दिल्लीको मुख्यमन्त्री बन्न लागेकी आतिशी, जसले क्रिश्चियन भन्दै भारतीयले निसाना बनाएपछि आफ्नो थर हटाइन्

दिल्लीको मुख्यमन्त्री बन्न लागेकी आतिशी, जसले क्रिश्चियन भन्दै भारतीयले निसाना बनाएपछि आफ्नो थर हटाइन्

एजेन्सी : आम आदमी पार्टी (आप)की नेतृ आतिशी भारतको दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै छिन्।

आपका नेता गोपाल रायले मुख्यमन्त्रीबाट अरविन्द केजरीवालले पदबाट राजीनामा दिएपछि पार्टीको विधायक दलको बैठकमा अतिशीलाई मुख्यमन्त्री बनाउने सहमति गरिएको बताए। विधायक दलको बैठकमा केजरीवाल आफैँले मुख्यमन्त्रीमा आतिशीको नाम प्रस्ताव गरेका थिए।

रायका अनुसार बैठकमा विधायकहरूले आतिशीलाई दुईवटा जिम्मेवारी दिएका छन्। पहिलो भारतीय जनता पार्टी (भाजपा)को अवरोधका बाबजुद काम जारी राख्नु र अर्को आपले प्रयोग गर्ने सबै रणनीतिबाट दिल्लीका जनतालाई बचाउनु। 

केजरीवालले गएको आइतबार दुई दिनपछि राजीनामा दिने घोषणा गरेपछि आतिशीको नाम पनि यो पदको दौडमा समावेश थियो।

उनीबाहेक राई र कैलाश गहलोतका साथै अरविन्दकी श्रीमती सुनीता केजरीवालको नाम पनि चर्चामा थियो।

तर, ४३ वर्षीया आतिशीको नाम टुंगो लगाइएको छ। आतिशी आउँदो विधानसभा निर्वाचनसम्म दिल्लीको मुख्यमन्त्री रहने छिन्।

सोमबार बसेको बैठकपछि आतिशीलाई यो दौडमा अग्रस्थानमा मानिएको थियो। केजरीवाल जेलमा रहँदा उनले सबैभन्दा धेरै मन्त्रालय र विभाग सम्हालेकी थिइन्।

उनले मनीष सिसोदिया शिक्षामन्त्री हुँदा शिक्षा क्षेत्रमा धेरै महत्त्वपूर्ण काम गरेकी थिइन्। सिसोदियाको अनुपस्थितिमा उनले शिक्षा विभाग पनि सम्हालेकी थिइन्। आतिशी केजरीवालको विश्वासपात्र मानिन्छिन् ।

जब आतिशीले आफ्नो थर हटाइन्...
आतिशीलाई आपले पहिलोपटक सन् २०१९ को लोकसभा निर्वाचनमा पूर्वी दिल्ली सिटबाट उमेदवार बनाएको थियो। त्यतिबेला उनलाई आतिशी मार्लेनाको नामले चिनिन्थ्यो। उनलाई त्यसअघि पर्दा पछाडि सक्रिय नेताहरूमा गनिन्थ्यो।

२०१९ को आमनिर्वाचनको समयमा मानिसको भीडअगाडि आतिशीको हातमा माइक देखेपछि अनुमान गरिएको थियो कि उनी चुनावी राजनीतिमा ‘आप’को एक महत्त्वपूर्ण महिला अनुहार बन्न सक्छिन्।

सोही निर्वाचनको प्रचारप्रसारका क्रममा आतिशीले पार्टीका सबै अभिलेख र चुनावी अभियानसँग सम्बन्धित कागजातबाट आफ्नो थर अर्थात् ‘मार्लेना’ हटाएकी थिइन्।

त्यति बेला भारतीय जनता पार्टीले आतिशीलाई उनको थरका कारण विदेशी र क्रिस्चियन भन्दै निसाना बनाउन थालेको थियो। तर, उनले आफ्नो परिचय प्रमाणित गर्न समय खेर फाल्न नचाहेको भन्दै थर हटाएको बताएकी थिइन्।

आतिशीका आमाबुवालाई वामपन्थी झुकाव भएको मानिन्छ। र, उनलाई कार्ल मार्क्स र भ्लादिमिर लेनिनको नामका अक्षरहरू मिलाएर ‘मार्लेना’ उपनाम दिइएको थियो।

आतिशीको उपनामको विवादबीच सिसोदिया उनको बचाउमा उत्रिएका थिए।

२०१९ को निर्वाचनमा आतिशी तेस्रो स्थानमा रहेकी थिइन्। र, गौतम गम्भीरले भाजपाको टिकटमा चुनाव जितेका थिए।

त्यसपछि आतिशीले आफ्नो एक्स ह्यान्डलबाट थर पनि हटाइन्। 

भदौ ३१, २०८१ मंगलबार २०:४६:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।