'लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूले ​​​​​​​जन्मेदेखि मृत्युसम्मै बिना दोष सजाय भोग्नुपर्ने स्थिति छ'

'लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूले ​​​​​​​जन्मेदेखि मृत्युसम्मै बिना दोष सजाय भोग्नुपर्ने स्थिति छ'

काठमाडौं : कानून, न्याय तथा मानव अधिकार समितिकी सभापति बिमला सुवेदीले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका मान्छेहरूले हृदय विदारक सजाय भोग्नुपर्ने स्थिति रहेको बताएकी छन्।

आइतबार राजधानीमा आयोजित ‘लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको सवालहरूको सम्बोधनमा सांसदहरूको भूमिका’ सम्बन्धी नीति संवादमा बोल्दै उनले जन्मेदेखि नै सामाजिक सुरक्षा कोषसम्म हरेक कुरामा अल्पसंख्यक समुदायले विभेद भोगिरहेको बताइन्।
 
उनले भनिन्, ‘जन्मेदेखि मृत्युसम्म नै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका तेस्रो लिङ्गीहरूले बिना दोष हृदय विदारक सजाय भोग्नुपर्ने स्थिति छ। परिवारदेखि नै लिएर समाज, राज्यबाट समेत पीडित हुनुपरेको अवस्था छ। जन्मनु त हाम्रो कसैको दोष होइन, जन्मेदेखि जन्मदर्ता भयो, विवाह दर्ता भयो, अन्तिमसम्म आउँदा सामाजिक सुरक्षा कोषको कुरासम्म आइपुग्दाखेरि हरेक काममा तपाईंहरूले विभेद भोगिरहनु भएको छ।’

समाजमा चेतनाको विकास भइनसकेका कारण लैंगिक अल्पसंख्यकहरूको समाजमा अपमानित भएर बाँच्नु परेको उनको भनाइ छ। 

उनले समाजका सबैभन्दा बुझेका मानिसहरूबाट नै तेस्रो लिङ्गीहरू अपमानित हुनु परेको भन्दै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको सवालमा कानूनलाई नै संशोधन गरेर लग्नुपर्ने बताइन्।

कार्यक्रममा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले भोगका घटना सुन्दा आफूलाई हृदयविदारक लागेको भन्दै उनीहरुको समस्या समाधानका लागि समितिबाट सबै अध्ययन गरी आवश्यक सहयोग गर्ने बताए। 
      
त्यस्तै, राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव नवराज सापकोटाले आयोगले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको हक, अधिकार स्थापित गराइ कार्यान्वयनका लागि सरकारलाई सिफारिस गरेको बताए। 

कार्यक्रममा उक्त समुदायबाट सहभागी भएकाले विवाह दर्ताको व्यवस्था नभएको, बच्चा जन्मिए पनि दर्ता गर्ने व्यवस्था नभएको, धर्मपुत्र वा धर्मपुत्री लिने व्यवस्था नभएको, नागरिकतामा आफ्नो पहिचानअनुसार लिन नपाएकोलगायत समस्या भोग्नुपरेको धारणा राख्दै विद्यमान समस्या समाधानमा सबैले सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए।  

भदौ २९, २०८१ आइतबार १५:४८:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।