हिन्दू मेइतेई र इसाई कुकीबीचको लडाइँपछि मणिपुरमा विद्यालय र इन्टरनेट सेवा सुरू

हिन्दू मेइतेई र इसाई कुकीबीचको लडाइँपछि मणिपुरमा विद्यालय र इन्टरनेट सेवा सुरू

एजेन्सी : जातीय हिंसा तथा प्रदर्शनकारी र प्रहरी बीचको झडपका कारण बन्द भएको एक हप्ता पछि भारतको उत्तरपूर्वी राज्य मणिपुरमा मङ्गलबार देखि विद्यालयहरू पुनः खोलिएको स्थानीय सरकारले जनाएको छ।

मणिपुरमा सन् २०२३ मे मा सुरू भएको हिन्दू मेइतेई बहुमत र इसाई कुकी समुदायबीच लडाइँका कारण कम्तीमा २०० जनाको ज्यान लिएको स्रोतले जनाएको छ। 
  
त्यही समयदेखि युद्धग्रस्त म्यानमारको सिमानामा रहेको उत्तरपूर्वी राज्यमा समुदायहरू प्रतिद्वन्द्वी समूहहरूमा विभाजित भएका छन्।

केही समयको सापेक्षिक शान्तिपछि पछिल्लो समय फेरि हिंसा बल्झिँदा कम्तीमा ११ जनाको मृत्यु भएको थियो।

मणिपुरको राजधानी इम्फालमा लडाइँको विरोधमा मेइतेई विद्यार्थीले गरेको प्रदर्शनले हिंसात्मक रुप धारण गर्दा राज्यका केही भागहरूमा कर्फ्यू र इन्टरनेट ब्ल्याकआउट जारी गर्न बाध्य तुल्यायो।  

हाल हिंसा कम भएसँगै इन्टरनेट सेवा पुनःस्थापित भएको छ भने मङ्गलबारदेखि सबै विद्यालयमा सामान्य कक्षाहरू पुन: सुरू गर्न सरकारी आदेश जारी गरिएको छ।

मणिपुरका मुख्यमन्त्री बीरेन सिंहले सबैलाई जिम्मेवारीपूर्वक इन्टरनेट प्रयोग गर्न तथा शान्ति र सद्भाव बिगार्ने कुनै सामग्री पोस्ट नगर्न आग्रह गरेका छन्। 

भदौ ३१, २०८१ मंगलबार १६:०३:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।