अन्टार्कटिकामा पाइला टेक्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मा, जो गोर्खा दक्षिण बाहु दोस्रोबाट पनि सम्मानित भए

अन्टार्कटिकामा पाइला टेक्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मा, जो गोर्खा दक्षिण बाहु दोस्रोबाट पनि सम्मानित भए

बागलुङ : उमेरले ७३ वर्ष पुगेका भुवनसिंह विश्वकर्माको जोश र जाँगर कुनै युवाको भन्दा कम छैन। विसं २०४३ मा पहिलो नेपालीको रुपमा अन्टार्कटिका पुगेका विश्वकर्माको जीवनी धेरैलाई अनौठो लाग्न सक्छ। मानवरहित अन्टार्कटिकामा विश्वकर्मा कसरी पुगे भन्ने धेरैको जिज्ञासा छ। 

बागलुङ नगरपालिका-१४ नारायणस्थानमा जन्मिएका विश्वकर्मा सन् १९८६ मा पृथ्वीको दक्षिणी ध्रुव अन्टार्कटिका महादेशमा पुग्ने पहिलो नेपाली हुन्। उनी भारतीय सेनामा कार्यरतहुँदा भारतीय सेनाको अनुसन्धान टोलीका साथ प्राविधिकका रुपमा त्यहाँ पुगेका थिए। 

पर्यावरण संरक्षण र फोहर व्यवस्थापनमा प्राविधिक समूहमा रहेर अन्टार्कटिका पुगेका विश्वकर्मा अहिले गाउँको शिक्षा क्षेत्रलाई उकास्ने योजनामा छन्। 

'अन्टार्कटिका पुग्ने काम चानचुने थिएन, मेरो स्वयंसेवी मन भारतीय सेनाले पूरा गर्यो, भारतीय सेनामा कार्यरत रहँदा भारतले वैज्ञानिक अध्ययन तथा अवलोकनका लागि र त्यहाँको बसाइ व्यवस्थापनका लागि भारतीय सेनालाई समेत अन्टार्कटिका लैजाने गर्थ्यो', विश्वकर्माले भने, 'मेरो शारीरिक अवस्था, स्वास्थ्य सबै हेर्दा मलाई भारतीय सेनाले अन्टार्कटिका लैजाने भयो, मलाई आर्थिक उपार्जनभन्दा अन्टार्कटिका देख्ने र बुझ्ने रहर थियो, भारतको गोवाबाट २२ दिनको यात्रामा अन्टार्कटिका पुगियो, पहिलो पटक अन्टार्कटिका पुग्दा बागलुङ नारायणस्थानको माटो नेपाली झण्डा अन्टार्कटिकामा पुर्याए।'

भारतीय सेनाहुँदै अन्टार्कटिकाको यात्रा
बागलुङका भुवनसिंह विश्वकर्मा अहिले बुटवल उपमहानगरपालिका-११ मा बस्छन्। उनको नाममा उपहानगरपालिकाले भुवनसिंह मार्ग भनेर सडकको नामकरणसमेत गरिसकेको छ। प्रसिद्ध प्रबल गोर्खा दक्षिण बाहु दोस्रोबाट सम्मानित र गिनिजबुकमा नाम लेखाउन सफल विश्वकर्माले सिङ्गो नेपालको नाम चिनाए। 

हिउँ नै हिउँले भरिएको मानवरहित महादेश अन्टार्कटिका पुग्ने भुवसिंह विश्वकर्मा अहिले नेपालभर पर्यावरणको सचेतना जगाउँदै सम्मान थाप्न व्यस्त छन्। 

उनले हिउँमा फोहर व्यवस्थापनको काममा दखल रहेको बताउँदै अन्टार्कटिकामा कुनै फोहर गर्न नपाइने भन्दै मानव दिसालाईसमेत खरानी बनाएर फर्किनुपर्ने सुनाए। 

'अन्टार्कटिकामा कुनै फोहर गर्न पाइँदैन, मानव दिसा त्यहाँ चिसोका कारण जस्ताको तस्तै हुन्छ, भान्साबाट निस्कने फोहरलाई प्रशोधन गर्ने र जलाएर खरानी बनाएर भारत नै फर्काउने गरिन्थ्यो', उनले भने, 'नेपालको सगरमाथा बेसक्याम्पदेखि चुचुरोसम्म फोहरैफोहोर छ भन्ने सुन्छु, त्यही अन्टार्कटिकाको विधिले फोहरमुक्त बनाउन सकिन्छ, विशेषगरी मानव शरीरबाट निस्किएको दिसा माइनस तापक्रममा जस्ताको त्यस्तै रहने भएकाले त्यसलाई प्रविधिको माध्यमबाट जलाएर आफैंसँग राखेर ल्याउन सकिन्छ।'

भारतको गोवाबाट २२ दिनको लामो समुद्री यात्रामा अन्टार्कटिका पुगिने गरेको उनको भनाइ छ। अन्टार्कटिकामा छ महिना उज्यालो र छ महिना अँध्यारो हुने गर्दछ। नेपालको नाम विश्वभर चिनाएको भन्दै सिन्धुलीदेखि कैलाली र झापासम्म सम्मान पाएको विश्वकर्माको भनाइ छ। 

बागलुङ नगरपालिकालेसमेत यही भनौं १८ मा २५ हजार रूपैयाँसहित सम्मान गरेको छ। गृह नगरपालिकाले सम्मान गर्दा आफूलाई प्रसिद्ध प्रबल गोर्खा दक्षिण बाहु दोस्रोभन्दा ठूलो सम्मान मिलेको बताए। 

अहिले उनकै नाममा बुटवल र हेटौँडामा भुवनसिंह मार्गका नाममा सडकको नामकरण गरिएको छ। उनले आफू जन्मेको गाउँ शिक्षामा पछि रहेको भन्दै आफ्ना छोराबुहारीको सहयोगमा एउटा शैक्षिक कोष स्थापना गरेर शिक्षामा सघाउने उद्देश्य रहेको बताए। 

अन्टार्कटिकामा जाडोयाममा माइनस ८९ डिग्री र गर्मीमा माइनस २९ डिग्री सेल्सियस तापक्रम हुने भएकाले त्यहाँको बसाइ अत्यन्त्तै चुनौतीपूर्ण रहेको उनको भनाइ छ। प्रतिघण्टा दुई सय किलोमिटरको रफ्तारमा आँधी र हुरी चल्ने उक्त क्षेत्रमा हिउँमा बस्ने प्राणी पेइन्गुन र ह्वेल माछाबाहेक अरू कुनै जीवित प्राणी भेट्न नसकिने उनले सुनाए। 

विभिन्न विकसित मुलुकहरूले वैज्ञानिक खोज र अनुसन्धानका लागि त्यहाँ आफ्नो टोली पठाउने गर्छ। त्यहाँ पुग्नु आफैंमा अत्यन्तै जोखिम र साहसिक कदम मानिन्छ। भारतीय बङ्गाल इन्जिनियरिङ ग्रुप रुड्कीबाट छनोट भई अन्ट्रार्कटिका गएको विश्वकर्माको भनाइ छ। 

'अन्टार्कटिकाका लागि शारीरिक रुपमा तन्दरुस्त, निरोगी र जस्तोसुकै परिस्थितिमा पनि सहजताका साथ अघि बढ्नसक्ने योग्य व्यक्तिलाई मात्र छनोट गरिन्थ्यो', विश्वकर्माले भने, 'सबै मापदण्ड र विशेषताले निपूर्ण भएपछि मात्रै त्यहाँ जानका लागि छनोटमा परिन्छ, मलाई त्यहाँ नपुग्दासम्म आफू पहिलो नेपाली भन्ने थाहै थिएन, अहिले त अन्य नेपालीसमेत पुगिसक्नुभएको छ।' 

भदौ ३०, २०८१ आइतबार १४:३७:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।