हास्य टेलिश्रृंखलाका टिमहरू फुट्ने कारण : आर्थिक लेनदेनको बेमेल मात्रै कि एक्लै अघि बढ्ने लोभ पनि?

हास्य टेलिश्रृंखलाका टिमहरू फुट्ने कारण : आर्थिक लेनदेनको बेमेल मात्रै कि एक्लै अघि बढ्ने लोभ पनि?

काठमाडौं : ६० को दशकबाट फाटफुट आउन थालेका नेपाली हास्य टेलिश्रृंखलाहरू लामो समय चलन नसकेर केही कारणले बन्द भएको छ भने त्यो हो, टिमभित्रको मनमुटाब। आर्थिक लगायतका केही कारणले एकाध बन्द भएपनि मूलत: टेलिफिल्महरू बन्द भएको कारण टिमभित्रको मनमुटाब नै हो। निर्देशक तथा कलाकारहरूबीच एकआपसमा मनमुटावका कारण चोइटिँदै आउने क्रम अहिलेसम्म जारी छ। 

पछिल्लोपटक लामो समयदेखिको मनमुटावमा रहेका 'सक्किगोनि' श्रृंखलाका निर्देशक कुमार कट्टेल र अर्जुन घिमिरेको टिमबाट दीपकप्रसाद आचार्य (काकु) बाहिरिए। जसको कारण कुमार-अर्जुन टिमले बनाएको फिल्म सुटिङ गर्न रोल्पा पुगेका बेला यता आचार्यले ‘परान’ भन्ने फिल्म चलचित्र विकास बोर्डमा दर्ता गराएका छन्। उनी के कारणले यो टिमबाट फुटेका हुन् भन्न चाहँदैनन्। 

उनीहरूबीचको टेलिफिल्म ‘भद्रगोल’ देखिको मित्रता फिल्म ‘लाज शरणम्’मा आइपुग्दा टुटेको हो। काकु फिल्मबाट मात्रै बाहिरिएनन्,  ‘सक्किगोनि’ बाटै किक आउट भए। यसको मुख्य कारण हो, फिल्म। यही टिमले फिल्म ‘लाज शरणम्’ निर्माण थालेपछि टिमभित्रै द्धन्द्ध चलेको थियो। 

पहिला यही टिममा रहेका काकुले फिल्ममा सुरुवातको समयदेखि छायांकनमा जानुअघिसम्म काम गरेका थिए। यस फिल्मका निर्देशक तथा लेखक कुमार कट्टेलको टिमले आफ्नो नाम लेखकमा नराखेपछि काकु रुष्ट बने। यो टिमले उनको कामको मूल्याङ्कन नगरेपछि दीपक बाहिरिएको हल्ला चलेको थियो। 

जब कुमार-अर्जुन लगायतको टिम छायांकनका लागि पाल्पा हिँड्यो, त्यसपछि उनीहरूबीचको द्धन्द्ध बाहिर पोखियो। किनभने उनीहरुको टिम छायांकनमा त्यहाँ जाँदा दीपक गएनन्। उनले आफ्नै निर्देशन तथा लेखनमा फिल्म चलचित्र विकास बोर्डमा दर्ता गराए। त्यसपछि दीपक र कुमारबीचको आन्तरिक द्धन्द्ध चर्किएको कुरा बाहिर आयो। 

यो फिल्मको नाम घोषणा कार्यक्रममासमेत आफ्नो नाम नलिएपछि दीपकले चित्त दुखाएका थिए। कलाकारको टिमले भरिएको त्यो हलमा फिल्मको नाम सार्वजनिक गर्दै गर्दा उनको नाम लेखक बाहेक कलाकारमा पनि नआएपछि दीपक बाहिरिएका थिए। त्यसपछि उनी सक्किगोनि  श्रृंखलामा समेत देखिएका छैनन्। उनले अभिनय नगरेको लामै समय भएको छ। 

किन बाहिरिनु भयो भन्ने प्रश्नमा उनी यस बारेमा बोल्न चाहँदैनन्। सक्किगोनि टिमबाट बाइपास भएपछि उनी आफैंले फिल्म ‘परान’ चलचित्र विकास बोर्डमा नाम दर्ता गराएर कथा तथा पटकथालाई लक गरेर केही महिनामै छायांकनमा जाने तयारीमा छन्। अहिले कलाकारको छनोट पनि गर्दैछन्। 

यसअघि यही टिमबाट मुख्य कलाकार निर्माता सुवास कार्की (बेलासे)निकालिएका थिए। 'भाग्रगोल'को लागि सय भागसम्म खर्च गरेका निर्माता कार्कीलाई यो टिमले निकालेको थियो। त्यसपछि टेलिश्रृंखला ‘भद्रगोल’बाट निर्मातालाई निकालेर कुमार-अर्जुन आफैंले चलाएका थिए। 

यता, त्यस घटनापछि निर्माता कार्की भने बेलायत भासिएका थिए। 

यही टिमले सुरुवात गरेको हास्य टेलिश्रृंखला ‘भद्रगोल’बाट वरिष्ठेको उपनामले परिचित शंकर आचार्य पनि बाहिरिएका थिए। यहाँबाट बाहिरिएपछि उनी आफैं पछिल्लो समय विभिन्न श्रृंखला निर्माण गरिरहेका छन्। 

पछिल्लो समय सक्किगोनि श्रृंखला यसरी फुटिरहेको छ कि, यसबाट अर्जुन घिमिरे पनि बाहिरिन सक्ने सम्भावना रहेको उनी निकटहरु बताउँछन्। 

त्यसो त सक्किगोनि मात्रै टेलिश्रृंखला फुटेको भने होइन। यसअघि थुप्रै टेलिश्रृंखलाहरूबाट कलाकारहरू फुटेका छन्। फुट्नेहरूको सूची बनाउँदै जाने हो भने 'मेरी बास्सै'देखि 'हल्का रमाइलो'सम्म पर्छन्। 

६ महिनाअघि मात्रै हास्य श्रृंखला ‘हल्ला रमाइलो’बाट यसका लेखक तथा निर्देशकमध्येका एक राजु पौडेल (राजु मास्टर) बाहिरिएका थिए। ‘मेरी बास्सै’मा आर्थिक लेनदेनको विवादबाट निस्किएका दुवै कलाकारले ‘हल्का रमाइलो’ निर्माण गरिरहेका थिए। तर, उनीहरू पनि फुटे। 

त्यसपछि राजु मास्टरले आफैं टेलिश्रृंखला ‘सकस’निर्माण गरेका छन्। उनीहरू पनि पैसाको लेनदेनमा फुटेको बाहिर नभने पनि यथार्थ यही हो। तर, आफ्नो सत्य लुकाउन खप्पिस उनीहरूले अन्तवार्ताहरूमा आफूहरूबीच नफुटेको दाबी गर्दै आएका छन्। 

गएको शुक्रबारबाट मरिचमानले नयाँ सिरियल सुरुवात गरेका छन्। उनले तत्कालीन विद्रोही पक्ष माओवादी र सरकारबीचको द्धन्द्धलाई आधार मानेर ‘राधा कृष्ण’नामक सिरियल रिलिज गरेका छन्। उक्त सिरियलको प्रिमियरमा पत्रकारले राजु मास्टरसँग किन छुटिएको हो? भन्ने प्रश्नमा बल्छीले नछुटिएको भन्दै टारेका छन्। 

यही टिमले निर्माण गरेको टेलिफिल्म ‘जुठे’मा भने सहकार्य गर्दै आएका छन्। यसमा उनीहरुले टेलिफिल्मको आम्दानीलाई बराबर भाग लगाउँदै आएका छन्। त्यसले गर्दा पनि जुठेमा यी दुईको सम्बन्ध टुट्न पाएको छैन। अन्यथा आर्थिक लेनदेनका कुरा नमिल्दा पनि टिमहरू फुट्ने गरेको उदाहरण हामीकहाँ थुप्रै छन्। 

एक दशकअघि ‘मेरी बास्सै’बाट सीताराम कट्टेल (धुर्मुस) र केदार घिमिरे (माग्ने बुढा)बीच लेनदेनको विवाद चर्किएको थियो। मेला महोत्सवदेखि टेलिश्रृंखलाको पैसा धुर्मुसको टिममा बढि गयो भन्ने कुरामा मनमुटाव भएको थियो। सीताराम कट्टेल र कुञ्जना घिमिरे(सुन्तली)ले विवाह गरेपछि केदार घिमिरे पनि आफ्नी श्रीमतीलाई कलाकार बनाउन चाहन्थे। ताकी धुर्मुसको भागमा गएको दोहोरो पैसा आफूतिर पनि आओस्। 

तर, श्रीमती आफूले निर्माण गरिरहेको मेरी बास्सैमा नअटाउने भएपछि धुर्मुस र केदारबीच मनमुटाव बढेको थियो। मेरी बास्सैको प्रयास असफल भएपछि र मेला महोत्सवको पैसा तीन भागमा एक भाग आफूले पाएपछि बढ्दै गएको मनमुटाबले यी दुवै जनाले मेरी बास्सै नै गर्न छाडे। 

यता, माग्ने बुढाले भने श्रीमती सीतादेवी तिमल्सेनालाई भद्रगोलमा राखे। हालै सीताले अर्जुन कुमारको फिल्म ‘सानो संसार’मा समेत अभिनय गरेकी छन्। माग्ने बुढा भने आफ्नै ब्राण्ड ‘छक्का पञ्जा’टिमसँग सहकार्य गर्दै आएका छन्। 

किन फुट्छन् त टेलिश्रृंखला! 
चार दशक भन्दा लामो समयदेखि नाटक, टेलिफिल्म तथा फिल्ममा हास्य कलाकारका रुपमा काम गर्दै आएका कलाकार उत्तम केसी श्रृंखलाका कलाकारहरू फुट्नु-जुट्नु सामान्य रहेको बताउँछन्। 

उनले एउटै घरका दाजुभाइ त फुट्छन् भने टेलिश्रृखंलामा फुट्नु नौलो कुरा नभएको बताए। 

श्रृंखलामा वर्षौंदेखि काम गर्दै आएका कलाकार, निर्माता तथा निर्देशकहरू आपसमा आर्थिक पाटो नमिलेर पनि फुट्ने गरेको उनको भनाई छ। 

‘एउटै घरमा हुर्किएका दाजुभाइ पखेटा पलाएपछि त सँगै बस्दैनन्। अर्काको आमाले पाएका छोराछोरीहरू के मिलेर बस्छन् त,’ उनले भने, ‘पखेटा पलाइसकेपछि र आफू सम्पन्न भइसकेको बुझेपछि आ-आफ्नो बाटो लाग्ने लाग्ने गरेका छन्। यो फुट्नु पनि श्रृंखलाको संख्या बढ्नु हो।’

कोही-कोही कलाकारहरू या निर्देशकले आफूलाई हेपिएको चेपिएको महसुस गरेपछि पनि बाहिरिने गरेको उनको भनाई छ। 

भदौ ३०, २०८१ आइतबार २०:११:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।