‘सहकारी ठगीको मुख्य आरोपमा मलाई सफाइ दिएको कुरा स्वीकार्न किन गाह्रो भएको?’

‘सहकारी ठगीको मुख्य आरोपमा मलाई सफाइ दिएको कुरा स्वीकार्न किन गाह्रो भएको?’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदीय छानबिन समितिको प्रतिवेदनले आफूलाई सहकारी ठगीको मुख्य आरोपबाट सफाइ दिएको बताएका छन्।

पार्टीको आजबाट सुरू भएको राष्ट्रिय भेलामा बोल्दै लामिछानेले समितिको प्रतिवेदनले आफूलाई सहकारी ठगीको आरोपबाट सफाइ दिएको मुख्य निचोडलाई छायाँमा पारेर भ्रमपूर्ण प्रचार भइरहेको बताएका हुन्।

‘समितिको प्रतिवेदनले स्पष्ट भन्यो कि त्यो किसिमको क्रियाकलापमा रवि लामिछानेको संलग्नता छैन। तर, भ्रमको खेती गर्नेहरूलाई त्यो स्पष्टतासँग भनेको कुरासँग सरोकार छैन। यति कुरा स्वीकार गर्न किन गाह्रो भएको हो?’, उनले प्रश्न गरे।

आफूलाई जित र हारको परवाह नभएको दाबी गर्दै उनले आफूमाथि निरन्तर प्रहार भइरहे पनि ढल्ने छुट नभएको बताएका छन्। रास्वपाको क्रेज सकियो भन्ने कुरा आफूलाई पनि हो जस्तो लागेको भन्दै उनले यो यात्रा सहज नभएको बताए।

उनले भने, ‘हामीलाई पनि हो कि हो कि जस्तो लागेको अवस्थामा छौँ। यो यात्रा सुरू गर्दा नै सजिलो थिएन। सजिलो थियो भने जसले पनि गर्थ्यो। यो मोडसम्म आइपुग्दा ओहो, खस्कियो ढल्यो, पहिलेजस्तो छैन भन्ने भाष्य सिर्जना गर्न खोजिएको छ।’

नयाँ दल र त्यसका नयाँ नेताले मन्त्री भएर काम गर्न थालेपछि रातारात दुई दलहरू मिलेको आरोप लगाउँदै उनले अब रास्वपा सकिने नभएर रास्वपाले सक्क्याउने बताए।

७९ को निर्वाचन ८४ को निम्तोकार्ड भएको भन्दै लडाईं त बल्ल सुरू भएको बताए।

‘कयौं साथीहरू हारेको जस्तो गर्नुहुन्छ। म भन्छु कसले भन्यो हार्यो भनेर? साथी हो हामीले युद्ध लडेकै छैनौँ। ७० को चुनाव त ८४ को निम्तो कार्ड हो। लडाईं त बल्ल सुरू हुँदैछ।’

भदौ ३१, २०८१ मंगलबार ११:५०:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।