गण्डकी प्रदेश सरकारले पलेशालाई मासिक भत्ता दिने

गण्डकी प्रदेश सरकारले पलेशालाई मासिक भत्ता दिने

पोखरा : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पाण्डेले पेरिस ओलम्पिक पारा तेक्वान्दोमा नेपाली ऐतिहासिक कास्य पदक बिजेता पलेशा गोवर्धनलाई मासिक भत्ता उपलब्ध गराउने घोषणा गरेका छन्।

गण्डकी प्रदेश तेक्वान्दो संघ र कास्की जिल्ला तेक्वान्दो संघद्वारा पोखरा रंगशालामा एक कार्यक्रममार्फत् पलेशासहित प्रशिक्षक कविराज नेगी लामा र टिमका म्यानेजर श्याम कृष्ण श्रेष्ठलाई सम्मान गर्दै उनले यस्तो घोषणा गरे। 

खेलकुदका लागि पलेशा प्रेरणाको स्रोत भएको बताउँदै गण्डकी प्रदेश सरकारले खेलकुदको विकास र खेलाडीहरूको हितका लागि विभिन्न योजनाहरु अघि सारेको मुख्यमन्त्री पाण्डेको भनाई छ। 

त्यस अवसरमा पलेशाले कुनै क्षेत्रमा असफलता निराश नभई निरन्तर लागेमा सफलता प्राप्त हुने भन्दै खेलको माध्यमबाट नेपाललाई चिनाउन पाउनु गर्विलो क्षण भएको सुनाइन्। 

ओलम्पिक पदक बिजेता पलेशालाई गण्डकी प्रदेश सरकारले नगद १ लाख ५० हजार र पोखरा महानगरपालिकाले नगद २ लाख २ हजार २२२ रुपैयाँसहित सम्मानपत्रद्वारा सम्मान गरिएको छ। त्यसैगरी कास्की जिल्ला तेक्वान्दो संघले समेत नगद ५० हजार ५ सयसहित पलेशालाई सम्मान गर्यो। 

पलेशासहित प्रशिक्षक कविराज नेगी लामा र टिम प्रशिक्षक श्यामकृष्ण श्रेष्ठ तथा नेपाल तेक्वान्दो संघलाई प्रशंसा पत्रसहित गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापा, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज बहादुर गुरुङलगायतले सम्मान गरे।

नेपाललाई पारा ओलम्पिकमा ऐतिहासिक पदक दिलाएकी पलेशा गोवर्द्धनले तेक्वान्दोको के ४४ अन्तर्गत ५७ केजीभन्दा कम तौलको प्रतिस्पर्धामा सर्वियाली खेलाडीलाई पराजित गरी कांस्य पदक जितेकी थिइन। पलेशा ओलम्पिक प्रतिस्पर्धामा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन्।  

भदौ ३०, २०८१ सोमबार १०:५०:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।