क्या लक्की आँचल! फिल्म फ्लप हुँदा पनि हातमा फिल्म नै फिल्म

क्या लक्की आँचल! फिल्म फ्लप हुँदा पनि हातमा फिल्म नै फिल्म

काठमाडौं : अभिनेत्री आँचल शर्माले ८ वर्षअघि म्युजिक भिडियोहुँदै ‘नाई नभन्नु ल४’बाट फिल्ममा डेब्यु गरेकी थिइन्। त्यसयता उनले अभिनय गरेका फिल्म त्यतिधेरै छैनन्। आँचलका अधिकांश फिल्मले गतिलो व्यापार पनि गरेका छैनन्। डेब्यु फिल्मले ठिकठिकै व्यापार गरेको भएपनि त्यसयता उनका अधिकांश फिल्म फ्लप छन्। 

पल शाहसँग जोडी बाँधेर खेलेको फिल्म ‘जोनी जेण्टलम्यान’ होस या पछिल्लो समय प्रदर्शनमा आएको फिल्म ‘वर एण्ड वधु’। फ्लपको लिस्टमा पर्ने फिल्म हुन्। अधिकांश फिल्मले उनलाई हिट अभिनेत्रीको ट्याग भिराउन सकेको छैन। फिल्म ‘दालभात तरकारी’ र ‘झिँगेदाउ’बाहेक उनको बक्स अफिसमा कमाई गरेका फिल्म खासै छैनन्। 

तर, जब उनी डाक्टर उदित श्रेष्ठसँग विवाह बन्धनमा बाँधिइन् अनि उनको हातमा फिल्म र म्युजिक भिडियोको ओइरो लाग्यो। उनलाई आफ्ना अधिकांश फिल्म फ्लप हुँदा फिल्मको चिन्ता छैन। कुन निर्माताले फिल्मको स्क्रिप्ट बोकेर मकहाँ आउँला र काम गरूँला भन्ने अवस्था छैन। बरू उनले काम गर्न नभ्याएर साइन गरेका फिल्म समेत छाड्नु परेको छ। 

उनले साइन गरेको फिल्म ‘पीताम्बर’मा काम गर्न नभ्याएपछि हालै छाडेकी छन्। तीन वटा फिल्म एकसाथ छायांकन भएपछि उनले ,‘दुखी आत्मा’ र ‘जेरी अनटप’राखेर ‘पीताम्बर’ छाड्नु परेको हो। ‘पीताम्बर’बाट आँचल बाहिरिएपछि उनी दीपेन्द्र लामाको ‘दुखी आत्मा’ छायांकनमा भिडेकी छन्। 

उनलाई आफ्नो सेड्युल मिलाउन हम्मे-हम्मे परेको अवस्था छ। यो फिल्मको छायांकन सकिएपछि ज्ञानेन्द्र देउजाको नयाँ फिल्ममा काम गर्ने बुझिएको छ। तर, यस बारेमा भने अहिले निर्माण टिमले कुनै जानकारी दिएको छैन। 

यसअघि आँचलले निर्देशक देउजाको फिल्म ‘झिँगे दाउ’मा अभिनय गरेकी थिइन्। यो फिल्मले राम्रै व्यापार गरेको निर्माण टिमको भनाई छ। एकपछि अर्को फिल्म हातमा परेपछि आँचललाई के चाहियो र! 

भदौ २९, २०८१ आइतबार २१:२१:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।