‘रावायण’बाट कमब्याक गर्न नसकेपछि ‘कल्ली’बाट पनि निकालिए पल

‘रावायण’बाट कमब्याक गर्न नसकेपछि ‘कल्ली’बाट पनि निकालिए पल

काठमाडौं : नाबालिग बलात्कारमा उच्च अदालतबाट निर्दोष ठहर भएर बाहिरिएपछि पल शाह अभिनित फिल्मले खासै उत्साहजनक व्यापार गर्न सकेको छैन। ‘पुजार सार्की’ले केही दर्शकलाई हलमा तानेको थियो। तर, सो फिल्ममा उनीमात्र नभएर प्रदीप खड्का र आर्यन सिग्देल पनि थिए।

उनको एकल र मुख्य भूमिका रहेको फिल्म ‘रावायण’ले धरासायी हुन लागेको करिअर उकास्ने उनको धोको थियो। तर, त्यसो हुन सकेन। हलमा लागेको पहिलो र दोस्रो दिन फाट्टफुट्ट दर्शक देखिए पनि तेस्रो दिनबाट हल शून्य झैँ भयो।

तर, फिल्मले न ‘उत्कृष्ट कमब्याक’को खोजीमा रहेको पललाई साथ दियो न त करोडौं लगानी गरेकी अभिनेती पूजा शर्मालाई। दुवैका लागि यो फिल्म ‘चौटा खान गएकी बुढी झोलमा डुबेर मरी’ भनेजस्तो भयो।

पललाई दोहोरो भूमिकामा खेलाएर रिक्स मोलेकी पूजाले समेत नमज्जाको झट्का बेहोर्नुपर्यो।  फिल्मले दुई हप्तामा हलमा चल्दा पनि वितरकलाई पैसा दिन हम्मे हम्मे पर्यो।

नाबालिग बलात्कारकै कारणले उनको फिल्म बहिस्कारको अभियान समेत चलेको सुन्न पाइयो। देखिने गरी नाराबाजी र प्रदर्शन नभए पनि हलमा दर्शक नगाएको देख्दा ‘बहिस्कार नै पो हो कि’ जस्तो पनि देखियो।

यस्तै आरोपका बीच यसैबीच फिल्मवृत्तमा ‘कल्ली’बाट पललाई निकालिएको चर्चा ‘टक अफ दि टाउन’ बनेको छ। यद्यपि निर्माण पक्षले यसबारे आधिकारिक धारणा बाहिर ल्याइसकेको छैन।

‘रावायण’ चल्नुअघि ‘कल्ली’मा अनुबन्ध भएका थिए पल। तर ‘रावायण’ले हलमा पानी समेत भन्न नपाएपछि ‘कल्ली’का निर्माताले उनको स्थानमा सौगात मल्ललाई अनुबन्धित गरिसकेका छन्। फिल्ममा बेनिशा हमाल उनको जोडी हुनेछिन्।

यसैबीच पलले अभिनय गरेको अर्को फिल्म ‘मायावी’ले प्रदर्शन मिति सारेको छ। कात्तिक १५ गते प्रदर्शन मिति तोकेर प्रचारलाई तीव्रता दिन लागेको बेला पल अभिनित ‘रावायण’को प्रतिक्रियापछि फिल्मको प्रदर्शन मिति पुस २७ गते पुर्याइएको छ।

‘पुजार सार्की’ चलेपछि उनलाई ‘रावायण’मा अनुबन्ध गरिएको थियो। उनको फ्यान फलोइन्को अपेक्षा गर्दै निर्माण टिमले अनुबन्ध गरेको थियो। अनमोल केसीले यो फिल्म नखेल्ने भन्दै बाहिरिएपछि रन्थनिएको टिमले पललाई अनुबन्ध गरेको थियो।

लक्ष्मण सुनारको लेखन तथा निर्देशन रहेको ‘कल्ली’मा महेश दवाडीको पटकथा तथा संवाद छ। चैत २९ लाई प्रदर्शन मिति तोकिएको फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन्। फिल्म रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा बन्न लागेको हो।

भदौ ३१, २०८१ मंगलबार १५:०४:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।