कंक्रिटको थुप्रोले कुरूप बनाउँदैछ लुम्बिनीका ऐतिहासिक सम्पदा, मौलिकता गुम्ने डर

कंक्रिटको थुप्रोले कुरूप बनाउँदैछ लुम्बिनीका ऐतिहासिक सम्पदा, मौलिकता गुम्ने डर

बुटवल : बढ्दो आधुनिकताका कारण लुम्बिनीका ऐतिहासिक सम्पदा स्थलहरू कंक्रिटमय बन्न थालेका छन्। सुन्दरताका नाममा यस्ता कंक्रिटका संरचना बनाउँदा यसले ऐतिहासिक महत्वको पहिचान गुम्ने डर छ।

ऐतिहासिक एवं पुरातात्त्विक सम्पदाहरूको संरक्षण र प्रबर्द्धनका नाममा अनावश्यक कंक्रिटका संरचना थुपार्दै जाँदा यसले सम्पदाको महत्व घटाउने इतिहासविद्को चिन्ता छ।

‘हामीले मौलिकता, पहिचान, ऐतिहासिकता जोगाएर संरचना तयार पार्नुपर्छ। तर, यहाँ हेर्नलाई राम्रो देखाउन हचुवाका भरमा जथाभावी संरचना बनाइँदैछ,’ बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक एवं इतिहासविद् प्राडा सूर्य जिसीले भने।

ऐतिहासिक सम्पदा तथा प्राचीन सम्पदा जोगाउने नाममा भएका कंक्रिटका संरचनालाई प्राथमिकतामा राख्न नहुने उनको तर्क छ। 

उनले प्राचीन स्मारकहरूको मौलिकतालाई खलल नपर्ने गरी कृतिमता नल्याउने गरी काम हुनुपर्ने र त्यसका लागि पुरातत्व विभाग र स्थानीय सरकारले चासो लिनुपर्ने बताए।

‘यदि आवश्यक नै हो भने पूर्वाधार बनाउँदा विशेषज्ञको सहयोग लिएर गर्नुपर्छ। यदि हामीले अनावश्यक संरचना थुपार्दै जाने हो भने यसले भएको सौन्दर्यता र ऐतिहासिक महत्वलाई गुमनाम बनाउँछ,’ उनले भने।

अनावश्यक कंक्रिटका संरचना र आधुनिकताका नाममा पूर्वाधार बनाउनेमा सबैभन्दा अगाडि गौतम बुद्धको जन्मस्थल लुम्बिनी छ।
 
विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनीमा गुरुयोजना विपरीतका संरचना बनाएपछि युनेस्कोले लुम्बिनीलाई विश्व सम्पदा सूचीबाट हटाउन सक्ने भन्दै पत्र नै काटेको थियो। तर, भारतको नयाँ दिल्लीमा गत जुलाई २१ देखि ३१ सम्म आयोजना भएको युनेस्को वर्ल्ड हेरिटेज कमिटीको ४६औं सेसनले लुम्बिनीलाई तुरुन्तै खतराको सूचीमा नराख्ने निर्णय त लियो तर, खतरामुक्त घोषणा गरेन।
 
लुम्बिनीलाई हेर्ने स्वायत्त निकाय लुम्बिनी विकास कोष छ। त्यही कोषले गरेका अक्षम्य गल्तीका कारण लुम्बिनी विश्व सम्पदा सूचीबाट हट्न यसपटक भने बचेको छ। तर, ६ महिनासम्म पनि सुधारका उपाय नअपनाए यो अक्षम्य गल्तीको सजाय लुम्बिनीले भोग्ने जानकारहरूको चिन्ता छ। 

युनेस्को वर्ल्ड हेरिटेज कमिटीको निर्णयअनुसार लुम्बिनी बिकास कोष र सरकारलाई केही समयका लागि राहत मिलेपनि यसको सुधारमा लाग्नुको विकल्प कोषसँग छैन। लुम्बिनीमा गुरुयोजना विपरीतका गतिविधि र सम्पदामैत्री काम नगर्दा युनेस्कोले लुम्बिनीलाई २०२४ मा खतराको सूचीमा राख्ने मस्यौदा तयार गरेको थियो। 

लुम्बिनीमा भइरहेको क्रंक्रिटमैत्री काम र जथाभावी विकास निर्माणले चुनौती बढ्दै गएको इतिहासविद् डा. केसी बताउँछन्।

'कंक्रिट ठडाएर ऐतिहासिकता झल्कँदैन'
लुम्बिनी विकास कोषका गरिष्ठ निर्देशक ज्ञानीन राईले युनेस्को वर्ल्ड हेरिटेज कमिटीको बैठकमा आएका सुझावका आधारमा लुम्बिनीमा सुधार र संरक्षणको प्रयास थालिएको बताए।

लुम्बिनी मात्र हैन, सुन्दर बनाउने र वीरतालाई झल्काइरहने बाहानमा ऐतिहासिक सम्पदा बुटवलको जितगढीमा पनि अनावश्यक कंक्रिटका संरचना निर्माण गरिएको छ। कंक्रिट संरचना निर्माण भएपछि तत्कालीन अंग्रेज साम्राज्यलाई परास्त गरेको जितगढी किल्ला कुरूप बनेको छ। त्यहाँ देखिने कंक्रिटका संरचना उदेकलाग्दो छ।

तिनाउ नदि किनारमा रहेको ऐतिहासिक सम्पदामा बुटवल उपमहानगरपालिकाले संरक्षण गर्ने भन्दै कंक्रिटका संरचना निर्माण गरेको हो। 

संस्कृतविद् निर्मल श्रेष्ठले जीतगढी किल्लामा कंक्रिट संरचना बनाउनु हुँदैन भनेर सुझाव दिएपनि त्यसलाई सबैले वेवास्ता गरेको बताए। कंक्रिट संरचना बनाउँदै जाने हो भने त्यो पछि जंगल बन्ने र त्यसको पहिचाननै मेटिने सक्ने उनको भनाई छ।

युद्धमार्फत आफ्नो साम्राज्य विस्तार गर्दै हिँडेको इष्ट इण्डिया कम्पनीसँग वि.स. १८७१ देखि ७२ सम्म भएको युद्धमा नेपाली सेनाले जितगढी क्षेत्रबाट विजय हासिल गरी अंग्रेज फौजलाई फिर्ता पठाएको इतिहास छ। यही ऐतिहासिक ठाउँको अहिले जनप्रतिनिधि आएपछि संरक्षणको पहल भने सुरू गरिएको थियो। 

तर, आकर्षक र सुन्दर बनाउने भन्दै जितगढीकै अस्तित्वमा असर गर्ने संरचना तयारहुँदा यसको ऐतिहासिकता, मौलिकता नबच्ने हो कि भन्ने चिन्ता बढेको छ।

‘कंक्रिट ठडाएर ऐतिहासिकता झल्कँदैन। यसबारे सरोकारवालालाई सचेत बनाउन पर्छ’ संस्कृत विद् श्रेष्ठले भने।

बुटवलको मणिमुकुन्द सेन उद्यान पनि ऐतिहासिक स्थल छ। राजा मणिमुकुन्दले राज गरेको भग्नावशेष दरबार यही छ। दरबारलाई संरक्षणका लागि तारबार गरेपनि पार्कमा नाममा त्यस वरपर कंक्रिटका संरचना बनाइएको छ।

कंक्रिटले जमिन रिचार्जसमेत हुन पाउँदैन
बुटवलमा पछिल्लो समय एक पछि अर्को गर्दै ऐतिहासिक स्थलहरू पार्क बन्दैछन्। यसैक्रममा मणिमुकुन्द सेन उद्यान (फुलबारी)को अधिकांश क्षेत्र ढलान गरिएको छ। कतै ढुंगाले छोपिएको छ।

जबाफमा मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका अध्यक्ष माधव नेपालले केही आवश्यक संरचना तयार गर्नुको विकल्प नभएरै कंक्रिटका संरचना बनाएको बताए।

‘अब फुलबारीभित्र कंक्रिटका संरचना नबनाउने निर्णय नै गरेका छौं। अबको हाम्रो प्राथमिकता भनेको पार्क हराभरा र सौन्दर्य बनाउने हो,’ उनले भने।

उनले पार्कमा पनि आतिथ्य हुनुपर्छ भन्ने अवधारणा अनुसार अघि बढेको बताए। 

उता, शंकरनगर बन विहार तथा अनुसन्धान केन्द्रमा पनि कंक्रिटकै संरचनाले भरिँदैछ। त्यहाँ त भ्यूटावर नै बनाइएको छ। करोडौं खर्च गरेर निर्माण गरिएको भ्यूटावर अझै सञ्चालनमा आएको छैन।

पार्क क्षेत्रमा घुम्नका लागि ब्लक बिछ्याइएको छ। 

‘हामीले जमिन रिचार्ज होस भनेर नै यो काम गरेका हौँ’ शंकरनगर बन विहार तथा अनुसन्धान केन्द्रका उपाध्यक्ष खिमलाल पाण्डेले भने।

उनले पार्कमा ट्रस निर्माणका लागि थुप्रै आवेदन आएपनि कंक्रिटका संरचनामा जोड नदिने भएकाले अस्वीकार गरेको बताए।

‘पार्कलाई कसरी सौन्दर्यकरण गर्ने भन्नेमा हाम्रो ध्यान छ। अनावश्यक पूर्वाधारका संरचनामा नबनाउने योजनामा छौं’ उनले भने।

उनले प्रवेश द्वारबाट करिब ४ सय मिटर मुख्य सडकमा ५३ लाख खर्च गरेर ब्लक राखेको भन्दै खर्च महंगो भएपनि प्राकृतिक सौन्दर्यता र वातावरण प्रभावलाई ध्यानमा राखेको दाबी गरे। 

भदौ ३०, २०८१ सोमबार १२:५३:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।