प्रधानमन्त्रीले बालेनको आलोचना गरेपछि कांग्रेस सांसदले भने 'उनका अभिव्यक्तिमा लगाम लगाउनुपर्छ'

प्रधानमन्त्रीले बालेनको आलोचना गरेपछि कांग्रेस सांसदले भने 'उनका अभिव्यक्तिमा लगाम लगाउनुपर्छ'

काठमाडौं : नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एउटा व्यक्ति वा संस्थाविरुद्ध उभिन नहुने सुझाव दिएका छन्। 

हिजो प्रधानमन्त्री ओलीले काठमाडौं महानगरका मेयर बालेन शाहलाई 'मनपरी बोल्ने केटो' निस्किएको भन्दै कटाक्ष गरेका थिए। त्यसपछि नेता भण्डारीले विज्ञप्ति निकालेर प्रधानमन्त्री ओलीको अभिव्यक्तिमा लगाम लगाउनुपर्ने बताए।  

केही विषय भए प्रधानमन्त्रीले मेयर बालेनलाई बोलाएर सोध्न सक्ने भएपनि सार्वजनिक कार्यक्रमबाट हुर्मत लिनु अशोभनीय भएको उनको भनाई छ। 
  
'काठमाडौं महानगरका मेयरलाई जनताले निर्वाचित गरेका हुन्, महानगरलाई व्यवस्थित बनाउनका लागि उनी क्रियाशील नै देखिन्छन्,' भण्डारीले भनेका छन्, 'केही समस्या भए प्रधानमन्त्रीले अभिभावकत्व लिने, बोलाएर छलफल गर्ने हो, हुर्मत लिने तथा आलोचना गर्न सिंगो पार्टी पंक्तिलाई निर्देशन दिने विषय सुहाउँदो लागेन।' 

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका भण्डारीले प्रधानमन्त्रीलाई राष्ट्रिय हितका विषयमा पार्टीगत स्वार्थभन्दा माथि उठ्न आग्रह गरे।

'एमालेका अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्रीज्यू मुलुकको महत्त्वपूर्ण राजनीतिक दलको प्रमुख हो भने मुलुकको प्रधानमन्त्री पनि हो। उहाँबाट सभ्य, सुसंस्कृत र परिपक्क व्यवहार तथा बोलीको अपेक्षा हुन्छ। पार्टी अध्यक्षको हैसियतले उहाँले पार्टी नेताहरूलाई विपक्षीका विरुद्धमा आक्रामक ढंगबाट प्रस्तुत हुन दिएको निर्देशनलाई आमनागरिकले सकारात्मक रूपमा लिएका छैनन्, विज्ञप्तिमा उल्लेख छ। 

भदौ २९, २०८१ आइतबार १७:५२:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।