११औं राष्ट्रिय परिवार योजना दिवस सप्ताहव्यापी रूपमा मनाइँदै

११औं राष्ट्रिय परिवार योजना दिवस सप्ताहव्यापी रूपमा मनाइँदै

काठमाडौं : ‘सुसूचित छनौट सहितको परिवार योजना सेवा : प्रजनन् स्वास्थ्य अधिकार प्राप्तिमा टेवा’ भन्ने मूल नाराका साथ सप्ताहव्यापी रूपमा ११औं राष्ट्रिय परिवार योजना दिवस देशभरि मनाइँदैछ।

यस अवसरमा, परिवार योजना सेवाको महत्त्व र व्यक्तिको स्वैच्छिक अधिकारको स्वरूपलाई विशेष गरी प्रस्तुत गर्ने लक्ष्य राखिएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जनाएको छ।

परिवार योजना सेवा प्रत्येक व्यक्तिको आधारभुत प्रजनन स्वास्थ्य अधिकार हो। नेपालको संविधान, सुरक्षित तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ र जनस्वास्थ्य सेवा ऐन, २०७५ ले प्रत्येक नागरिकलाई सुरक्षित र गुणस्तरीय परिवार योजना सेवाको सूचना, छनौट तथा परिवार नियोजन सेवाको पहुँच सुनिश्चित गरेको छ।

कसैलाई करकाप गरी वा धम्कि दिई वा ललाई फकाई वा प्रलोभनमा पारी वा मञ्जुरी नलिई बलपूर्वक गर्भनिरोधक साधनको प्रयोग गराउन हुँदैन र यदि त्यसो गरेमा सजाय र कसुरको समेत व्यवस्था गरिएको छ।

सुसूचित छनौटले सेवाग्राहीलाई सही, भरपर्दो र पहुँचयोग्य जानकारी उपलब्ध गराइ उनीहरूलाई आफ्नो जीवनका हरेक चरणमा उपयुक्त निर्णय लिन सक्षम बनाउँदछ। यसका लागि सेवाग्राहीहरूलाई पर्याप्त जानकारी र परामर्श दिने व्यवस्था हुनु अनिवार्य छ।

विभिन्न अध्ययन अनुसार परिवार योजना सेवाले मातृ तथा नवजात शिशु मृत्यु दर घटाउन, गर्भनिरोधक साधनको प्रयोग दर बढाउन, असुरक्षित गर्भपतन घटाउन, किशोरकिशोरी स्वास्थ्य प्रबर्धनमा, महिला सशक्तिकरण, जनसंख्या व्यवस्थापन र समग्र विकासका लागि महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।

नेपालमा परिवार योजना सेवाहरूको सर्वव्यापी पहुँच र उपलब्धताको लागि विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्। ग्रामीण क्षेत्रका आधारभुत स्वास्थ्य संस्थादेखी संघीय अस्पतालहरू सम्म कम्तिमा पाँचवटा गर्भनिरोधक साधन उपलब्धता र विशेषज्ञ सहितका अस्पतालबाट थप स्थायी बन्ध्याकरण सेवाहरु उपलब्ध हुँदै आएका छन्।

समुदायमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले पनि परिवार योजना सेवा सम्बन्धी परामर्श र केही साधनहरू उपलब्ध गराउँदै आएका छन्। परिवार योजना सेवा लागत कार्यान्वयन योजना २०१५-२०२१ मा गर्भनिरोधक साधनहरुको विकल्पहरू समेत बृद्धि गर्ने भनि उल्लेख भए अनुसार हाल तीन वर्षे ईम्प्लान्ट, सायनाप्रेस, जस्ता नयाँ गर्भनिरोधक साधनहरू समेत उपलब्ध छन्।

भदौ ३१, २०८१ मंगलबार १०:४३:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।