एसियाली ट्रायल मास्टरमा प्रीति राईलाई स्वर्ण

एसियाली ट्रायल मास्टरमा प्रीति राईलाई स्वर्ण

काठमाडौं : नेपालकी प्रीति राईले एसियाली ट्रायल मास्टर च्याम्पियनसिप फाइनलमा स्वर्ण जितेकी छन्। मलेसियाको सबाहमा भएको महिला ७८ किलोमिटर दूरी प्रीतिले १० घण्टा ५९ मिनेट ४८ सेकेन्डमा पूरा गरिन्।

सोही प्रतिस्पर्धामा नेपालकी रशिला तामाङले कांस्य जितिन्। रशिलाले निर्धारित दूरी तय गर्न १३ घण्टा १५ मिनेट ०९ सेकेन्ड समय खर्चिन्। यो प्रतिस्पर्धामा नेपालका छोकी शेर्पा सातौं, पदमकुमारी सुनुवार आठौं र आङ फुर्वा शेर्पा २२ औं स्थानमा रहे। 

३५ खेलाडी सहभागी थिए।

पुरुष ७८ किलोमिटर दूरीमा नेपालका ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। ४५ धावक सहभागी उक्त प्रतिस्पर्धामा अर्जुन कुलुङ राईले १० औं, लोकेन्द्र राईले १४ औं, फुर्पासिंह तामाङले २२ औं र मिलन राईले २७ औं स्थानमा दौड टुंगाए।

राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी समितिका सदस्यसमेत रहेका नेपाल एडभेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्र कुँवरले खेलाडीलाई बधाई दिँदै सफलताले नेपाल साहसिक दौडमा अब्बल छ भन्ने सन्देश प्रवाह भएको बताए। 

नेपाली टोली असोज १ मा स्वदेश फर्किने छ। 

भदौ ३०, २०८१ सोमबार ०७:२१:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।