‘हिंसा’ शब्द संसद्को रेकर्डबाट नहटाएसम्म बैठक चल्न नदिने माओवादीको अडानपछि आजको बैठक स्थगित

‘हिंसा’ शब्द संसद्को रेकर्डबाट नहटाएसम्म बैठक चल्न नदिने माओवादीको अडानपछि आजको बैठक स्थगित

काठमाडौं : प्रतिनिधिसभाको आजका लागि तोकिएको बैठक स्थगन भएको छ। आज अपराह्न १ बजेका लागि निर्धारित बैठक विशेष कारणले बस्न नसक्ने भएकाले अर्को बैठक भोलि अपराह्न १ बजे बस्ने गरी तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।
 
अपराह्न १ बजे तोकिएको बैठक बस्न नसक्ने भएपछि सचिवालयले आजै अपराह्न ३ः१५ बजे बस्ने गरी निर्धारण गरेको थियो। यसबीचमा दलहरूबीच सहमति जुट्न नसकेपछि बैठक भोलिका लागि तोकिएको हो।
 
प्रतिनिधिसभाको यसअघिको बैठकमा ‘तत्कालीन माओवादीको नेतृत्वमा सञ्चालित सशस्त्र सङ्घर्षलाई सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले ‘हिंसा’ भनेर असंवैधानिक शब्द प्रयोग गरेको’ भन्दै माओवादीले यसअघिको संसद् बैठक अवरुद्ध गरेको थियो। 

भट्टराईले सदनमा बोल्ने क्रममा माओवादी हिंसाका कारण जलविद्युत आयोजनाहरूको काम अघि बढ्न नसकेको भनेपछि त्यहीबेला माओवादीले आपत्ति जनाएको थियो। त्यसपछि सभामुख देवराज घिमिरेले उक्त शब्दबारे छानबिन गर्न संसदलाई निर्देशन दिए। 

तर, केही दिनअघि सभामुख घिमिरेले 'हिंसा' शब्द प्रयोग गर्नु असंसदीय नभएको भन्दै रेकर्डबाट हटाउन नपर्ने भनेपछि माओवादीले संसद चलन दिएको छैन। 
 
माओवादीले संसद् बैठकमा प्रस्तुत भएको ‘माओवादी हिंसा’ भन्ने शब्द संसद्को रेकर्डबाट नहटाएसम्म बैठक चल्न नदिने बताउँदै आएको छ। 

आइतबारका लागि निर्धारित बैठक सञ्चालन गर्ने विषयमा सभामुख घिमिरेले सिंहदरबारमा राष्ट्रिय पार्टीका प्रमुख सचेतकसँग गरेको छलफल बिना निष्कर्ष टुङ्गिएको थियो। 

भदौ २९, २०८१ आइतबार १८:०७:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।