रवि लामिछाने काँक्रो चोर होइन, चोरेको काँक्रोको एक टुक्रा खाएका मात्र हुन् : शिशिर खनाल

रवि लामिछाने काँक्रो चोर होइन, चोरेको काँक्रोको एक टुक्रा खाएका मात्र हुन् : शिशिर खनाल

काठमाडौं : सहकारी संस्था रकम दुरुपयोग सम्बन्धी छानबिन गर्न बनेको विशेष समितिका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् शिशिर खनालले पार्टी सभापति रवि लामिछानेले चोरेर ल्याएको काँक्रोको एक टुक्रा खाएको बताएका छन्।

मंगलबारबाट काठमाडौंमा जारी पार्टीको दुई दिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै खनालले भेलामा सहभागी प्रतिनिधिलाई बुझाउनका लागि काँक्रो चोरेको कथा भनेका हुन्।

सुरुमा सभापति लामिछालेलाई काँक्रो चोरको आरोप लगाइए पनि उनले साथीले चोरेर ल्याएको काँक्रोको एक टुक्रा खाएको उनले बताएका हुन्।

उनले भने, ‘सुरुमा काँक्रो चोरेको आरोप लगाइयो। यो समितिले छानविन गर्दा के भेट्टायो भने काँक्रो चोर त हैन रैछ रवि लामिछाने। अर्कै मान्छे रहेछ यदि हो भने पनि। रवि लामिछानेले काँक्रो चोरेको प्रमाण भेटिएन।’

उनले अगाडि थपे, ‘लास्टमा अब के भनियो भने साथीले चोरेर ल्याएको काँक्रोको एक टुक्रा तेरो मुखमा रहेछ। त्यो नै एकदम ठूलो अपराध हो, कारबाहीको हिस्सेदार हुनुपर्छ भनेजसरी भाष्य निर्माण गरिएको छ।’

राज्यको सम्पूर्ण शक्ति रवि लामिछानेले सहकारीको पैसा लगेको छ कि छैन भनेर पत्ता लगाउन प्रयोग  भएको भन्दै उनल त्यसरी गरिएको छानबिनमा पनि सहकारी ठगी गरेको प्रमाण नभेटिएको उनको भनाइ छ।

नेता खनालले भने, ‘व्यापक संयन्त्रहरू परिचालन गर्दा पनि रवि लामिछानेले सहकारीबाट पैसा लगेको देखिएन। जुन मुख्य आरोप लगाइएको थियो सहकारी ठग, सहकारी ठग भनेर, त्यो आधार पुष्टि गर्न हामीसँग प्रमाण छैन भनेर हिजो समितिले बुझाएको प्रतिवेदनमा उल्लेख छ।’

‘सहकारीको रकम रवि लामिछानेको अकाउन्टमा गएको छ कि छैन?, रवि लामिछानेले सहकारीबाट रकम लिएका छन् कि छैनन्?, ल्याउने कुरामा योजना बनाएका थिए कि थिएनन्? ती सबैकुराबाट स्पष्ट रुपमा समितिले यी कुरामा संलग्न देखिएन, प्रमाणै पुगेन भन्यो’, उनले थपे।

सहाकारीको रकम अपचलन गरेको आरोपबाट पाटी सभापति लामिछानेले उन्मुक्ति पाइसकेको भन्दै उनले कम्पनी ऐन अनुसार पनि कारबाही गर्ने अवस्था नरहेको भन्दै पार्टी कार्यतालाई ढुक्क हुन आग्रह गरे।

उनले अगाडि भने, ‘मिडिया कम्पनीले स्टुडियो बनाएको, क्यामेरा किनेको, माइक्रोफोन किनेको र कर्मचारीलाई तलब दिनु कम्पनीको उदेश्य अन्तर्गत नै पर्छ। जुन उदेश्य राखेर कम्पनीेले खोलिएको छ, त्यो उदेश्य पूर्तिका लागि गरिएको खर्चमा कसैलाई पनि कानून लाग्दैन। यदि लाग्ने हो भने यो देशका सबै कम्पनी सञ्चालकहरू जेलमा हुन्छन्।’

उनले सहकारी ठगी प्रकरणमा सभापति निर्दोष रहेको भन्दै पार्टी कार्यकर्ताहरुलाई आश्वस्त हुन आग्रह गरे।

भदौ ३१, २०८१ मंगलबार १२:३०:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।