विश्वकप लिग-२ : क्यानडासँग नेपाल १०३ रनले पराजित, ब्याटिङ ध्वस्त हुँदा करणले बनाए सर्वाधिक २७ रन

विश्वकप लिग-२ : क्यानडासँग नेपाल १०३ रनले पराजित, ब्याटिङ ध्वस्त हुँदा करणले बनाए सर्वाधिक २७ रन

काठमाडौं : आईसीसी विश्वकप लिग-२ क्रिकेटमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको छ। एक दिवसीय क्रिकेटमा नेपाल क्यानाडासँग पहिलो पटक पराजित भएको हो।

किंग सिटी मैदानमा घरेलु टोली क्यानडा टस हारेर पहिला ब्याटिङमा तानिएको थियो। उसले निर्धारित ओभरमा ८ विकेट गुमाएर २५३ रन बनायो।

सुरुवात राम्रो नगरे पनि क्यानडाले मिडिल अर्डर र अत्यमा सम्हालिएको प्रदर्शन गरेको थियो। क्यानडाका कप्तान निकोलश किर्तनले ४४ बलमा ७३ रनको आक्रामक पारि खेले। नटआउट रहेका उनले ६ छक्का र ३ चौका प्रहार गरे।

यसैगरी नभनित धालिवालले ४८ रन बनाउँदा डेलिन हेलिगेरले ३० रन जोडे। यसैगरी हर्ष ठाकरले २७ रन बनाएका थिए।

नेपालका सोमपाल कामी र ललित राजवंशीले दुई-दुई विकेट लिए। यसैगरी सन्दीप लामिछाने, गुलसन झा र रोहित पौडेलले एक-एक विकेट लिए।

२५४ रनको लक्ष्यसहित मैदान उत्रिएको नेपाली टिमको ब्याटिङ अर्डर ध्वस्त हुँदा ४०.१ ओभरमा सबै विकेट गुमाएर १५० रनमा समेटियो।

नेपालका करण केसीले सर्वाधिक २७ रन बनाउँदा सन्दीप लामिछानेले २२ रन बनाए। यसैगरी आशिफ शेखले २० रन जोडदा भीम सार्कीले १८ रनको योगदान गरे। गुलसन झाले १५ र कुशल मल्ल १२ रनमा आउट भए।

ओपनर कुशल भुर्तेल १ रनमा आउट हुँदा कप्तान रोहित पौडेलले ५ रन जोडे। यसैगरी दीपेन्द्रसिंह ऐरीले ८ तथा सोमपाल कामीले ६ रन बनाउँदा ललित राजवंशी २३ बल खेल्दै खाता नखोली नटआउट रहे।

नेपालको ब्याटिङ ध्वस्त बनाउँदा डेलिन हेलिगरले १० ओभरमा ३१ रन खर्चिएर ५ विकेट लिए। यस्तै, अखिल कुमार र अन्स पटेलले दुई दुई विकेट लिँदा साद बिन जाफरले एक विकेट लिए।

विश्वकप छनोटमा नेपालसहित ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन्। जितपछि क्यानडा अहिले ९ खेल खेल्दा ५ मा जित र ४ खेलमा हारसहित १० अंक बनाएर दोस्रो स्थानमा उक्लिएको छ।

यता नेपाल भने ५ खेल खल्दा ४ मा हार र १ मा जितका साथ २ अंक बनाएर तालिकाको पुच्छारबाट दोस्रो स्थानमा छ।

भदौ ३१, २०८१ मंगलबार ०७:२५:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।