जापानमा वृद्धवृद्धाको सङ्ख्या ३ करोड ६२ लाख नाघ्यो, हरेक सातमा एक जना रोजगार

जापानमा वृद्धवृद्धाको सङ्ख्या ३ करोड ६२ लाख नाघ्यो, हरेक सातमा एक जना रोजगार

एजेन्सी : जापानमा यसवर्ष ६५ वर्षभन्दा बढी उमेर समूहका व्यक्तिको सङ्ख्या तीन करोड ६२ लाख ५० हजार पुगेको सरकारी तथ्याङ्कले देखाएको छ।

जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार जापानको कूल जनसङ्ख्याको २९.३ प्रतिशत वृद्धवृद्धा छन्।

विश्वका २०० देश र एक लाखभन्दा बढी जनसङ्ख्या भएका क्षेत्रको सूचीमा ज्येष्ठ नागरिकको अनुपातका आधारमा जापान शीर्ष स्थानमा रहेको मन्त्रालयले जनाएको छ।

इटाली, पोर्चुगल, ग्रीस, फिनल्याण्ड, जर्मनी र क्रोएसियाले युरोपको प्रतिनिधित्व गर्दै शीर्ष १० मा २० प्रतिशतभन्दा बढी वृद्धवृद्धाको जनसङ्ख्या दर भएका मुलुकका रूपमा प्रतिनिधित्व गरेका छन्।

दक्षिण कोरिया १९.३ प्रतिशत र चीन १४.७ प्रतिशत वृद्धवृद्धाको जनसङ्ख्या रहेको छ।

जापानले बढ्दो जनसङ्ख्या सङ्कटको सामना गरिरहेको छ। बढ्दो वृद्ध जनसङ्ख्याले चिकित्सा र कल्याणकारी लागत बढाउनुकासाथै यसको लागि भुक्तानी गर्न श्रम शक्ति घट्दै जान्छ।

जापानको सरकारी तथ्याङ्कअनुसार देशको कुल जनसङ्ख्या पाँच लाख ९५ हजारले घटेर १२ करोड ४० लाखमा झरेको छ।

तथ्याङ्कअनुसार सन् २०२३ मा जापानमा ९१ लाख ४० हजार वृद्धवृद्धाले कुनै न कुनै रोजगारी पाएका छन्। उनीहरूले कुल श्रम शक्तिको १३.५ प्रतिशत प्रतिनिधित्व गर्छन्। अर्थात् हरेक सातमा एक जना रोजगार कर्मचारीको प्रतिनिधित्व गर्छन्।

जापान सरकारले आफ्नो जनसङ्ख्याको ह्रास र वृद्धवृद्धाको जनसङ्ख्यालाई सन्तुलनमा राख्ने प्रयासस्वरूप विभिन्न योजनाहरू सार्वजनिक गरेको भएपनि यसले सार्थकता पाउन सकेको छैन। 

भदौ ३०, २०८१ सोमबार १२:३२:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।