नुवाकोटमा मन्दिर दर्शनअघि नुहाउन गएकी ७२ वर्षीया वृद्धा बगेर बेपत्ता

नुवाकोटमा मन्दिर दर्शनअघि नुहाउन गएकी ७२ वर्षीया वृद्धा बगेर बेपत्ता

त्रिशूली : नुवाकोटको दुप्चेश्वर गाँउपालिका-६ मा अवस्थित प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरको दर्शन गर्नुपूर्व स्नानको क्रममा आज खोलाले बगाउँदा एक जना तीर्थयात्री बेपत्ता भएका छन्।

मन्दिर परिसरमा रहेको सूर्यमति (तादी) खोलामा स्नानको क्रममा सूर्यगढी गाँउपालिका-३ स्थायी ठेगाना भएर हाल काठमाडौं बस्ने हिमकुमारी अधिकारीलाई आज खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए।

उनका अनुसार परिवारको साथमा मन्दिर दर्शनको लागि आउनुभएका ७२ वर्षीय अधिकारीलाई स्नानको क्रममा खोलाले बगाएपछि खोजी कार्य भइरहेको छ।

खोलाले बगाए लगत्तै थालिएको उद्धार र खोजतलास जारी रहेको छ।

उनको अवस्था अपराह्नसम्म पत्ता लाग्न नसकेको सूर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले जानकारी दिए।

बाढीका कारण खोलाको बहाव ठूलो भएको र पानी धमिलो भएकाले खोजतलासमा समस्या भएको सुरक्षा अधिकारीहरूले बताएका छन्।

भदौ ३०, २०८१ सोमबार २०:०६:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।