माओवादी केन्द्रले संसद् बैठक अवरुद्ध गर्ने

माओवादी केन्द्रले संसद् बैठक अवरुद्ध गर्ने

काठमाडौं : आजको प्रतिनिधि सभा बैठक प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले अवरोध गर्ने भएको छ।

सभामुख देवराज घिमिरेसँगको छलफलपछि पनि माओवादी केन्द्र संसद् अवरोध गर्ने निर्णयबाट पछि नहटेको हो।

माओवादी प्रमुख सचेतक हितराज पाण्डेले समग्र ‘जनयुद्ध’काे भाव र त्यहाँको विषयवस्तुसँग सम्बन्धित भएकाले अवरोध नहट्ने बताए।

‘छलफलकै क्रममा छौँ। माओवादी केन्द्रले जुन विषयवस्तु उठाइरहेको छ, खाली शब्दमा मात्रै होइन, समग्र जनयुद्धको भाव र त्यहाँको विषयवस्तससँग सम्बन्धित छ,’ उनले भने, ‘त्यसैले माओवादीले अवरोध गर्ने निर्णय गरेको छ।’

एमाले सचिव एवं सांसद योगेश भट्टराईले भदौ १२ गते प्रतिनिधि सभा बैठकमा माओवादी सशस्त्र संघर्षलाई ‘माओवादी हिंसा’ शब्द प्रयोग गरेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गरेका थिए।

त्यसपछि सभामुखले अध्ययन गर्न संसद सचिवालयलाई भनेका थिए। सभामुखले भदौ २६ गतेको बैठकमा एमाले सांसद भट्टराईले प्रयोग गरेको ‘हिंसा’ शब्द असंसदीय नरहेको निर्णय सुनाएका थिए।

उक्त निर्णयमा असहमति जनाउँदै माओवादी केन्द्रले संसद अवरोध गरेको थियो। माओवादीले उक्त शब्द संसदको रेकर्डबाट हटाउन माग गरेको छ।

भदौ २९, २०८१ आइतबार १३:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।