फेरिएन ओलीको पुरानो प्रवृत्ति : प्रतिपक्षीले अवरोध गर्नासाथ संसद अधिवेशन अन्य गर्ने

फेरिएन ओलीको पुरानो प्रवृत्ति : प्रतिपक्षीले अवरोध गर्नासाथ संसद अधिवेशन अन्य गर्ने

काठमाडौं : प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले ‘हिंसा’ शब्दलाई लिएर संसद अवरोध जारी राखेपछि आज बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्य गर्ने निर्णय गर्यो। 

सोमबार अन्तिम बैठक बसेपछि राति १२ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए।

प्रतिनिधिसभाको यसअघिको बैठकमा ‘तत्कालीन माओवादीको नेतृत्वमा सञ्चालित सशस्त्र सङ्घर्षलाई सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले ‘हिंसा’ भनेर असंवैधानिक शब्द प्रयोग गरेको’ भन्दै माओवादीले यसअघिको संसद् बैठक अवरुद्ध गरेको थियो। 

भट्टराईले सदनमा बोल्ने क्रममा माओवादी हिंसाका कारण जलविद्युत आयोजनाहरूको काम अघि बढ्न नसकेको भनेपछि त्यहीबेला माओवादीले आपत्ति जनाएको थियो। त्यसपछि सभामुख देवराज घिमिरेले उक्त शब्दबारे छानबिन गर्न संसदलाई निर्देशन दिए। 

तर, केही दिनअघि सभामुख घिमिरेले 'हिंसा' शब्द प्रयोग गर्नु असंसदीय नभएको भन्दै रेकर्डबाट हटाउन नपर्ने भनेपछि माओवादीले संसद चल्न दिएको छैन। 
 
माओवादीले संसद् बैठकमा प्रस्तुत भएको ‘माओवादी हिंसा’ भन्ने शब्द संसद्को रेकर्डबाट नहटाएसम्म बैठक चल्न नदिने बताउँदै आएको छ। 

आइतबारका लागि निर्धारित बैठक सञ्चालन गर्ने विषयमा सभामुख घिमिरेले सिंहदरबारमा राष्ट्रिय पार्टीका प्रमुख सचेतकसँग गरेको छलफल बिना निष्कर्ष टुङ्गिएको थियो। त्यसपछि आज बस्ने भनिएको बैठक पनि स्थगित भएपछि सरकारले संसद अधिवेशन अन्त्य गर्यो। 

यसअघि २०८० चैत ३० मा अहिलेका प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली माओवादीसँगको सत्ता साझेदारीमा थिए। त्यसबेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री थिए। 

त्यहीबेला मन्त्रिपरिषदकाे बैठकले ०८१ वैशाख २ को रातिबाट अधिवेशन अन्त्य गरेको थियो। जहाँ मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका ओलीले नेपाली कांग्रेसले संसद चल्न नदिएकाले संसद अन्त्य गर्न प्रचण्डलाई सुझाएका थिए। 

तत्कालीन गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने मागसहित तत्कालीन प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद अवरोध गरिरहेको थियो।  

भदौ २९, २०८१ आइतबार २१:०६:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।