केजरीवालको राजीनामापछि दिल्लीको मुख्यमन्त्री बन्दै आतिशी

केजरीवालको राजीनामापछि दिल्लीको मुख्यमन्त्री बन्दै आतिशी

एजेन्सी : आम आदमी पार्टी (आप)का नेता गोपाल रायले जनताले अरविन्द केजरीवाललाई ‘ठूलो’ बहुमतले निर्वाचित नगरेसम्म आतिशीले दिल्लीको मुख्यमन्त्रीको जिम्मेवारी लिने बताएका छन्। 

'अरविन्द केजरीवालले राजीनामा दिने निर्णय गर्नुभएपछि आज संसदीय दलको बैठकमा आगामी निर्वाचन नभएसम्म दिल्लीको मुख्यमन्त्रीको जिम्मेवारी आतिशीले लिनुहुने निर्णय भएको छ', उनले पत्रकार सम्मेलनमा भने, 'हामी अक्टोबर–नोभेम्बरमा चाँडोभन्दा चाँडो निर्वाचन गर्न चाहन्छौं र जनताले केजरीवाललाई निर्वाचित गर्नेछन्।'

उनका अनुसार बैठकमा विधायकहरूले आतिशीलाई दुईवटा जिम्मेवारी दिएका छन्। पहिलो भारतीय जनता पार्टी (भाजपा)को अवरोधका बाबजुद काम जारी राख्नु र अर्को आपले प्रयोग गर्ने सबै रणनीतिबाट दिल्लीका जनतालाई बचाउनु। 

केजरीवालको उत्तराधिकारीका रूपमा आतिशी चयन भएपछि सञ्चारमाध्यमसँग कुरा गर्दै दिल्ली सरकारका मन्त्री कैलाश गहलोतले भने, 'सबैले आतिशीको नाममा सर्वसम्मति जनाए।'

त्यसअघि गहलोतलाई मुख्यमन्त्री पदका लागि सम्भावित उम्मेदवारका रूपमा हेरिएको थियो। 

केजरीवालले पार्टी संसदीय दलको बैठकमा आफ्नो उत्तराधिकारीका लागि आतिशीको नाम प्रस्ताव गरेका थिए। त्यस प्रस्तावलाई विधायकहरूले समर्थन गरेका थिए। 

शनिबार केजरीवालले दिल्लीका जनताले आफूलाई ‘इमान्दार’ घोषणा नगरेसम्म मुख्यमन्त्री नबन्ने भन्दै पदबाट राजीनामा दिने घोषणा गरेका थिए। जनताले पुनः निर्वाचित गरेको अवस्थामा त्यो आफ्नो इमान्दारीको ‘प्रमाणपत्र’ हुने उनको तर्क छ।

कथित दिल्ली उत्पादन शुल्क नीति घोटालासँग सम्बन्धित भ्रष्टाचार मामिलामा सर्वोच्च अदालतले जमानत दिएपछि तिहाड जेलबाट रिहा भएको दुई दिनपछि ५४ वर्षीय केजरीवालले उक्त घोषणा गरेका हुन्। 

उनले राष्ट्रिय राजधानीमा फेब्रुअरीमा हुने निर्वाचनअघि यस वर्षको नोभेम्बरमा निर्वाचन गराउन आह्वान गरेका छन्।  

भदौ ३१, २०८१ मंगलबार १९:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।