झापाबाट ओलीलाई प्रचण्डको चुनौती  ‘अगामी निर्वाचन झापाबाटै लड्छु’

झापाबाट ओलीलाई प्रचण्डको चुनौती  ‘अगामी निर्वाचन झापाबाटै लड्छु’

झापा : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ८४ सालमा झापाको कुनै क्षेत्रबाट निर्वाचन लड्न सक्ने संकेत गरेका छन्। 

आइतबार झापाको बिर्तामोडमा प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले झापामा माओवादीप्रति आकर्षण बढिरहेको उल्लेख गर्दै आगामी निर्वाचनमा झापाबाट नै टक्कर दिने मनस्थिति सृजना भएको बताए।

‘जित सत्य र न्यायको हुन्छ कि, बेइमानहरुको हुन्छ भनेर हेर्नका लागि पनि झापाबाटै टक्कर दिने सोच बनाएको छु, प्रचण्डले भने, तेस्रो कार्यकालमा जनताको पक्षमा सकेजति काम गर्न सकेको कारणले जनताले हामीलाई खोजिरहेका छन्, शिक्षित झापाली जनताले हामीमाथि न्याय गर्छन् भन्ने अपेक्षा पार्टीको छ।’

जनतामा माओवादीको क्रेज बढेको दाबी गर्दै प्रचण्डले त्यसलाई फुटाउन एकथरी मानिसहरू लागि परेको बताए। 

‘जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया लगायतका समयमा पनि पार्टी फुटाउने प्रयास भएका हुन्, हामीले ती सबै प्रयासहरूलाई निरर्थक बनायौं,’ प्रचण्डले भने, ‘केही दिनअघि सम्पन्न स्थायी कमिटीको बैठकले फुटवादी मानसिकतालाई सधैंको लागि अन्त्य गरेको छ, हामी अहिले एकढिक्का मात्र होइन, बाटो बिराएर अन्यत्र गएका साथीहरू पनि चाँडै एकीकृत हुँदैछौ।’

उनले आगामी निर्वाचनबाट माओवादी पार्टी मुलुककै ठुलो दलका रुपमा उदाउने बताएका छन्। 

मोरङ, सुनसरी र झापाका विभिन्न कार्यक्रममा सहभागी हुन पूर्व आएका प्रचण्डले ६४ सालमा माओवादीलाई मत दिएका मतदाताको जिल्ला तहका नेतालाई मनोविज्ञान बुझ्न निर्देशन दिएका छन्। 

उनले ६४ मा मत दिने जनतासँग माफी माग्न, विदेश गएका नागरिकको सुचि तयार गर्न र ६४ को निर्वाचनका समयमा नाबालक रहेका जनताको मनोविज्ञान अध्ययन गरेर उनीहरुको अपेक्षा अनुसार अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिए।

जनयुद्ध गरिरहेका माओवादीलाई नेपाली राजनीतिको मूलधारमा कांग्रेस र एमालेले ल्याएको भनेर गलत प्रचार गरिरहेको उनको भनाई छ। 

‘उहाँहरूको संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रमा हामी सहमत भएको भए उहाँहरूले ल्याएको भन्न सकिन्थ्यो’, प्रचण्डले भने, ‘उहाँहरू नै हामीले अघि सारेको मुद्दा गणतन्त्र, धर्म निरपेक्ष राष्ट्र, समानुपातिक निर्वाचन प्रणालीमा समाहित भएर आउनु भएको छ। उहाँहरूको अस्तित्व चै माओवादीले जोगाइदिएको हो।’

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वास गरेर गम्भीर गल्ती गरेको उनले बताए। 

कार्यक्रममा एमालेका पुराना नेता तथा तत्कालीन अनारमनी गाविसका उपाध्यक्ष लोकबन्धु कन्दङवा, एमालेका जिल्ला नेता सिता रणपहेली, मोहन योगी, जगत राई लगायत २ सय नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए।  

भदौ २९, २०८१ आइतबार १७:४०:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।