेवा सुरु भएको हो।
सडक सञ्जाल विस्तार भए पनि इटहरीका सबै क्षेत्रमा सार्वजनिक यातायात नियमित रूपमा उपलब्ध नभएकाले नगरवासीको यात्रालाई सुविधाजनक बनाउने प्रयासस्वरुप सेवा प्रारम्भ भएको हो।
नगर क्षेत्रमा बिहान ७ देखि ११ बजेसम्म र अपराह्न २ देखि साँझ ७ बजेसम्म नियमित सञ्चालन गरिने उक्त सेवाका निम्ति हाललाई २० रुपैयाँ भाडा तोकिएको छ।
गत साउन २२ गते छ करोड ३६ लाख ८६ हजार रुपैयाँमा उपमहानगरपालिकाले बस खरिद गरेको हो। अपाङ्गता भएका व्यक्तिहरू पनि यी बसमा सहज रूपमा यात्रा गर्नसक्ने छन्।
असोज २, २०८१ बुधबार ११:१६:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।