माइक्रोबसको ठक्करबाट १० महिनाको नातिको मृत्यु, हजुरआमा घाइते

माइक्रोबसको ठक्करबाट १० महिनाको नातिको मृत्यु, हजुरआमा घाइते

राजविराज : पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-१ स्थित भारदहको कङ्कालनी मन्दिर अगाडि माइक्रोबसको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

भारदहबाट सुनसरीतर्फ जाँदै गरेको प्र १-०२-००१ ज ३८६६ नम्बरको विङगरले सडक छेउ बच्चाका साथमा उभिरहेकी सोही ठाउँ बस्ने कारी अधिकारीकी ५० वर्षीय श्रीमती अनिता देवी अधिकारी र उनकै १० महिनाको नाती आदर्श अधिकारीलाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएका आदर्शको विराट नर्सिङ होम बिराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दुण्डीराज न्यौपानेले जानकारी दिए।

ठक्करबाट घाइते भएका अनिता देवी अधिकारीको टाउको, छाती, बायाँ गोडा लगायतका भागमा चोट लागेको छ। उनको उपचार भइरहेको छ।

प्रहरीले विङ्गर चालक सप्तरी छिनमस्ता गाउँपालिका-७ बस्ने ३२ वर्षीय अबदुल सतारलाई नियन्त्रणमा लिएको छ। घटनापछि स्थानीयले पूर्व-पश्चिम राजमार्ग अवरोध गरेका छन्।

भदौ २९, २०८१ आइतबार ११:२१:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।