अर्थतन्त्र सुधार हुँदै गएको अर्थमन्त्रीको दाबी

अर्थतन्त्र सुधार हुँदै गएको अर्थमन्त्रीको दाबी

बुटवल : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधार हुँदै गएको दाबी गरेका छन्। वर्तमान सरकार बनेसँगै नागरिकमा आशाको सञ्चार भएको बताउँदै उनले अर्थतन्त्र सुधार हुँदै गएको दाबी गरेका हुन्।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७१औं वार्षिक साधारण सभालाई सोमबार बुटवलमा सम्बोधन गर्दै मन्त्री पौडेलले राजश्व परिचालन, पुँजीगत खर्च लगायतका आर्थिक ईण्डिकेटरहरु सकारात्मक देखिएको बताए।

मुलुकमा स्थिर सरकार नहुँदा विकास र समृद्धिमा चुनौती देखिएको बताउँदै स्थिरता, विकास र समृद्धिको लागि संसदका दुई ठूला दलहरु काँग्रेस र एमाले एक ठाउँमा आएको बताए।

उनले दुई दल बिचको सत्ता सहकार्यले आम नागरिकमा आशाको सञ्चार गरेको पनि भनाइ राखे। स्थिरता, विकास, सुशासन, समृद्धिको अभिभारा सहित बनेको यो सरकार संसदको बाँकी अवधिको पुरा कार्यकाल जाने पनि दावी गरे।

उनले बुटवल पूर्वपश्चिम र उत्तर दक्षिणको समेत ट्रान्जिक्ट भएकाले राम्रो सम्भावना रहेको दावी गरे। उनले यहाँका उद्योगी व्यवसायीलाई तत्कालै केही भएन भनेर मन साँघुरो नबनाउन समेत आग्रह गरे।

मन्त्री पौडेलले राष्ट्रिय अभिभार पूरा गर्न र आफू निर्वाचित भएको क्षेत्रको विकास र समृद्धिका लागि समेत आफू प्रतिवद्ध रहेको बताउँदै निर्माणाधिन बुटवल–नारायणगढ सडक चाडो पूरा हुने विश्वास व्यक्त गरे।

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकको सिद्धबाबामा निर्माण हुँदै गरेको सुरुङमार्ग छिटै ब्रेक थ्रु हुने बताउँदै उनले पूर्वपश्चिम राजमार्गको तिनाउमा सिग्नेचर ब्रिज, बुटवल-दाङ सडकको स्तरोन्नति, बुटवलको चौराहा गोलपार्क सडकको निर्माण पुरा हुँदा बुटवलको रौनक बढ्ने बताए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले लगानीका हिसावले सात प्रदेश मध्ये लुम्बिनी प्रदेशमा सबैभन्दा बढी सम्भावना रहेको बताए । उनले मुलुकमा नीतिगत स्थायित्व नभएका कारण लगानीकर्तामा कन्फिडेन्स विल्डप नभएको पनि बताए।

सरकार र नीजि क्षेत्रको सहकार्यमा भएका लगानी सम्मेलनपछि लगानी डिस्करेज गरेका आठवटा कानुन सुधार भएको बताउँदै उनले लगानी निरुत्साहित गरेका अझै धेरै कानुन सुधार गर्न आवश्यक रहेकाले त्यसमा ध्यान दिन पनि मन्त्री पौडेललाई आग्रह गरे।

भदौ ३०, २०८१ सोमबार १७:०७:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।