डेडिकेटेड र ट्रंक लाइनको २२ अर्ब बक्यौता उठाउन माग गर्दै सर्वोच्चमा मुद्दा, सरकार कुलमानविरुद्ध लागेको आरोप

डेडिकेटेड र ट्रंक लाइनको २२ अर्ब बक्यौता उठाउन माग गर्दै सर्वोच्चमा मुद्दा, सरकार कुलमानविरुद्ध लागेको आरोप

काठमाडौं : अधिवक्ता यज्ञमणि न्यौपानेले डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेबापतको बक्यौता रकम तत्काल असुल गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका छन्। 

आइतबार अधिवक्ता न्यौपानेले डेडिकेटेड र ट्रंक लाइन बापतको २२ अर्ब बक्यौता असुल गर्नुनपर्ने मागसहित सर्वोच्चमा मुद्दा दर्ता गराए। 

मुद्दा दर्तापछि सर्वोच्चमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अधिवक्ता यज्ञमणि न्यौपानेले २२ अर्ब नेपाल विधुत्त प्राधिकरणको पैसा सत्तामा बसेकाहरूले तिर्नुपर्दैन भनेर ट्रंक लाइन र डेडिकेटेडमा राजनीति गर्न खोजेको आरोप लगाए। निर्देशक कुलमान घिसिङले प्राधिकरणको क्षेत्रमा गरेको विकासको विरुद्धमा नै सरकार लागेको उनको आरोप छ। 

उनले भने, ‘२२ अर्ब नेपाल विद्युत प्राधिकरणको पैसा सत्तामा बसेकाहरूले तिर्नु पर्दैन भनेर ट्रंक लाइन र डेडिकेटेडमा राजनीति गरे। कुलमानले विद्युत प्राधिकरणलाई जुन अवस्थामा पुर्याएको छ त्यसको विरुद्धमा लाग्न थाले।’

अधिवक्ता यज्ञमणि न्यौपानेले देश अप्ठ्यारोमा परेको बेला न्यायालयको ढोका ढकढक्याउनुको विकल्प नहुने भन्दै प्राधिकरण पनि विकल्पहीन अवस्थामा पुगेपश्चात् न्यायालयको ढोका ढकढक्याउन आइपुगेको बताए। 

उनले भने, ‘जब देश अप्ठ्यारोमा पर्छ तब न्यायालयको ढोका ढकढक्याउनुको विकल्प अरू भएन। विकल्पहीन अवस्थामा पुगेपश्चात् न्यायालयको ढोका ढकढक्याउन आइपुगेका हौं।’ 

भदौ २९, २०८१ आइतबार १५:१७:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।