इन्द्रजात्रामा बसन्तपुर गएनन् बालेन, भीआइपीहरूको भीड (तस्बिरहरू)

इन्द्रजात्रामा बसन्तपुर गएनन् बालेन, भीआइपीहरूको भीड (तस्बिरहरू)
तस्बिर : कृष्पा श्रेष्ठ/उकेरा

काठमाडौं : वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइएको छ। 

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ। भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ।
 


भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ। लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ। शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो। इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ। 

यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी भक्तपुरको चितपोल जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । काटेपछि लिङ्गोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ। उपत्यका भित्र्याएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ।

आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ। राजतन्त्र रहुञ्जेल राजाबाट श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा थियो।
 
इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि सुरू भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ।

यस पर्वका अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ।

आजको इन्द्रजात्राको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले जुद्ध सालिकदेखि पैदल यात्रामार्फत हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठकसम्म पुगेर जात्रा अवलोकन गरे। उनलाई काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले स्वागत गरेकी थिइन्।

तर, अघिल्लोपटकको जात्रामा उपस्थित भएका काठमाडौं महानगरका मेयर बालेन शाह भने यसपालि उपस्थित भएनन्। उनी भारत रहेकाले जात्रामा सहभागी नभएको बताइएको छ। 

जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउन अनुमति दिएका थिए।
 
जात्रामा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत मन्त्रीहरू, सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलगायतको उपस्थिति रहेको थियो।   

भदौ ३१, २०८१ मंगलबार २१:५६:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।