चीनको सांघाईमा ७५ वर्षयताकै भीषण आँधी

चीनको सांघाईमा ७५ वर्षयताकै भीषण आँधी

एजेन्सी : ‘बाबिन्का’ आँधी सोमबार चीनको सांघाईको तटीय क्षेत्रमा पुगेको छ।

चीनको सरकारी सञ्चारमाध्यमले यो सांघाईमा विगत ७५ वर्षमा आएको सबैभन्दा खराब आँधी भएको बताएको छ।

यस आँधीका कारण सांघाईका हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

चीनको मौसम विभागले सोमबार बिहान साढे सात बजे (स्थानीय समय) सांघाईको तटीय क्षेत्र लिङ्गाङमा आँधी बेबिंका आएको जनाएको छ।

सावधानीका रूपमा आइतबार साँझ नै महानगरीय क्षेत्रबाट चार लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको स्थानीय अधिकारीहरूले बताएका छन्।

यसबाहेक चोङमिङ जिल्लाबाट पनि नौ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। चोङमिङ यांग्त्जे नदीको मुखमा अवस्थित एउटा टापु हो र यो सांघाईको एक भाग हो।

यस आँधीका कारण चीनमा सयौं उडानहरू पनि रद्द भएका छन्। यसबाहेक राजमार्ग पनि बन्द गरिएको छ।

भदौ ३०, २०८१ सोमबार १७:५१:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।