थ्रेस होल्ड पाँच प्रतिशत पुर्याउनुपर्छ, प्रदेशलाई कारबाही गर्ने अधिकार दिनुपर्छ : एमाले महासचिव

थ्रेस होल्ड पाँच प्रतिशत पुर्याउनुपर्छ, प्रदेशलाई कारबाही गर्ने अधिकार दिनुपर्छ : एमाले महासचिव

काठमाडौं : एमालेका महासचिव शंकर पोखरेलले स्थिरताका लागि समानुपातिक निर्वाचन प्रणालीमा थ्रेस होल्ड पाँच प्रतिशत पुर्याउने र राष्ट्रिय दल नभएकालाई ह्विप लगाउने अधिकार दिनुपर्ने बताएका छन्। 

मंगलबार काठमाडौंमा संविधान कार्यान्वयनको १० वर्षको अवसरमा पार्टीले गरेको कार्यक्रममा उनले अस्थिरता निम्तिनुको एउटा कारण थ्रेस होल्ड भएको पनि बताए। 

उनले ह्विप लगाउने अधिकार राष्ट्रिय पार्टीले मात्र लगाउन पाउनुपर्ने प्रणालीको आवश्यकता औंल्याए।  

'थ्रेस होल्ड कम राख्ने कुरा त्रुटिपूर्ण भयो। त्यसलाई कम्तीमा पाँच प्रतिशतसम्म पुर्याउन सक्ने हो भने अहिलेको तुलनामा पार्टीहरूको संख्या कम हुन्छ, उनले भने, 'ह्विप लगाउने अधिकार राष्ट्रिय पार्टीले मात्र पाउँछन् भन्ने ढाँचामा जाने हो भने स्थायित्वको आधार निर्माण हुँदै जान्छ।'

उनले दलीय अनुशासन कायम गर्न कारबाही गर्ने अधिकार प्रदेशसँग नभएकाले अस्थिर भएको दाबी गरे। 

'संघीयताको प्रादेशिक ढाँचामा कानुन र अभ्यास उपयुक्त नहुँदा नै अस्थिरता सिर्जना भएको छ,' उनले भने, 'प्रदेशलाई ह्विप लगाउने अधिकार त दिन्छौं। कारबाही गर्ने अधिकार छैन। कारबाही गर्ने अधिकार हुन्थ्यो भने प्रदेश बलिया हुन्थे।' 

भदौ ३१, २०८१ मंगलबार १६:४९:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।