लुम्बिनी प्रदेश सभाबाट निजामती सेवा ऐन संशोधन विधेयक पारित, अधिवेशन पनि अन्त्य

लुम्बिनी प्रदेश सभाबाट निजामती सेवा ऐन संशोधन विधेयक पारित, अधिवेशन पनि अन्त्य

दाङ : लुम्बिनी प्रदेश निजामती सेवा ऐन, २०८० लाई संसोधन गर्न बनेको विधेयक पारित भएको छ।

प्रदेश सभाको साेमबार बसेकाे बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले पेश गरेको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।

प्रदेश सभाको गत शुक्रबार बसेको बैठकमा पेश भएको संशोधन विधेकमा ५ वटा संशोधन परेका थिए।

परेका संशोधनलाई शुक्रबारै बसेको दोस्रो बैठकले प्रदेश मामिला तथा कानून समितिमा छलफलका लागि पठाउने निर्णय गरेको थियो।

समिति सभापति दिल कुमारी बुढाको संयोजकत्वमा रहेको समितिले दफावार छलफल पछि प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको प्रतिवेदन सहितको विधेयक प्रदेशसभाको आज बसेको पहिलो बैठकमा पेश गरेका थिए।

२०८० असारको २२ गते प्रदेश सभामा पेश भएको प्रदेश निजामती कर्मचारी विधेयक भदौ २२ गते प्रदेश सभाबाट पारित भएको थियो। यो विधेयकलाई प्रदेश प्रमुखले मंसिर २१ गते प्रमाणीकरण गरेका थिए।

यसैबीच लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशन अन्त्यका लागि लुम्बिनी प्रदेश सरकारले प्रदेश प्रमुखलाई सिफारिस गरेको छ। लुम्बिनी प्रदेश सरकारको आज बसेको बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

लुम्बिनी प्रदेशसभाको वर्षे अधिवेशनमा ३५ वटा बैठक बसे भने प्रदेशसभाबाट स्थानीय सेवा विधेयक, विपद व्यवस्थापन विधेयक, प्रदेश निजामती कर्मचारी संशोधन विधेयक र आर्थिक वर्ष २०८१/०८२ को बजेट खर्च गर्नका लागि बनेको विनियोजन विधेयक पारित गरेको छ।

भदौ ३०, २०८१ सोमबार १८:४२:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।