शाम्भाला : सुस्त गतिमा समाज बुझाउने मध्यम फिल्म
फिल्म ‘कालोपोथी’बाट व्यावसायिक निर्देशकहरूको भिडमा अलग भूमिका बनाउने प्रयास गरेका निर्देशक मिनबहादुर भामका फिल्मले पहिला विश्वबजार घुम्छन् अनि नेपाल भित्रन्छन्।
हिमाली भेगको बहुपति प्रथा र त्यसले महिलामा पार्ने प्रभावलाई विषयवस्तु बनाएर नेपाली हलमा भित्रिएका छन् भाम अहिले। बहुपति प्रथा कुनै समय रहस्मय झैँ थियो नेपालीमाझ नै। तर, कथा, समाचार अनि डकुमेन्ट्रीले यसलाई हिमाली भेग बाहिर भिजाइसकेको बेलामा उनी त्यही कथा फिल्ममा बोकेर आए।
केही हिमाली भेगका चेलीहरू आफूले मन पराएको र चाहेकोसँग नभई परिवारका सबै दाजुभाइको एकल पत्नी भएर बस्न बाध्य हुने गरेका थिए। घरको जेठोले विवाह गरेपछि जति दाजुभाइ छन्, ती सबैको श्रीमती हुनुपर्ने प्रचलन र त्यसले पेमा(तेन्जिन दल्ह)मा पार्ने प्रभावकै वरिपरी घुमेको फिल्म हो- ‘शाम्भाला’।
हिन्दु धर्मशास्त्रमा विष्णुले कल्कीको अवतार लिने ठाउँ शाम्भाला भनेझैँ भामले बौद्ध धर्मअनुसार अन्तिम बुद्ध जन्मिने ठाउँ पनि शाम्भाला हो भनेर फिल्मको अर्थ बुझाउने प्रयास गरेका छन्।
गर्भवती भएकी पेमाले सपनामा सूर्यको किरण गर्भमा प्रवेश गरेको देखेकी छन्। त्यो किरण उनको शरीरभरी फैलिएपछिको अवस्थालाई निर्देशकले शाम्भाला हो भनेर प्रष्ट्याउने कोशिस गरेका छन्। कथा अनुसार नाम सार्थक लाग्छ।
तीन दाजुभाइमा जेठो टासीसँग विवाह बन्धनमा बाँधिएकी छिन् पेमा। माइलो कर्म र कान्छो दावाका बीच पनि प्रेम गर्नुपर्ने बाध्यता पेमामा छ। तर, उनी टासीलाई अत्यधिक माया गर्छिन्। विवाहको रात उनैसँग बिताएपछि उनको गर्भ रहन्छ। सोही समयमा ल्हासा हिँडेका टासी अन्तत: फर्कँदैनन्।
अन्न, बाली र अन्य जे-जे फलेको छ, त्यसबाट राम्रो आम्दानी हुने भनेर गाउँमा चिठी आएपछि ल्हासा हिँडेको टासी नफर्कनु, माइला कर्म गुम्बामा बस्नु र कान्छो दावा छोरो समान सानै हुनुले उब्जाएको समस्या फिल्मको मूल कथा हो। फिल्ममा उनी कुनै पनि कुरामा अतालिएकी छैनन्।
कथासार
श्रीमती पेमालाई छिट्टै फर्किन्छु भनेर याकमा सामान लिन ल्हासा पुगेर एक महिनापछि फर्कँदै गरेको टासी श्रीमती गाउँकै स्कुलका शिक्षक राम सरसँग सल्किएको खबर पाएपछि बेपत्ता हुन्छन्।
असाध्यै माया गरेको श्रीमान् (टासी) गाउँलेको कुरा सुनेपछि नफर्किएपछि साचो कुरा बताउनु छ भन्दै उनकै खोजीमा पेमा निस्किन्छिन्। उनलले टासीलाई खोज्न निस्केपछि भोग्नुपरेको कष्टकर समयलाई फिल्मको पर्दामा उतारिएको छ। उनी टासीलाई खोज्दा-खोज्दै उनलाई नभेटिकनै यात्रामै कथालाई निर्देशकले मोडेका छन्।
सबल पक्ष
नेपालमा समुदायमा बसोबास गर्दै आएको मानिसहरूमा जोसँगै विवाह गर्यो उसकै श्रीमती हुन्छन्। तर, हिमाली भेगमा बस्ने शेर्पा समुदायमा बहुपति प्रथामा जति दाजुभाइ छन्, ती सबैसँग कसरी एउटी नारीले घर बसाउँछिन् भन्ने कुरालाई निर्देशक भामले सरल तरिकाले फिल्ममा देखाएका छन्।
टिबेटियन भाषाको फिल्म भएता पनि नेपाली र अंग्रेजी बुझ्ने दर्शकका लागि सबटाइटल राखिएको छ। यो फिल्मको राम्रो पक्ष हो। फिल्ममा राखिएका म्युजिकले कथालाई डोर्याइरहेका छन्। फिल्मको गति हलिउड, बलिउड तथा नेपाली फिल्म जस्तो गतिमा भने बगेको छैन।
हेरिरहेको फिल्म भन्दा फरक भएकाले नेपाली ‘कमर्सियल’ र बलिउड फर्मुलाका दर्शकलाई यो फिल्म निकै स्लो लाग्नसक्छ। किनभने धिमा गतिमा फिल्म बगेको छ। फिल्मको आफ्नै कथ्यशैली छ। निर्देशकले चाहेको खण्डमा फुत्त-फुत्त पात्र पुर्याएका छन्।
दुर्बल पक्ष
यो फिल्मको निकै ठाउँमा निर्देशकले दर्शक अलमल्याएका छन्। पेमा श्रीमान् खोज्न हिँडेको लामो समयसम्म गन्तव्यमा पुग्दिनन्। उनी कहाँ पुगेको हो भन्ने कुरालाई निर्देशकले प्रष्ट्याउन सकेका छैनन्।
जस्तो कि- घोडा लिएर हिँडेकी पेमालाई पटक-पटक गाउँलेहरूले बाटोमा भेट्छन्। उनी भन्दा अघि तिनीहरू कसरी पुगे भन्ने कुरा बुझ्न सकिँदैन।
पेमासँगै हिँडेको नाम्खा (घोडा) हिउँमा मरिरहेको भेटिएको छ। तर, त्यो छिनभरमै कसरी हिउँमा मरेको भेटिन्छ। तर, त्यो कसरी हिउँमा पुरियो भन्ने कुरा नखोल्दा दर्शक अलमलमा पर्छन्।
मनमा खड्किएको अर्को कुरा के हो भने पेमा यति धेरै आत्मविश्वासी र दृढ छिन्। हरेक कुराको सामना गर्न उनी तयार छिन्। आफूमाथि समाज नै खनिँदा पनि दृढ उनी टासीका लागि यसरी किन अत्तालिरहेकी छन्, निर्देशकले प्रष्ट पार्न सकेका छैनन्।
एकासी काठमाडौंबाट गएका राम सर(कर्मा)सँग उनी कसरी नजिक भइन् भन्ने कुरालाई निर्देशकले खुलाउन सकेका छैनन्।
फिल्मका पात्र
यो फिल्ममा सबै कलाकारहरूले राम्रो भूमिका निर्वाह गरेका छन्। पेमाको भूमिका निर्वाह गरेकी तेन्जिन दल्ह कर्मको भूमिका निर्वाह गरेकी छन्। टासी (तेन्जिन दल्ह), कर्मा (सोनाम तोप्देन) र दावा (कर्म वाङ्याल गुरुङ)को अभिनय गजबको छ।
राम सरको भूमिकामा रहेका कर्मा शाक्यको अभिनय भने त्यति अभिनयमा खुलेको छैन। कर्मा बाहेक अन्य कलाकार व्यावसायिक होइनन्। उनीहरू स्थानीय कलाकार हुन्। यो फिल्ममा व्यावसायिक कलाकार नभए पनि अभिनयमा उनीले कुनै बाँकी राखेका छैनन्। सबै पात्रहरूलाई निर्देशक भामले मज्जाले स्कृनप्ले गराउन सफल भएका छन्।
फिल्मलाई छायांकारले पात्र र दृश्यलाई मजाले खुलाएका छन्। छायांकनमा निकै मेहनत गरेको देखिन्छ। यो ‘साम्बाला’को सबैभन्दा राम्रो पक्ष भन्दा फरक नपर्ला। किनभने कतिपय यो फिल्ममा भाषा भन्दा पनि दृश्य बोलिरहेका छन्। नेपाली दर्शकले भाषा नबुझे पनि दृश्यमार्फत बुझाउन निर्देशक लागि परेका छन्।
अधिकांंश दृश्यहरु हिमालकै वरपर खिचिएका छन्। अनि खोला खाल्सा र गुम्बा छन्। तिनीहरूले दर्शकलाई बेला-बेलामा फरक टेष्ट दिन सकेका छन्। फिल्ममा संगीत पनि झर्कोलाग्दो छैन। विस्तारै बगेका दृश्यलाई फिल्मको ब्याकग्राउन्ड म्युजिकले बलियो बनाएको छ। फिल्मको कलर र लाइटले दर्शकका आँखा बिझाउँदैन्।
अन्त्यमा यो फिल्म नेपालमा बनिरहेका फिल्म हेर्ने दर्शकका लागि उत्कृष्ट नलाग्न सक्छ। त्यस्तै दक्षिण भारतीय फिल्म हेरेका दर्शकलाई पनि नराम्रो लाग्नसक्ने सिनेमा हो। तर फिल्म बुझ्ने दर्शकका लागि उत्कृष्ट फिल्म हो- शाम्भाला। निर्देशक भामले कथालाई साँढे दुई घण्टा पर्दामा उतारे पनि दर्शकलाई बोर लाग्दैन।
भदौ ३१, २०८१ सोमबार १५:२४:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।