१० वर्षदेखि इन्द्रजात्राको रथ सिंगारिरहेका सुरज, जो छनोट चरण पार गरेर पनि फौजमा गएनन्

इन्द्र जात्राको तयारीमा बसन्तपुरमा कुमारी, गणेश र भैरवको रथ सिंगारिरहेका थिए दोलखाका ३७ वर्षीय सुरज बुढाथोकी।
१० वर्ष भयो उनले इन्द्र जात्राका लागि रथ सिंगार्न थालेको। घरबाट आफू जान नमिल्ने बेला अरुलाई पठाएर भए पनि आफ्नो प्रतिनिधित्व गराउँछन्।
वर्षमा एक पटक बसन्तपुरमा रथ सिंगार्न आउने उनी अरु समयमा पसलमा काम गर्छन्। ग्राहकलाई सामान देखाउनु र अर्डर भएका सामान पुर्याउनु उनको दैनिकी हो।
इन्द्रजात्राका लागि भनेपछि साहुले छुट्टी दिन आनाकानी नगर्ने रहेछन्। रथ सिंगारेको एक हजार रुपैयाँ पाउँदा रहेछन् उनी।
‘रथ सिंगार्न जाने भनेपछि साहूले केही भन्दैनन्। आफ्नै परिवार जस्तो भएका छौँ’, उनले थपे।
‘माओवादी आन्दोलनले काठमाडौं ल्यायो’
सुरजको बाल्यकाल गाउँमै बित्यो। विद्यालयमा पढ्दै गर्दा एक दिन माओवादीमा लाग्नका लागि मान्छे छानियो। त्यसमा उनी पनि परे। तीन दिनसम्म त उनले तालिम पनि लिए तर चौथो दिनमा भने उनी भागे।
‘माओवादीले स्कुलका सबै विद्यार्थीहरूलाई चार÷पाँच दिन हिडाइसकेका थिए। अनी त्यहीँबाट भागेको म लगायतका साथीहरू। धेरैलाई लगे क्यार त्यो बेला तर हामी चाँही भागेर बाच्यौँ। व्याग पनि स्कुलमै छोडेर उनी काठमाडौं भागे’, उनले विगत सम्झिदै भने।
२०५७ सालमा काठमाडौं आउँदा उनी मात्र १४ वर्षका थिए। घरमा बस्ने वातावरण नभएपछि बुवाआमाले नै उनलाई काठमाडौं जान सुझाए। यहाँ गाउँकै काकाले उनलाई होटलमा काम लगाइदिए
‘जैसी देवकलको होटलमा भाडा माझ्ने र जुठो सोहोर्ने काम गरेँ चार महिना,’ उनले अगाडि भने, ‘त्यो बेलाको तलब छ सय रुपैयाँ थियो।’
होटलको काम छाडेपछि ज्यामी काम गर्न थाले। ज्यालादारी दिनको ६० रुपैयाँ। ज्यामी कामलाई नै उनले १८ वर्षसम्म निरन्तरता दिए। पछि वालुवाको ठेक्का समेत लिन थाले।
बीचमा आर्मीमा पनि छिर्न खोजे। छनोटका सबै चरण पार गरिसकेका थिए। तर, संकटकालको बेला भएकाले बुवाले रोकिदिए।
‘चान्स पाएर पनि आर्मीमा गइनँ। म मात्रै भएको भए जान्थेँ पनि होला तर बुवाले गुनासो गर्नुभयो अनि नगएको। संकटमा पनि जागिर खाएको भए मेरो अहिले पेन्सन हुन्थ्यो’, उनले स्मरण गरे।
अहिले काठमाडौंमा संघर्ष गरिरहेका सुरजका दुई छोरा छन्। उनी आफूले जस्तै आफ्ना छोराहरुले पढ्न नपाउन् भन्ने चाहँदैनन्, त्यसैले दुवैलाई चाहेजति पढाउनुपर्छ भनेर लागेका छन्।
‘संकटकालले गर्दा मैले पढ्न पाइनँ। अहिले छोराहरुलाई पढाउनकै लागि काठमाडौं बसेका छौँ।’
‘भूकम्पपछि परिवार छाड्न मन लागेन’
दई छोरा, आमाबुवा र श्रीमतीसहितको परिवार धान्नका लागि सुरजले आफ्नो जीवनका केही वर्ष खाडीमा पनि बिताए।
गाउँबाट अधिकांश युवा विदेशिएका बेला उनी पनि मलेसिया हानिए। त्यहाँको पेपर काट्ने मेसिनमा तीन वर्ष काम गरेर २०७२ मा स्वदेश फर्किए।
उनले भने, ‘चौरभन्दा ठूलो मेसिन हुन्थ्यो। त्यसले पेपर काट्थ्यो। त्यसमा झुक्किएर हात वा औंला पर्यो भने सबै काट्थ्यो। मेसिन चलाउन निकै डर थियो। त्यही डरले पनि धेरै बस्न सकिनँ।’
खाडीका देश जानु भनेको आफ्नै पैसाले आफैँ बेचिनुजस्तै लाग्छ उनलाई। त्यहाँ कमाइ हुने पैसा नेपालमा कमाइ हुने पैसामा धेरै घटबट नहुने उनको भनाइ छ।
‘नेपाल र उताको कमाइ उस्तै थियो। आफ्नो पैसाले आफैँ बेचिएर जानु पर्ने। यता परिवार थियो। पैसा भएपो मन भुलाउनु, पैसा पनि थिएन। अनि बस्न पनि मन लागेन।’
नेपाल आएपछि उनलाई विदेश जाउँ जस्तो नै भएनछ। भूकम्पका कारण बुवा बितेपछि उनलाई परिवार छाड्न मन लागेन।
‘२०७२ को भूकम्पमा परेर बुवा बित्नुभयो। घर पनि बनाउन पर्यो अनि विदेश जानै मन लागेन,’ उनले थपे, ‘त्यसपछि काठमाडौं आएर पसलमा काम गर्न थालेको।’
अहिले पसलमै काम गरेरै उनले छोराहरू पढाएका छन्। विदेशमा भन्दा नेपालमै स्वतन्त्र लाग्ने रहेछ सुरजलाई। त्यहि भएर पनि देश छाड्न मन नलागेको रे!
उनले भने, ‘आफ्नो स्वतन्त्र बाँचेको मान्छेले अब बाहिर अरुको खटनमा बाच्न अलि गाह्रो। उनीहरुको तार्गेट हुन्छ, टाइम हुन्छ। अब हाम्रोमा त आज छुट्टी बस्छु भन्दा पाइयो नि त।’
उनी अरुलाई विदेश जानुको साटो स्वदेशमै काम गर्न सुझाव दिन्छन्।
‘अब ५०/६० हजार नै पैसा कमाउन विदेश जानु पर्दैन, नेपालमै छ।’
भदौ ३१, २०८१ सोमबार २३:३०:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।