टेकु अस्पतालमा ह्वात्तै बढे ज्वरो, रुघाखोकी र डेंगु संक्रमित बिरामी, सजग रहन चिकित्सकको सुझाव

टेकु अस्पतालमा ह्वात्तै बढे ज्वरो, रुघाखोकी र डेंगु संक्रमित बिरामी, सजग रहन चिकित्सकको सुझाव

काठमाडौं : दुई हप्तायता काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ज्वरो तथा रुघाखोकी र डेंगु संक्रमित बिरामीको चाप ह्वात्तै बढेको छ।

अस्पतालको जनरल वार्ड र क्याबिनमा विशेषगरी ज्वरो तथा रुघाखोकी, डेंगु संक्रमित बिरामीले भरिएको टेकु अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले जानकारी दिए। त्यसैगरी सर्पले टोकेको बिरामीको संख्या पनि बढेको उनले बताए।

आइतबार २४ घण्टामा टेकु अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि पुगेका ६० जनामध्ये २२ जना ज्वरो तथा रुघाखोकीका, १२ जना डेंगु, १० जना सर्पले टोकेका बिरामी र अन्य विभिन्न समस्या भएका बिरामी रहेको निर्देशक डा. बसौलाले जानकारी दिए।

आइतबार अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका आठ जनामध्ये अधिकांशमा ज्वरो तथा रुघाखोकी, निमोनिया, डेंगुको समस्या भएको अस्पतालले जनाएको छ।

टेकु अस्पतालको ४० बेड जनरल वार्डमध्ये ३४ बेड भरिएका छन्। त्यसैगरी २० बेड आकस्मिक कक्ष, १५ बेड क्याबिनमा पनि संक्रमित  छन्। २८ बेड आईसीयूमध्ये ६ जना ज्वरो तथा रुघाखोकी, डेंगु र सर्पले टोकेका बिरामी उपचाररत रहेको डा. बसौलाले जानकारी दिए।

उनका अनुसार टेकु अस्पतालमा सोमबार १२ जना डेंगु संक्रमितको उपचार भइरहेको छ। उपचारका लागि दैनिक १०/१५ जना संक्रमित आकस्मिक कक्षमा पुग्ने गरेका छन्। जसमध्ये तीन/चार जना दैनिक भर्ना गर्नुपर्ने अवस्थाका हुन्छन्।

मौसमी ज्वरो तथा रुघाखोकी लागेर अस्पताल पुगेका बिरामीको स्वास्थ्य परीक्षण गर्दा भाइरल इन्फ्लुइन्जा पनि बढेको देखिएको अस्पतालका निर्देशक डा. बसौलाले बताए।

‘अस्पतालमा इन्फ्लुइन्जा परीक्षण गरिएकामध्ये हप्तामा ५/६ जना बिरामीमा इन्फ्लुइन्जा पोजेटिभ भेटिन्छ,’ उनले भने।

अस्पतालमा भर्ना भएका डेंगु संक्रमितहरू सामान्यतया एक हप्तामा डिस्चार्ज हुने गरेका छन्। सन् २०२४ जनवरीदेखि सोमबारसम्ममा एक सय ६९ जना डेंगु सक्रिमितको टेकु अस्पतालमा उपचार भएको छ।

यो वर्ष डेंगुकै कारण अस्पतालमा कसैको पनि मृत्यु नभएको निर्देशक डा. बसौलाले जानकारी दिए।

मौसमी परिवर्तनसँगै रुघाखोकी
टेकु अस्पतालका क्निकल रिसर्च युनिटका संयोजक डा. शेर बहादुर पुन पनि केही दिनयता रुघा, खोकी, ज्वरो तथा स्वासप्रश्वासको समस्या जस्ता लक्षण लिएर अस्पताल पुग्ने विरामीको चाप बढेको बताउँछन्।

‘डेंगुको संक्रमण त छँदैछ। मौसमी परिवर्तनसँगै मौसमी रुघाखोकी तथा इन्फ्लुइन्जा(फ्लु)को लक्षण लिएर अस्पताल आउने विरामीको संख्या पनि बढेको देखिन्छ’, उनी भन्छन्।

मौसमी परिवर्तनसँगै देखिने इन्फ्लुइन्जाको संक्रमण नेपालमा प्रत्येक वर्ष देखिने गरेको छ। डा. पुनका अनुसार सामान्यतः नेपालमा जाडो मौसम सकिने बित्तिकै मार्च (फागुन-चैत) र अगस्ट (साउन-भदौ)मा इन्फ्लुइन्जा संक्रमणको जोखिम बढी नै देखिने गरेको छ।

गर्मी मौसमको सुरुआत अनि मनसुनको मध्यतिर मौसमी इन्फ्लुइन्जाको संक्रमण बढी देखिने डा. पुनको भनाइ छ।

अध्ययन अनुसार नेपालमा माघ महिनाको अन्यदेखि वैशाख (जनवरीदेखि अप्रिल) महिनासम्म इन्फ्लुइन्जाको परिक्षण गराउनेको व्यक्तिको संख्या उच्च विन्दुमा पुग्ने गरेको देखिन्छ।

त्यसैगरी असारदेखि भदौ (जुलाई देखि सेप्टेम्बर) महिनासम्मको मौसममा पनि इन्फ्लुइन्जाको जोखिम उच्च हुन्छ। नेपालमा असारदेखि भदौसम्म मनसुन र वर्षाद् हुने मौसम हो।

ज्यानै जाने जोखिम 
चिकित्सकका अनुसार ‘इन्फ्लुइन्जा’ एक किसिमको भाइरस हो। इन्फ्लुइन्जालाई ‘फ्लु’ समेत भनिन्छ। इन्फ्लुइन्जा ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार किसिमका हुन्छन्। जसमध्ये इन्फ्लुइन्जा ‘ए’, ‘बी’, ‘सी’ ले व्यक्तिमा संक्रमण गर्छन्। ‘ए’ र ‘बी’ इन्फ्लुइन्जा कडा किसिमका हुन्छन्। त्यसैले मौसमी परिवर्तनसँगै यस्ता इन्फ्लुइन्जाको जोखिम बढ्छ।

इन्फ्लुइन्जा ‘बी’को तुलनामा ‘ए’ विश्वव्यापी रूपमा फैलिने जोखिम बढी हुने डा. पुन बताउँछन्। डा. पुनका अनुसार ‘सी’ इन्फ्लुइन्जाले भने खासै कडा रूप लिएको पाइँदैन।

इन्फ्लुइन्जा ‘ए’ भाइरसको स्वरूपसमेत छिटो-छिटो परिवर्तन भैरहने भएकाले व्यक्तिमा इन्फ्लुइन्जा ‘ए’ संक्रमण भएको खण्डमा बेलैमा सहि उपचार नपाउँदा मृत्युको जोखिम बढी हुने डा. पुन बताउँछन्।

उनका अनुसार नेपालमा इन्फ्लुइन्जा ‘ए’ अन्तर्गतका ‘एच वान एन वान पीडिएम-०९’ र ‘एच थ्रि एन टु’ भाइरस इन्फ्लुइन्जा देखिन्छन्। ‘एच वान एन वान पीडिएम-०९’ लाई स्वाइन फ्लु र ‘एच थ्रि एन टु’ लाई हङकङ फ्लुका नामले चिनिन्छ।

सामान्यतः मौसमी परिवर्तनसँगै  ‘इन्फ्लुन्जा ए-पिडिएम ०९’को संक्रमण देखिने गरेको डा. पुन बताउँछन्। चिकित्सकका अनुसार इन्फ्लुन्जा ‘ए’ अन्तर्गतको ‘एचफाइफ एन वान’को जोखिम समेत रहन्छ, जुन वर्डफ्लु हो। यसका कारण समेत नेपाल एक जनाको मृत्यु भएको छ।

रुघा, खोकी, तथा ज्वरो आएको खण्डमा स्वास्थ्य परीक्षण गर्न डा. पुनको सुझाव छ। मौसमी फ्लुको संक्रमणले श्वासप्रश्वासमा समस्या निम्तनुका साथै निमोनिया भएर ज्यानै जान सक्नेतर्फ उनी सजग गराउँछन्।

इन्फ्लुइन्जा संक्रमितमध्ये करिव दुई प्रतिशत बिरामीको मृत्युको जोखिम हुने डा. पुनले बताए। इन्फ्लुइन्जाको संक्रमण भएको खण्डमा शरीरका अंगले काम गर्न नसक्दा व्यक्तिको मृत्यु हुन्छ।

दीर्घ रोग, कुनै किसिमको रोगको औषधि सेवन गरिरहेका तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा संक्रमणको असरको जोखिम बढी हुन्छ।

विशेषगरी पाको उमेर र पाँच वर्ष भन्दा कम उमेर समूहका बालबालिकामा मौसमी इन्फ्लुइन्जाले छिटो आक्रमण गर्ने जोखिम हुन्छ। त्यसैले यस्ता उमेर समूहका व्यक्ति विशेष सतर्क हुनुपर्छ।

दम, श्वासप्रश्वासजस्ता छातीजन्य रोगसँग सम्बन्धित व्यक्तिमा इन्फ्लुइन्जाको संक्रमणको सम्भावना बढी हुने भएकाले यस्तो समस्या भएका व्यक्ति विशेष सतर्क रहनुपर्ने हुन्छ।

लक्षण अनुसारको उपचार विधि
चिकित्सकका अनुसार मौसमी ‘इन्फ्लुन्जा’(फ्लु) र डेंगुको लक्षण करिव उस्तै हुने भएकाले लक्षणका आधारमा  फ्लु र डेगुमध्ये के हो? भनेर छुट्याउन समेत कठिन हुन्छ। तर, स्वास्थ्य परीक्षणपछि भने निर्क्योल गर्न सकिन्छ।

रुघा, खोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, छाती दुख्ने, पातलो दिसा हुनेजस्ता लक्षण मौसमी इन्फ्लुइन्जाका हुँदा देखिन्छ। यसका अलावा शरीरका मांशपेशी तथा हाडजोर्नी दुख्ने, टाउको दुख्ने, नाक बन्द हुने, घाँटी ख्याप्प बस्ने, आँखाका गेडी दुख्नेजस्ता पनि इन्फ्लुइन्जाका लक्षण हुन्।

सामान्यतया इन्फ्लुइन्जाको संक्रमण भएको अवस्थामा सुरुवाती लक्षणको रुपमा रुघा लागेपछि संक्रमण कडा बन्दै गएको अवस्थामा श्वासप्रश्वासमा समस्या बढ्दै जाने जोखिम हुन्छ।

त्यसैगरी अत्यधिक ज्वरो आउने, शरीर दुख्ने, बान्ता हुने, झाडापखाला लाग्ने, शरीर कमजोर हुने, वाकवाकी लाग्ने जस्ता डेंगु सङ्क्रमणका मुख्य लक्षण हुन्।

मौसमी ‘इन्फ्लुइन्जा’(फ्लु)को संक्रमण भएको अवस्थामा विशेष औषधि नभए पनि लक्षणको आधारमा विरामीको उपचार गरिन्छ। मौसमी इन्फ्लुइन्जाको संक्रमण कडा भएको अवस्थामा ‘ओसेलटेमिभिर’ नामक औषधि प्रयोग गरिने डा. पुन बताउँछन्।

यो ‘एन्टिभाइरल’ औषधि भएकाले यसको प्रयोगले इन्फ्लुइन्जा भाइरसको संक्रमणको जटिलता निम्तन नदिन र यसबाट बच्न सकिने उनले बताए। त्यसैगरी डेंगुको लक्षणको आधारमा नै उपचार विधि अपनाइन्छ।

चिकित्सकको मत अनुसार सामान्यतया व्यक्तिमा मौसमी इन्फ्लुइन्जाको संक्रमण भएको एक हप्तादेखि दश दिनसम्ममा आफैं ठिक हुन्छ। दश दिनसम्म पनि रुघा, खोकी तथा ज्वरो कम नभएको अवस्थामा इन्फ्लुइन्जा भाइरसको संक्रमण फैलिएर व्यक्तिको ज्यानै जानसक्नेतर्फ डा. पुन सजग गराउँछन्।

मौसमी इन्फ्लुन्जाबाट बच्नका लागि धेरै भिडभाड भएको ठाउँमा जान नहुने चिकित्सकको सुझाव छ। पटक-पटक नाक तथा आँखामा हात नलान र यसको जोखिमबाट बच्न मास्क लगाएर हिँडडुल गर्न चिकित्सकको सुझाव छ।

पशुपक्षीबाट समेत इन्फ्लुइन्जाको संक्रमणको जोखिम बढी हुने भएकाले जनावर तथा पशुपक्षीलाई छोएपछि राम्रोसँग हात मुख धोएर मात्रै खानपान गर्नु पर्नेहुन्छ। हाँस, कुखुरा तथा बंगुर लगायत पशुपक्षीले हाछ्युँ गर्दा पनि टाढा रहन डा. पुनको सुझाव छ।

इन्फ्लुइन्जाबाट बच्नका लागि राम्रोसँग साबुन-पानीले हात धुनै पर्यो। मासु राम्रोसँग पकाएर मात्रै खानुपर्छ। सरसफाइमा ध्यान दिनुका साथै ज्वरो तथा रुघा, खोकी लागेको समयमा प्रशस्त मात्रामा झोलिलो तथा पोषिलो गेडागुडीको रस खान खानुपर्छ।

मौसमी इन्फ्लुइन्जा(फ्लु)बाट बच्नका लागि इन्फ्लुइन्जा विरुद्धको खोप लगाउन सकिन्छ। खोपको प्रयोगले रोग प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले वर्षमा एक पटक फ्लु विरुद्धको खोप लगाउन सकिने डा. पुन बताउँछन्। खोपको प्रयोगले करिब ६० प्रतिशत इन्फ्लुइन्जाको जोखिमबाट बच्न सकिन्छ।

त्यसैगरी संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको भाइरस हो, डेंगु। एडिस जातको पोथी लामखुट्टेले डेंगु संक्रमित व्यक्तिलाई टोकेर अर्को स्वस्थ व्यक्तिलाई टोकेको खण्डमा डेंगु सर्नसक्छ।

लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगु सङ्क्रमणबाट बच्ने मुख्य उपाय हो। त्यसैले झुल लगाएर सुत्ने र पूरा शरीर ढाक्ने गरी कपडा लगाउनुपर्छ।

१६ डिग्रीभन्दा बढी तापक्रम लामखुट्टेको लागि उचित वातावरण हो। नेपालमा चिसो मौसम सुरु भएसँगै डेंगु सङ्क्रमण कम हुँदै जाने भएपनि पछिल्ला वर्षहरूमा बाह्रै महिनाजसो डेंगुको संक्रमण देखिन थालेको छ।

असोज १, २०८१ मंगलबार १०:२८:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।