चौकुनेमा कर्णालीकै पहिलो मानव निर्मित ताल बन्दै, लागत ४२ करोड
चौकुने : सुर्खेतको पश्चिम क्षेत्रमा पर्ने चौकुने गाउँपालिका-७ जम्ल्यामुलमा कर्णाली प्रदेशकै पहिलो मानव निर्मित ताल बन्दैछ।
१ सय २० रोपनी क्षेत्रफलमा बन्ने तालबाट तीन सय ३० हेक्टरमा लिफ्ट मार्फत सिंचाइ गरिनेछ। तालमा माछा पालनसँगै पर्यटकीय रूपमा पनि सञ्चालन गरिने चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले जानकारी दिए।
‘हामीले यो आयोजनालाई बहुउद्देश्यीय गौरवको आयोजनाका रुपमा लिएका छौँ। जसबाट सिंचाइ, माछापालन र पर्यटनमा टेवा पुग्नेछ,’ अध्यक्ष विकले भने, ‘संघीय सरकार, प्रदेश र स्थानीय सरकारको संयुक्त लागतमा ताल निर्माण गरिरहेका छौँ।’
आर्थिक वर्ष ०८२/०८३ मा काम सम्पन्न गर्नेगरी निर्माण थालिएको उक्त तालको कुल लागत ४२ करोड लाग्ने अनुमान गरिएको छ। पलिकाले ‘जम्ल्यामुल ताल संरक्षण तथा व्यवस्थापन बहुउद्देश्यीय सहकारी’ मार्फत काम भइरहेको छ।
सहकारी मार्फत प्रति कित्ता एक सय रुपैयाँका दरले स्थानीय नागरिकले शेयर खरिद प्रक्रिया समेत चलेको छ। गत साल संघीय सरकारले दिएको १० करोड रुपैयाँबाट चेक ड्याम, पोखरी, इनार लगायतका कामहरू भएका छन्।
यो वर्ष प्रदेश सरकारको पर्यटन वन तथा वातावरण मन्त्रालयले १७ करोड रुपैयाँ विनियोजन गरेको छ। ४० रोपनी जग्गाको मुआब्जा दिनका लागि स्थानीयबाटै शेयर खरिद प्रक्रिया अगाडि बढाएको वडा नम्बर ७ का वडाअध्यक्ष धनिराम धमलाले बताए।
‘हालसम्म ३० प्रतिशत काम सम्पन्न भइसकेको छ। ४० रोपनी जग्गा र २५ घरधुरीलाई मुआब्जाका लागि करिब दुई करोड रुपैयाँ आवश्यक पर्ने भएकोले सहकारी मार्फत शेयर खरिद चलाएका छौँ,’ वडा अध्यक्ष धमलाले भने, ‘यो कर्णालीकै पहिलो मानव निर्मित ताल हो। चौकुनेको वडा नम्बर ६, ७ र ८ का ११ सय घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछन्। पालिका भरिकाले शेयर खरिद गर्न सक्नेछन्।’
ताल बनेपछि गाउँको मुहार फेरिने आशा पलाएको स्थानीय छविलाल सुनारले दाबी गरे।
‘पहिलादेखि नै जम्ल्यामुल एक ऐतिहासिक ठाउँ हो। तर, त्यसको उचित व्यवस्थापन हुन सकेको थिएन,’ उनले भने, ‘अब ताल बनेपछि पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्नेछ। त्यस्तै स्थानीयले समेत त्यसमा रोजगारीका अवसरहरू पाउनेछन्।’
उनका अनुसार साउने खोला र भेरी लाग्ने खोलाको मिलन एकै ठाउँमा हुने भएकोले उक्त ठाउँको नाम जम्ल्यामुल राखिएको हो।
मध्यपश्चिम विश्वविद्यालयको विज्ञान प्रविधि स्कुलका डिन एवं जलवायु विज्ञ सुदीप ठकुरीले वातावरण जोगाउनका लागि यस्ता खालका तालले सकरात्मक प्रभाव पार्ने बताए।
‘पानी सबैका लागि आवश्यक पर्छ। त्यसको भण्डारणले बोटविरुवा, जिवजन्तु र मानवमा प्रत्यक्ष प्रभाव पार्दछ। नेपालमा पानी सञ्चित गर्ने विषय कम मात्रामा गरिन्छ। तर यो आवश्यक छ,’ उनले भने, ‘यस्ता खालका साना-साना बाँधले जलवायुमा असर नभएर सहयोग नै पुग्छ।’
असोज १, २०८१ मंगलबार ०७:५६:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।