युवाहरूसँग डराइरहेका प्रधानमन्त्री ओली
एक/दुई वर्षअघिको होइन, ५४ वर्षअघिको कुरा हो। २०२७ साल। अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली उमेरले १९ वर्ष मात्रै थिए। पहिलो पटक उनी झापाबाट गिरफ्तारीमा परे। गिरफ्तारीको कारण थियो तत्कालीन सरकार विरुद्ध गतिविधि गर्नु। त्यसपछि केपी ओली धेरै पटक पक्राउ परे।
पटक-पटक पक्राउ परेका उनी १४ वर्ष त जेल जीवन नै बिताए। युवा जोसमा सत्ताको विरोध गर्नु मात्रै हैन त्यसका लागि जीवनै दाउमा राख्नु चानचुने काम थिएन, उनले राखे। लोकतन्त्रका लागि लडेको बताउने उनै केपी ओली अहिले सत्ताधारी छन्। तर उनी तिनै युवा जोससँग डराइरहेका छन्।
धेरै पर नजाऔँ, उनको पार्टीमा उनको विरोध गर्नेलाई के गरे त्यता पनि नजाऔँ, अहिलेका दुई घटना मात्रै हेरौँ।
पहिलो घटना, गौरा पर्वको दिन काठमाडौंका केही युवाले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गरे। चर्को नाराबाजी गरे पनि शान्तिपूर्ण विरोध गरेका युवाहरूलाई प्रधानमन्त्री ओलीले थुने।
लोकतन्त्रमा सरकारको विरोधलाई सामान्य मानिने भए पनि ओलीलाई सामान्य लागिरहेको थिएन, र त उनीहरू थुनिए। सुरक्षा निकायका अधिकारीहरूका अनुसार प्रधानमन्त्री ओली लामै समय ती युवाहरूलाई थुनाउन चाहन्थे तर चर्को विरोध भएपछि सर्तसहित छोडियो।
त्यसैले त मुखले युवाहरूले देश चलाउनु पर्छ भने पनि सामान्य विरोध गर्नेलाई समेत थुन्न बाँकी राखेका छैनन्। आफैँ युवा हुँदा ज्यान दाउमा राखेर हतियार समेत उठाएका केपी ओली आज किन सामान्य नाराबाजीसँग तर्सिरहेका छन्? हिजो ज्यानको माया नै मारेका केपी ओली आज प्रधानमन्त्री पदका लागि किन मरिहत्ते गरिरहेका छन्?
तर्क रहला- ‘पञ्चायत जस्तो हो र आजको अवस्था? विरोध किन गर्नुपर्यो?’
हो ! पञ्चायत जस्तो आजको अवस्था हैन, तर सत्ताले गाउ भनेको गीत मात्रै गाउनुपर्ने, सत्ताले लेख भनेको कविता मात्रै आजको लोकतन्त्रमा पनि लेख्नु पर्ने भएपछि कसरी पञ्चायती निरंकुश सत्ता र केपी ओलीको सत्तालाइ फरक ठान्नु?
जसरी हिजो हतियार लिएर सामन्त मास्न हिँडेका केपी ओलीलाई तत्कालीन सरकारले जेल हालेको थियो, त्यसैगरी आज भ्रष्टाचारले बदनाम भएको केपी ओलीको सत्ताविरुद्ध आवाज उठाउँदा हिरासतमा राखेपछि पञ्चायत र अहिलेको अवस्था फरक मान्नु?
अहिले पनि सत्ताको गीत गाउनेलाई त स्वतन्त्रता नै छ। तर आम मान्छे, जसले सत्ताविरुद्ध सानो आवाज निकाल्छ, ऊ किन पक्राउ पर्छ?
कृष्ण सेन इच्छुकको एउटा गीतको पंक्ति छ:
‘हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा ओठहरूमा ताल्चा झुण्डाउँदै
तिमी भन्छौँ गाऔँ न गाऔँ तर यो गीत नगाऔँ
हामी भने त्यही गाइरहन्छौँ।’
पञ्चायतमा पनि पञ्चायत पक्षधरलाई ‘स्वर्ग’ थियो, जसरी अहिले दलका कार्यकर्तालाई छ। भ्रष्टाचारमा लिप्त भएका र विभिन्न यौनकाण्डको आरोप लागेका अनि गुण्डागर्दी गर्नेलाई त अहिले पनि देश ‘स्वर्ग’ नै छ। तर २८ सालको केपी ओलीको जस्तै ‘विद्रोही’पन भएकालाई ‘स्वर्ग’ छ त? किन सामान्य विरोध गरेका युवाहरू पनि पक्राउ पर्छन्? किन थुनिन्छन् हप्तौँ?
दोस्रो घटना आज इन्द्रजात्रा। विहानदेखि बसन्तपुरको सुरक्षा व्यवस्था कडा पारियो। काठमाडौं महानगरपालिका नगर प्रमुख बालेन्द्र शाहका समर्थकलाई तीन घण्टा प्रहरीले नियन्त्रणमा लियो।
बालेन शाहको तस्बिर अंकित टिसर्ट लगाएका युवाहरूलाई पक्राउ गर्नु अर्को कुनै कारण छैन। कारण हो- केही दिनदेखिको नगरप्रमुख शाहले सामाजिक सञ्जालमा निरन्तर प्रधानमन्त्री ओली विरुद्ध स्टाटस लेख्नु। आज उनकै समर्थकले बालेनको तस्बिर अंकित टिसर्ट लगाएर इन्द्र जात्रामा सहभागी हुनुको सम्बन्ध प्रष्टै देखिन्छ।
यदि बालेन शाहले लगाएको गम्भीर आरोपमा उनी संलग्न छैनन् भने त्यसको जवाफ दिनुपर्छ कि पर्दैन? हो, लोकतन्त्रमा प्रश्न उठ्नु स्वभाविक हो। लोकतन्त्रमा प्रश्न मात्रै हैन, त्यसको जवाफ दिनु पनि दायित्व हो।
बालेन शाहले प्रधानमन्त्री प्रति गरेको व्यवहार शोभनीय छैन पक्कै पनि। उनले पनि आफ्नो मर्यादा बिर्सिएर स्टाटस लेखेको देखिन्छ तर जसरी प्रधानमन्त्रीमाथि बालिका हिंसा गर्नेलाई जोगाएको आरोप छ, त्यसको जवाफ दिने कसले?
अर्को अचम्मको कुरा त, फेसबुक स्टाटससँग २७ सालको विद्रोही केपी ओली किन डराइरहेका छन् र कार्यकर्तालाई उनीविरुद्ध खरो रूपमा उत्रन निर्देश गरिरहेका छन्?
अझ अर्को आश्चर्यजनक कुरा त आफूलाई लोकतन्त्रको हिमायती भन्ने नेपाली कांग्रेसले ओलीको गतिविधि अनदेखा गरिरहेको छ। प्रधानमन्त्री ओलीको व्यवहार अनि कांग्रेसको मौनताले विरोध र प्रश्नको संकटमा पर्ने त हैन भन्ने शंका उब्जेको छ।
तस्बिर अनि बोलीमा केपी ओली नीकै युवा मैत्री देखिन्छन्। आजको कान्तिपुर दैनिकमा प्रधानमन्त्री केपी ओलीको एक लेख छापिएको छ। ‘पृथ्वी अझै तन्नेरी छ, यसको बैंश जोगाऔँ’ शिर्षकमा छापिएको आलेखको मूल अंश ‘…अहिले पृथ्वी जीवन्त छ, प्रकृतिमय छ र यौवना छ। भविष्यका सन्ततिका लागि पनि हामीले यसलाई बैंशमै प्रजनन क्षमताहीन नबनाऔँ। बैंशमै दरफरिएको, धस्रिएको, चाउरी परेको र खुम्चिएको पनि नबनाऔँ।’
पृथ्वीको लागि लेखिएको भए पनि केपी ओलीको यो लेखलाई बिम्बको रूपमा बुझ्न सकिन्छ। उनको यो धारणा पढ्दा लाग्छ- प्रधानमन्त्री केपी ओली युवामय छन्। अन्य नेताहरूको तुलनामा उनी युवा तथा बालबालिकासँग पनि देखिन्छन्। सामाजिक सञ्जालमा तस्बिर पनि राख्छन् तर जसले उनको कार्यशैली माथि प्रश्न उठाउँछ त्यसविरुद्ध उनी राज्यका स्रोतको चरम दुरुपयोग गरेर खेद्नै समेत पछि पर्दैनन्। पार्टी भित्र होस् या बाहिर मुख थुन्न अग्रसर रहन्छन्। आखिर युवासँग केपी ओली किन डराइरहेका छन्?
असोज १, २०८१ मंगलबार २१:२९:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।