महिला डाक्टर बलात्कार-हत्या : विरोध प्रदर्शनपछि कोलकातामा भारतीय प्रहरी प्रमुख बर्खास्त

महिला डाक्टर बलात्कार-हत्या : विरोध प्रदर्शनपछि कोलकातामा भारतीय प्रहरी प्रमुख बर्खास्त

एजेन्सी : कोलकातामा भारतीय अधिकारीहरूले चिकित्सकको क्रुर बलात्कार र हत्याको विरोधमा उग्र प्रदर्शनपछि सहरका प्रहरी प्रमुख र स्वास्थ्य मन्त्रालयका शीर्ष अधिकारीलाई बर्खास्त गरेका छन्। 

अगस्ट ९ मा कोलकाताको एक सरकारी अस्पतालमा ३१ वर्षीया चिकिस्तकको रगतले लतपतिएको शव फेला परेपछि महिला विरुद्ध हिंसाको दीर्घकालीन मुद्दालाई लिएर देशव्यापी आक्रोश छ। 

हत्यापछि सम्पूर्ण भारतमा विरोध प्रदर्शनसँगै महिलाका लागि सुरक्षित स्थितिको माग गर्दै चिकित्सकहरूले बारम्बार हडताल गरेका छन्। बाँकी भारतमा धेरै विरोध प्रदर्शन र हडताल शान्त भए पनि पश्चिम बङ्गाल राज्यको राजधानी कोलकातामा नियमित प्रदर्शन जारी छ। 

पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले सोमबार राति चिकित्सकहरूसँगको बैठकपछि कोलकाता प्रहरी आयुक्त र स्वास्थ्य विभागका दुई अधिकारीलाई हटाउने घोषणा गरे। 

बैठकपछि उनले पत्रकारहरूसँग भने, 'हामी स्वास्थ्य सेवाका निर्देशक र मेडिकल कलेजका निर्देशकलाई हटाउन सहमत भयौँ।' 

जुनियर चिकित्सकहरूको मागअनुसार कोलकाताका प्रहरी आयुक्त विनीत गोयललाई पनि हटाइने छ। 

मुख्यमन्त्री बनर्जीले चिकित्सकहरूलाई काममा फर्कन आग्रह गर्दै उनीहरूको हडतालले आपत्कालीन सञ्चालन प्रभावित भएको बताइन्।  

तथापि पश्चिम बङ्गाल जुनियर डाक्टर्स फ्रन्ट विरोध समूहका प्रवक्ता अनिकेत महतोले घटनाको अनुसन्धान पूरा नभएसम्म आन्दोलन नरोकिने बताए। 

हत्याको आरोपमा एक व्यक्तिलाई हिरासतमा लिइएको छ तर, अनुसन्धानको तरिकालाई लिएर पश्चिम बङ्गाल राज्यको सरकारले सार्वजनिक आलोचनाको सामना गर्नुपरेको छ। 

'हामी केही विन्दुमा सहमत भएका छौँ तर, असहमति कायमै छ,, महतोले भने। 

पीडितलाई न्यायको माग गर्दै सोमबार हजारौँ प्रदर्शनकारीले सहरको सडकहरूमा नारा लगाउँदै जुलुस निकालेका थिए। 

हत्याको क्रुरताले ‘मुलुकको अन्तरात्मालाई आघात’ पुर्याएको भन्दै भारतको सर्वोच्च अदालतले गत महिना स्वास्थ्यकर्मीहरूको सुरक्षा कसरी सुदृढ गर्ने भनेर जाँच गर्न एक राष्ट्रिय कार्यदललाई आदेश दिएको थियो।

आक्रमणको वीभत्स प्रकृतिको तुलना सन् २०१२ मा दिल्ली बसमा एक युवतीमाथि भएको सामूहिक बलात्कार हत्यासँग गर्न थालिएको छ। 

भदौ ३१, २०८१ मंगलबार २१:२९:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।