अस्पतालको शौचालयबाट भागे कैदी

अस्पतालको शौचालयबाट भागे कैदी

सुरुङ्गा : जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी अस्पतालको शौचालयबाट भागेका छन्।

२४ वर्षीय जीवन साह भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालबाट भागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उपचाररत साहलाई आज बिहान ३ः४० बजे सोही अस्पतालको शौचालय लगिएकामा शौचालयबाटै उनी फरार भएको प्रहरीको भनाइ छ।

छातीमा समस्या भएपछि भद्रपुर नगरपालिका-५ घर भएका साहलाई यही भदौ २५ गते प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो।

त्यहाँबाट थप उपचारका लागि ओमसाई पाथीभरा अस्पतालमा रेफर गरिएको थियो।जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीको कमाण्डमा फरार कैदी साहको खोजी भइरहेको बताइएको छ।

यसअघि इलाका प्रहरी कार्यालय बिर्तामोडका एक जना थुनुवा हतकडी फुस्काइ फरार भएका थिए। फरार भएको चार दिनपछि भदौ ८ गते उनी बिर्तामोड बसपार्कबाट समातिएका थिए।

फितलो सुरक्षा व्यवस्थापनको फाइदा उठाउँदै झापामा एकपछि अर्काे यस्ता घटना घट्न थालेको बताइएको छ।

भदौ २९, २०८१ आइतबार ११:२८:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।